News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डन न्यूज खोज प्रमुख समाचार

अलपत्र पर्‍यो पोखराको फिर्केखोला संरक्षण अभियान

बीचमै रोकियो डोजर, नागरिक समाजद्वारा कडा आपत्ति

पोखरा, ११ साउन। पोखराको महत्वपूर्ण प्राकृतिक सम्पदाको रूपमा रहेको फिर्केखोलाको संरक्षण, सौन्दर्यकरण तथा व्यवस्थित उपयोगका लागि अघि बढाइएको संरचना हटाउने अभियान बीचमै रोकिएपछि नागरिक समाजले गम्भीर आपत्ति जनाएको छ।

पोखरा महानगरपालिकाले करिब दुई महिनाअघि डोजर चलाएर खोलामापदण्डभित्रका अवैध संरचनाहरू भत्काउने अभियान सुरु गरेको थियो। तर, उक्त अभियान सुरुवाती चरणमै केही दिनको तामझामपछि क्रमशः सेलाउँदै गई पूर्ण रूपमा स्थगन भएपछि यसले चौतर्फी प्रश्न उब्जाएको छ।

आइतबार वातावरण संरक्षणका लागि महाअभियानले एक पत्रकार सम्मेलनको आयोजना गर्दै फिर्केखोला करिडोर अभियान असफलतातर्फ धकेलिएको ठहर गरेको छ। खोलाघरभित्र रहेका कुल १६० भन्दा बढी संरचनामध्ये कतिपय स्थानमा सामान्य ढंगले मात्र तोडफोड गरेर अलपत्र छाडिएको छ भने अधिकांश स्थानमा संरचनाहरू भत्काउनै बाँकी रहेको पाइएको छ। नागरिक समाजले यसरी बीचमै अभियान रोकिनुलाई महानगरको कमजोरीका रूपमा लिँदै सम्बन्धित निकायलाई कडा रूपमा झक्झकाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै नागरिक समाज कास्कीका संस्थापक संयोजक एवं महाअभियानका संयोजक रामबहादुर पौडेलले यस विषयमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पारे। उनले खोलाघरमा निर्मित अवैध संरचनाहरू पूर्ण रूपमा नहटाएसम्म अभियानले सार्थकता नपाउने जोड दिए। साथै, केही वडामा त सामान्य पर्खाल र गौंडासमेत हटाउन नसक्नु केही वडाका जनप्रतिनिधिहरूको चरम ‘निरीहता’ र लाचारीपन भएको कडा टिप्पणी गरे।

पोखरा–१८ को अँधेरीकुनाबाट मुहान भएर सुरु हुने फिर्केखोला महानगरका विभिन्न ८ वटा वडाहरू (क्रमशः १८, २, ४, ५, ८, ७, ६ र १७) पार गर्दै फेवातालको गाईघाटमा पुगेर मिसिन्छ। करिब ८ किलोमिटर लम्बाइको यो खोला पोखराको अमूल्य प्राकृतिक सम्पदा हो। विगत १५ वर्षदेखि नागरिकस्तरबाट ‘फिर्केखोला बचाउ अभियान’ हुँदै ‘फिर्के बुलौदी खोला बृहत् सफाइ अभियान’ सफलतापूर्वक सञ्चालन गर्दै आएको पौडेलले स्मरण गराए। फेवातालदेखि सराङकोटको फेदी अँधेरीकुनासम्म करिडोर, पैदलमार्ग तथा साइकल लेन निर्माण गर्ने परिकल्पनासहित नागरिक समाजले लामो समयदेखि दबाबमूलक अभियान चलाउँदै आएको छ।

