News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

इजरायल पठाउने नाममा ठगी गर्ने कांग्रेस नेता चौलागाईं जेल चलान

काठमाडौं, ४ मंसिर । इजरायल पठाउने प्रलोभन देखाई सर्वसाधारण ठगी गरेको गम्भीर आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता भरत चौलागाईंलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । दुई महिना लामो प्रहरी अनुसन्धानपछि अदालतमा पेस गरिएको मुद्दामा सुनुवाइ गर्दै अदालतले चौलागाईंलाई कारागार चलान गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दुई महिनाअघि उनलाई नियन्त्रणमा लिई ठगी र संगठित अपराधको कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा इजरायल जान चाहने आकांक्षीहरूबाट चौलागाईंकै योजनामा ठूलो रकम असुलिएको तथ्य खुलेको प्रहरीले जनाएको छ । पीडितहरूलाई विश्वासमा पार्न मन्त्रिपरिषद्कै नक्कली निर्णय तयार पारेर देखाउनेसम्मको हर्कत गरिएको अनुसन्धानमा देखिएको छ ।

प्रहरीका अनुसार प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनसँग सेटिङ मिलाएर मन्त्रिपरिषद्बाटै निर्णय गराइदिने झूटो आश्वासन बाँड्दै यो ठगी सञ्जाल चलाइएको थियो । राज्यको उच्च तह र निर्णय प्रक्रियाको दुरुपयोग गर्दै गरिएको यो संगठित ठगीले वैदेशिक रोजगारीका नाममा हुने अपराधको अर्को गम्भीर पाटो उजागर गरेको छ ।

यसै प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अन्य चार प्रतिवादी भने धरौटी बुझाएर रिहा भएका छन् । अदालतको आदेशअनुसार बालिका सिवाकोटी एक लाख रुपैयाँ, ज्ञानबहादुर कार्की दुई लाख पचास हजार रुपैयाँ, शिवराम श्रेष्ठ दुई लाख पचास हजार रुपैयाँ र दीपेन्द्र सिंह सामन्त एक लाख पचास हजार रुपैयाँ धरौटी बुझाई थुनामुक्त भएका हुन् ।

ठगी प्रकरणमा कांग्रेस नेतृ विनिता खड्काको नाम पनि जोडिएको थियो । चौलागाईंले ठगीबाट संकलित रकम खड्काको बैंक खातामा पठाएको खुलेपछि सिआइबीले उनलाई समेत पक्राउ गरेको थियो । यद्यपि, पछि उनी अदालतको आदेशमा रिहा भइसकेकी छन् ।

डनन्यूज ट्रेन्डिङ