News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

पुँजीवादी सत्ता असफल भएपछि फासिवादको सहारा : महासचिव विप्लव

'पूर्णतः असफल भईसकेको संसदीय व्यवस्थाको गोलचक्करबाट नयाँ समाधान होला भन्ने भ्रममा एकरत्ति पर्नु हुँदैन'

पोखरा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जबरजस्ती लोकतन्त्रको उच्च संस्था भनिने संसदलाई भंग गरेको बताउनु भएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले जनताको शान्ति र प्रगतिको आकांक्षा पुरा गर्न असफल हुँदा फासिवादको सहाराद्वारा आफ्नो संकट टार्न खोज्ने संसद्वादी तत्वहरुको विश्वव्यापी चरित्रअनुरुप पर्ने केपी ओलीले यो कदम चालेको उल्लेख गर्नुभएको छ ।

‘यसले वस्तुतः दलाल, पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको असफलता र वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको आवश्यकतालाई निर्विकल्प रुपले पुष्टि गरेको छ,’ महासचिव विप्लवले विज्ञप्तिमा भन्नुभएको छ–‘तीन दशकको प्रयोगमा जनताले मौंका दिँदा दिदैं पनि पूर्णतः असफल भईसकेको संसदीय व्यवस्थाको गोलचक्करबाट नयाँ समाधान होला भन्ने भ्रममा एकरत्ति पर्नु हुँदैन ।’

यो संकटको वास्तविक समाधान, शान्ति, स्थिरता, स्वाधीनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापनार्थ सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, प्रगतिशील, लोकतन्त्रवादी, देशभक्त शक्तिहरुलाई नयाँ आधारमा ऐतिहासिक संवाद, सहकार्य र मोर्चाबन्दीमा जुट्न पनि महासचिव विप्लवले विशेष आग्रह गर्नुभएको छ । विज्ञप्तिमा सम्पूर्ण नागरिकहरुलाई आमूल परिर्वतनकारी संघर्षमा सहभागी बन्न र सहयोग गर्न पनि अपिल गरिएको छ ।

नेपाली जनताको अग्रगामी एवम् रुपान्तरणकारी चाहना र दलाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने संघर्षले उनीहरुले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरे पनि यो असफलता र संकट आउनु अनिवार्य थियो भन्ने महासचिव विप्लवले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।