काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बाँस्तोला ‘कञ्चन’लाई २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन सर्वोच्च अदालतले आज आदेश जारी गरेको छ ।
न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज बन्दी बनाउनाको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउनका साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ ।
नेकपाका पश्चिम कमाण्ड इञ्चार्ज रहनुभएका बाँस्तोलाका तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । गत पुस २९ गते नेता बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो । केन्द्रीय नेता बाँस्तोलालाई नख्खुस्थित एनसेल टावरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको आरोप लगाईएको छ ।