तर, महानगरले थालेको पछिल्लो डोजर अभियानले गति लिन नसक्दा कुन-कुन क्षेत्रका संरचनाहरू अझै हटेका छैनन् भन्ने बारेमा महाअभियानले सविस्तार विवरण सार्वजनिक गरेको छ। संयोजक पौडेल र महाअभियानका प्रवक्ता गोकुलबहादुर कार्कीले दिएको जानकारीअनुसार वडा नम्बर ४, ५, ७ र ८ का विभिन्न भूभागमा खोलाघरभित्रै ठूला संरचनाहरू यथावत् छन्।

महाअभियानका अनुसार वडा नं. ४ मा प्रस्याङ पुलदेखि पश्चिमतर्फ खोलाघरमा निर्मित सुकुमबासी टहरा, सोही स्थानको रातोघर तथा भँयरथानसम्मका पक्की संरचनाहरू पूर्ण रूपमा हटाउन बाँकी छन्। त्यसैगरी, साबिकको स्काउट कम्पाउण्डदेखि १०० मिटर उत्तर भँयरथानतर्फको खोलाबाट उठाइएका पक्की घरहरू र स्काउट कम्पाउण्ड दक्षिणतर्फ पटक–पटक डुबानमा पर्ने घरटहराहरू पनि जस्ताको तस्तै राखिएका छन्।

यस्तै, वडा नं. ५ मा स्काउट कम्पाउण्ड उत्तरका भवनहरू, दक्षिणतर्फका संरचनाहरू, रेडियो नेपालदेखि दक्षिणतर्फ रिठेगौडाका खोलाघरमा निर्मित संरचनाहरू, जिल्ला रेडक्रसलाई जोड्ने पुलदेखि १० मिटर दक्षिणतर्फका २ वटा भवनहरू तथा पोखरा इन्जिनियरिङ कलेजको भवनदेखि उत्तर–पश्चिमका खोलापारिका ४–५ वटा भवनहरू न त पूर्ण रूपमा भत्काइएका छन्, न त खाली नै गराइएका छन्।

वडा नं. ८ मा पनि अवस्था उस्तै छ। बगाले टोलको सामुदायिक भवन (किरियापुत्री) र सोपाल तमु समाजको भवन पूर्ण रूपमा भत्किएको छैन। रेडियो नेपाल र कालिका गणदेखि पूर्वपट्टि (खोलापारि) खोलाघरबाट उठाइएका संरचनाहरू, मगर समाज घर, बराल समाजघर (ब्याडमिन्टन कोर्ट) तथा खोलाघरमै पर्ने उत्तरपट्टिका ३–४ वटा घरहरू हटाइएका छैनन्। राधाकृष्ण मन्दिरदेखि १०० मिटर दक्षिण (खानेपानी ट्यांकी नजिकै) का २–३ वटा घरहरू नहटाइएका कारण अहिले पनि खोलाघर क्षेत्रमै बसोबास भइरहेको छ। यसबाहेक पोखरा इन्जिनियरिङ कलेजको बाँकी संरचना, गहतेस्थित खोलापारिको नीलो टहरा र लिटिल स्टेप स्कुलको दक्षिणपट्टिको संरचना पनि हट्न बाँकी छ।

त्यस्तै, वडा नं. ७ को मासबार–रत्नचोक जोड्ने पुलदेखि उत्तर–पूर्व खोलाघरमा पर्ने पर्खाल, गहतेस्थित लिटिल स्टेप स्कुल उत्तरतर्फका केही संरचनाहरू र मालपोत कार्यालय नजिकैको कुखुराघरसमेत हटाउन बाँकी रहेको प्रवक्ता गोकुलबहादुर कार्कीले स्पष्ट पारेका छन्।

फिर्केखोलाको यो महत्वपूर्ण करिडोर निर्माण र सौन्दर्यकरणको कार्य बीचमै अलपत्र परेपछि नागरिक समाजले महानगरपालिका र सम्बन्धित वडाहरूलाई आफ्नो दायित्व गम्भीरतापूर्वक पूरा गर्न र खोलाघरका सबै अवैध संरचनाहरू अविलम्ब पूर्ण रूपमा हटाउन जोडदार माग गरेको छ।