News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा

काठमाडौँ, १३ कात्तिक । समाचार लेखेकै आधारमा सञ्चारकर्मीहरूलाई कार्यालयमै पुगेर नियन्त्रणमा लिने तथा अन्यको खोजी जारी राख्ने कार्यप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीले स्थापित कानुनी र संस्थागत प्रक्रियालाई छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन भएको स्पष्ट पारेको छ। रास्वपाका प्रवक्ता जगदिश खरेलद्वारा कात्तिक १३ गते जारी विज्ञप्तिमा लोकतन्त्रको प्राण र सौन्दर्य भनेकै यसका स्वायत्त, सक्षम र उत्तरदायी संस्थाहरू भएको उल्लेख छ।

जसमा नागरिकको आवाज मुखरित गर्ने सञ्चार जगत्को भूमिका सदैव अग्रपंक्तिमा रहने र लोकतान्त्रिक राजनीतिक प्रणालीमा विधिको शासन राज्यको अनिवार्य पूर्वसर्त हुने विज्ञप्तिमा जोड दिइएको छ। विज्ञप्तिमा भनिएको छ, “कानुन कार्यान्वयनको आवरणमा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थाहरूलाई सङ्कुचित पार्ने कुनै पनि कार्यशैली तथा गतिविधिहरू लोकतान्त्रिक आचरण अनुकूल हुन सक्दैनन्।“

पार्टीका अनुसार प्रेस स्वतन्त्रतामाथिको कुनै पनि प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै कुठाराघात हो। पत्रकारिताको विश्वव्यापी मूल्य, मान्यता र अभ्यासअनुसार समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु सञ्चारकर्मीको अहरणीय व्यावसायिक अधिकार, दायित्व तथा पेसागत धर्म भएको विज्ञप्तिमा स्मरण गराइएको छ।

प्रकाशित समाचार सामग्रीप्रति कसैको विमति, गुनासो वा कानुनी प्रश्न उठेमा त्यसको परीक्षण र निरूपणका लागि राज्यले स्थापित गरेका निश्चित विधि, न्यायिक प्रक्रिया र वैधानिक निकायहरू क्रियाशील रहेको र सोही अनुसार नै निरूपण गरिनुपर्ने रास्वपाको भनाइ छ। सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त संस्थाहरू क्रियाशील रहेको अवस्थामा स्थापित कानुनी र संस्थागत बाटोलाई छलेर सञ्चारकर्मीमाथि धरपकड गर्ने कदमलाई कुनै पनि अर्थमा न्यायोचित मान्न नसकिने विज्ञप्तिमा उल्लेख छ।

कुनै पनि आवरण वा बहानामा सञ्चारमाध्यमलाई त्रसित पार्ने, मनोवैज्ञानिक दबाबमा राख्ने वा सङ्कुचित गर्ने प्रयासहरू स्वीकार्य नहुने स्पष्ट पार्दै रास्वपाले समाचार लेखेकै आधारमा सञ्चारकर्मीहरूलाई नियन्त्रणमा लिइएको र अन्यको खोजी जारी रहेको सन्दर्भमा निष्पक्ष, पारदर्शी र यथार्थ छानबिन गरी अविलम्ब सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ। साथै, गैरकानुनी ढङ्गले नियन्त्रणमा लिइएका सञ्चारकर्मीहरूलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ।

कुनै पनि भय, त्रास र अनुचित दबाबका अगाडि नझुकी निर्भीकतापूर्वक सत्य, तथ्य र निष्ठाको पत्रकारितालाई निरन्तरता दिन आह्वान गर्दै रास्वपाले सम्पूर्ण सञ्चार जगत्प्रति हार्दिक ऐक्यबद्धता प्रकट गरेको छ। सञ्चारकर्मीको पेसागत मर्यादा, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा र संविधानप्रदत्त ’पूर्ण प्रेस स्वतन्त्रता’को रक्षाका पक्षमा आफ्नो अडान सधैँ सम्झौताहीन रहने उल्लेख गर्दै रास्वपाले सञ्चारकर्मी तथा सञ्चारमाध्यमको अधिकार सुनिश्चितताका लागि सदैव अग्रमोर्चामा उभिने प्रतिबद्धता व्यक्त गरेको छ।