News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार स्वास्थ्य

डा. गोविन्द केसी पुन: आन्दोलनमा

ईलाम, १३ कार्तिक । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले फेरि एकपटक सत्याग्रह सुरु गरेका छन्। उनले बिहीबार साँझ ५ बजेदेखि इलामस्थित नारायण मन्दिरबाट आफ्नो २५औँ सत्याग्रह सुरु गरेको घोषणा गरेका हुन्।

चिकित्सा शिक्षा आयोगले न्यूनतम पूर्वाधार र आवश्यक जनशक्तिबिनै चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको तथा विभिन्न मेडिकल कलेजमा सिट वृद्धि गरेको भन्दै उनी सत्याग्रहमा उत्रिएका हुन् ।

आन्दोलनको सुरुवात र पृष्ठभूमि डा. केसीको चिकित्सा शिक्षा सुधार अभियान २०६९ साल असारबाट सुरु भएको हो। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताको आधारमा डीन नियुक्त हुनुपर्ने मागसहित उनले पहिलो आमरण अनशन गरेका थिए।

त्यसयता उनी चिकित्सा शिक्षाको व्यापारीकरण, राजनीतिक हस्तक्षेप, गुणस्तरहीन कलेज सञ्चालन र ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच नभएको विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्। उनको आन्दोलन मुख्य रूपमा यी मुद्दामा केन्द्रित रहँदै आएको छः

  • निजी मेडिकल कलेजको अनियन्त्रित विस्तार र व्यापारिक स्वार्थ रोक्नुपर्ने
    सरकारी मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गुणस्तरीय बनाउनुपर्ने
    छात्रवृत्ति व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने
    चिकित्सा शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने
    दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने

विगतका सम्झौता र उपलब्धिहरूडा. केसीको आन्दोलनबाट चिकित्सा शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार आएका छन्। मुख्य उपलब्धिहरू यस प्रकार छन्ः

  • राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ जारी भयो। यसले चिकित्सा शिक्षा आयोग गठन गर्यो , जसले मेडिकल कलेजको मापदण्ड, सिट निर्धारण र नियमन गर्ने अधिकार पाएको छ।
    साझा प्रवेश परीक्षा प्रणाली लागू भयो। पैसाको आधारमा सिट किन्ने प्रथा लगभग अन्त्य भयो।
    सरकारी मेडिकल कलेज र प्रतिष्ठानमा छात्रवृत्ति व्यवस्था व्यवस्थित भयो। धेरै विद्यार्थीले निःशुल्क वा सहुलियतमा चिकित्सा शिक्षा पाउने अवसर पाए।
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला), राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका संस्था सञ्चालनमा आए।
    नयाँ मेडिकल कलेज खोल्दा काठमाडौं उपत्यकाभित्र प्रतिबन्ध लगाउने र ग्रामीण क्षेत्रमा विस्तार गर्ने नीति अगाडि बढ्यो।
    धेरै पटक सरकारसँग सम्झौता भएपछि विभिन्न कलेजका सिट वृद्धि रोकिए, मापदण्ड कडा बनाइए र पदाधिकारी नियुक्तिमा सुधारका प्रयास भए।
  • पछिल्लो पटक २०८३ साउन ११ गते सरकारसँग ७ बुँदे सहमति भएको थियो। त्यसमा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधार, सुशासन, सामाजिक न्याय, गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, ३०० शैय्याको शिक्षण अस्पताल सञ्चालन गर्ने, एमबीबीएस लगायतका कार्यक्रम सुरु गर्ने लगायतका विषय समेटिएका थिए।

त्यसपछि उनले २४औँ सत्याग्रह अन्त्य गरेका थिए।वर्तमान सत्याग्रहका मागहरूसहमति भएको झन्डै तीन महिना बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै डा. केसीले पुनः सत्याग्रह सुरु गरेका छन्। उनका मुख्य मागहरू यसप्रकार छन् :

  • गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आवश्यक पूर्वाधार र प्राज्ञिक जनशक्तिबिनै एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिएको अनुमति खारेज गर्नुपर्ने।
    मापदण्ड पूरा नगरी विभिन्न शिक्षण संस्थामा सिट वृद्धि गर्ने निर्णय खारेज गर्नुपर्ने।
    चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको नियुक्ति प्रक्रिया, योग्यता, अनुभव र सम्भावित स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन गर्नुपर्ने। उपाध्यक्ष तथा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गरी छानबिन र दोषी देखिए कारबाही गर्नुपर्ने।
    गेटा शिक्षण अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गरी मापदण्ड पूरा भएपछि मात्र शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने।
    सरकारी तथा सार्वजनिक स्रोतबाट सञ्चालित संस्थामा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने र निजी कलेजको स्वार्थमा छात्रवृत्ति कटौती रोक्नुपर्ने।
    २०८३ साउन ११ को सहमति पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने।
    इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना प्रक्रिया अगाडि बढाउनुपर्ने।
    बर्दिवास मेडिकल कलेज निर्माण आयोजना खारेज गर्ने निर्णय बदर गरी निर्माण कार्य सुरु गर्नुपर्ने।

डा. केसीले आफ्ना माग सम्बोधन नभए सत्याग्रहबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारकै हुने चेतावनी दिएका छन्। उनको आन्दोलनले विगतमा चिकित्सा शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधार ल्याए पनि सम्झौताहरू पूर्ण कार्यान्वयन नहुँदा बारम्बार सत्याग्रह दोहोरिने अवस्था सिर्जना भएको छ। अहिलेको सत्याग्रह पनि त्यही श्रृंखलाको निरन्तरता हो।