News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डन न्यूज खोज प्रमुख समाचार राजनीति

पक्राउ परेका सबै पत्रकार रिहा

'सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ' : सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

काठमाडौँ, १३ कात्तिक । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रहरी नियन्त्रणमा परेका सबै पत्रकारहरू रिहा भएको जानकारी दिएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार छुटेको स्पष्ट पारेका हुन्।

‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ मन्त्री तिमिल्सिनाले लेखेका छन्, ‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।’

यसअघि शुक्रबार प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले नेपालप्रेसमा कार्यरत विश्वमणि सुवेदी, डीएनखबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले नेपालप्रेसका सुवेदीलाई नयाँ बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाटै प्रहरी भ्यानमा हालेर लगेको थियो। प्रहरी टोलीले समाचारका विषयमा छलफल गर्नु पर्ने भन्दै उनलाई साइबर ब्युरो पु¥याएको थियो। नेपालप्रेसमा ’प्रहरी महानिरीक्षक (आईजीपी) लाई राजीनामा दिन दबाब’ शीर्षकको समाचार प्रकाशित भएको थियो।

यस्तै, पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सादा पोसाकमा खटिएका प्रहरी पुगेका थिए। नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार पक्राउ पुर्जीविना पुगेका प्रहरीले संवाददाता नवराज मैनालीलाई साइबर ब्युरो लैजाने भन्दै दुई घण्टाभन्दा बढी समय कार्यकक्षमै बसेका थिए। नयाँ पत्रिकाले बिहीबार सर्वोच्च अदालतका न्यायाधीश र हिरासतमा रहेका अभियुक्तबीचको संवादसम्बन्धी समाचार छापेको थियो।

त्यसैगरी अनामनगरस्थित दियो पोस्ट अनलाइनको कार्यालयमा पनि सादा पोसाकका प्रहरी टोली पुगेका थिए। प्रधानन्यायाधीशसँग सम्बन्धित समाचार प्रकाशित गरेपछि धम्की आइरहेको जनाएको दियो पोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानालाई खोज्न प्रहरी टोली पुगेको त्यहाँ कार्यरत पत्रकारहरूले बताएका छन्।