News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश समाचार

कास्की निर्वाचन क्षेत्र नं १ मा आठ करोड रुपैयाँका ७७ योजना सार्वजनिक

'सडक, खानेपानीसंँगै उत्पादनमा जोड दिने गरी योजना छनोट गरिएको'

पोखरा । कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम एवं प्रदेश भौतिक पूर्वाधार विकास कार्यक्रम २०७७/०७८ अन्तर्गत छनोट भएका योजना सार्वजनिक गरिएको छ । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारी तथा प्रदेशसभा सदस्यद्वय मनबहादुर गुरुङ र दीपक कोइरालाले रु आठ करोड बराबरका ७७ योजना संयुक्तरुपमा सार्वजनिक गर्नुभएको हो ।

निर्वाचन क्षेत्रअन्तर्गत रुपा गाउँपालिकामा छ योजनामा रु एक करोड २० लाख, मादी गाउँपालिकाका नौ योजनामा रु एक करोड २५ लाख र पोखरा महानगरपालिकाका १० वडामा रु एक करोड ५५ लाख विनियोजन गरिएको प्रतिनिधिसभा सदस्य अधिकारीले जानकारी दिनुभयो ।

योजनाअन्तर्गत रुपा गाउँपालिकास्थित रामकोट—रामदी सडकमा रु ५२ लाख, मज्ञ्याङकोट–माउडाँडा सडकमा रु ३० लाख, मादी गाउँपालिका गोर्जे सामुदायिक भवनमा रु २० लाख, कदममार्ग सडक खानेपानी योजनामा रु २५ लाख र पोखरा –२८ स्थित डुडखोला पुलमा रु २५ लाख राखिएको छ ।

त्यसैगरी पोखरा -२७ तालचोक कृषिउपज सङ्कलन तथा बिक्री केन्द्रमा रु २५ लाख, शिवचण्डी मोटर बाटो रुपामा रु २५ लाख, रुपा गाउँपालिका डेरी तथा कृषिउपज सङ्कलन केन्द्रमा रु २० लाखलगायत योजना छनोट गरिएको छ ।

योजना सार्वजनिक गर्दै सांसद अधिकारीले सबैको साथ र सहयोगबाट गुणस्तरीय तथा समयमा विकासनिर्माणका योजना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य गुरुङ र कोइरालाले सडक, खानेपानीसंँगै उत्पादनमा जोड दिने गरी योजना छनोट गरिएको जानकारी दिँदै पुस महिनाभित्र योजना सम्झौता गरिनुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्री अधिकारीले विकासनिर्माणको अनुगमनलाई प्रभावकारी बनाइँदै आएको बताउँदै यसमा सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो ।