पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । यस प्रदेशमा अहिलेसम्म ७५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भईसकेको छ । त्यसैगरी आजमात्र थप नयाँ दुईसय ६९ जना कोरोना संक्रमित भेटिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या सातहजार तीनसय १६ पुगेको छ । प्रदेशमा हालसम्म चार हजार दुईसय २१ जना संक्रमित निको भएका छन् भने सक्रिय संक्रमितको संख्या तीन हजार २० जना पुगेको छ ।
कोरोना संक्रमणका कारण पोखरा महानगरपालिका—१५ का ८१ बर्षीय पुरुषको आज बिहान होम आइसोलेसनमा रहेकै क्रममा निधन भएको हो । त्यसैगरी स्याङ्जाको वालिङ नगरपालिका—५ का ७० वर्षीया महिलाको पनि आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी, बागलुङको गल्कोट नगरपालिका—३ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार साँझ पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।