News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

थप ८ दिन लम्बियो मुख्यमन्त्री आचार्यको कार्यकाल

काठमाडाै‌ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यको पद अन्ततः ८ दिन थप लम्बिएको छ । आइतबार विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाउन बस्नुपर्ने प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्मका लागि स्थगित भएसँगै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारको आयु ८ दिन लम्बिएको हो ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार प्रदेशसभा बैठक आइतबार सञ्चालन हुन्थ्यो भने मुख्यमन्त्री आचार्यले आइतबार नै सत्ता छाड्नु पर्दथ्यो । तर, नाटकीय रुपमा उनको कार्यकाल ८ दिनसम्म लम्बिएको छ ।

सत्तारुढ दल नेकपा एमालेले प्रदेश सरकारको आयु केही दिन लम्ब्याउन चाहिरहेकै समयमा विपक्षी गठबन्धनमा आवद्ध नेपाली काँग्रेसले समेत आइतबार प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै मुख्यमन्त्री आचार्यलाई आगामी ८ दिनसम्म सत्तामै राख्न भूमिका निर्वाह गरेको छ ।

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले आइतबारका लागि प्रदेशसभाको बैठक आह्वान गरेका थिए । उनले प्रदेशसभाको अघिल्लो बैठकमै आइतबार बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मत विभाजन हुने जानकारी गराएका थिए ।

आइतबार बिहान नेपाली काँग्रेसले अचानक सभामुखलाई प्रदेशसभा बैठक स्थगित गर्न आग्रह गर्यो । प्रदेशसभामा काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाका अनुसार प्रदेश सरकारको नेतृत्वबारे छलफल गर्न प्रदेशसभा बैठक स्थगित गर्न माग गरिएको हो ।

उनका अनुसार प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने काँग्रेसको माग छ । गठबन्धनभित्र अन्य कुनै समस्या नरहेको र एमाले नेतृत्वको सरकार विस्थापित गर्नुपर्ने पक्षमा गठबन्धन एकमत रहेको जानकारी दिँदै उनले प्रदेश सरकारको नेतृत्व भने आलोपालो गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताए ।

डनन्यूज ट्रेन्डिङ