News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डन न्यूज खोज प्रमुख समाचार राजनीति

इनमसँग शंकास्पद कारोबार देखिएका कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ

काठमाडौं, ३० कार्तिक । बिचौलिया इनम सापकोटासँग शंकास्पद आर्थिक कारोबार देखिएका व्यक्तिहरूमाथिको अनुसन्धानले अब नयाँ मोड लिएको छ। प्रहरीले उनको बैंक स्टेटमेन्टको विस्तृत विश्लेषण र बयानका आधारमा थप व्यक्तिहरूलाई अनुसन्धानको घेरामा तान्दै छ।

शनिबार जिल्ला प्रहरी परिसर काठमाडौंले कीर्तिपुरबाट व्यवसायी महेश श्रेष्ठलाई पक्राउ गरेको छ। उनी नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ हुन्। काठमाडौं प्रहरी परिसरका एसपी दानबहादुर थापाले पुष्टि गरेअनुसार, हिरासतमा रहेका सापकोटामाथिको अनुसन्धानकै क्रममा श्रेष्ठलाई पक्राउ गरिएको हो।

प्रहरी स्रोतका अनुसार, सापकोटाको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा रहेको खातामा श्रेष्ठले करिब एक दर्जन पटक गरी लगभग तीन करोड रुपैयाँ जम्मा गरेको देखिएको छ। यस कारोबारको वैध स्रोत भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीको प्रारम्भिक आकलन छ कि अवैध गतिविधिबापत श्रेष्ठले सापकोटालाई उक्त रकम दिएका हुन्। सापकोटामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेका बेला श्रेष्ठ पनि सोही कसुरमा तानिएका छन्।

सापकोटासँग आर्थिक कारोबार देखिएपछि यसअघि लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। सापकोटाले भट्टका भाइ दीपक भट्टलाई छुटाउन सहजीकरण गर्ने आश्वासन दिएका थिए। त्यही सूचनाका आधारमा प्रधानमन्त्रीको सचिवालयको निर्देशनमा प्रहरीले सापकोटालाई पक्राउ गरेको थियो। उनले दिएको सूचनाकै आधारमा सरकारले सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाएको थियो भने अन्य केही उच्च सरकारी अधिकारीहरू पनि छानबिनको घेरामा छन्।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालसँग सापकोटाको निकट सम्बन्ध बाहिर आइसकेको छ। उनीहरूबीच मुद्दासम्बन्धी विषयमा नियमित व्हाट्सएप च्याट भएको र हिमालय होटेलमा भेट भएको संवाद सार्वजनिक भइसकेको छ। न्यायाधीश फुयाल स्वयंले यसलाई स्वीकार गरेका छन्। यस प्रकरणमा संसद्मार्फत उनमाथि छानबिनको तयारी भइरहेको छ।

गत १४ असोजमा पक्राउ परेका सापकोटाको राजनीतिक नेता, उच्च तहका सुरक्षाकर्मी र न्यायाधीशलगायतसँग घनिष्ठ सम्बन्ध रहेको अनुसन्धानले देखाएको छ। उनले मुद्दा जिताइदिने भन्दै कतिपय व्यक्तिसँग डिल गरेको समेत खुलेको छ। काठमाडौं प्रहरी परिसरले एसपी नरहरि रेग्मीको नेतृत्वमा छुट्टै छानबिन समिति गठन गरी सापकोटाको सञ्जालमा रहेका व्यक्तिहरूमाथि गहन अनुसन्धान अगाडि बढाइरहेको छ।

डनन्यूज ट्रेन्डिङ