News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति

काङ्ग्रेस र एमाले निकट कानुन व्यवसायीहरूको संयुक्त गठबन्धन प्यानल विजयी

पोखरा, ४ जेठ । कास्की जिल्ला अदालत बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा नेपाली काङ्ग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) र नेकपा (एमाले) निकट प्रोग्रेसिभ एण्ड प्रोफेसनल लयर्स एसोसिएसन (पिपिएलए) सम्मिलित संयुक्त गठबन्धन विजयी भएको छ। आइतबार सम्पन्न मतदानबाट अध्यक्षका प्रत्यासी पुष्पराज दाहाललाई भारी मतान्तरले पराजित गर्दै गणेशबहादुर आलेको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको हो।

कुल ९३ सदस्य रहेको बारमा ८३ मत खसेको थियो, जसमध्ये आलेले ६० मत प्राप्त गर्दा दाहालको पक्षमा १९ मत मात्र परेको अधिवक्ता विष्णुप्रसाद अधिकारीले जानकारी दिए। निर्वाचनमा ४ मत बदर भएको थियो। यसपटकको चुनावमा गठबन्धनलाई चुनौती दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी निकटका स्वतन्त्र अधिवक्ताहरूको प्यानल मैदानमा उत्रिए पनि उनीहरूले कुनै पनि पदमा जित हासिल गर्न सकेनन्।

आले नेतृत्वको विजयी प्यानलबाट उपाध्यक्षमा यामप्रसाद पौडेल, सचिवमा भूपराज पोखरेल, सहसचिवमा अञ्जना बराल सुवेदी र कोषाध्यक्षमा सुष्मा ओझा निर्वाचित भएका छन्। सहसचिव पदमा भने सुवेदी निर्विरोध चयन भएकी हुन्। यस्तै, सदस्यहरूमा पल्लवी न्यौपाने, सुमित्रा पराजुली, प्रदीपकुमार राना, प्रदीप अधिकारी, संगीता काफ्ले, चित्रबहादुर सुनार, गोविन्दप्रसाद काफ्ले र बुद्धिप्रसाद सुवेदी विजयी भएका छन्।

‘पेसागत हकहितका साथै बार र बेञ्चबीच न्याय निरुपणका लागि समन्वयकारी भूमिका खेल्ने मेरो प्राथमिकता हुनेछ,’ निर्वाचित भएपछि अध्यक्ष आलेले भने, ‘नयाँ कानुन व्यवसायीहरूलाई प्रोत्साहित गर्ने र भ्रष्टाचार तथा अनियमितता विरुद्ध कडा रूपमा उभिने प्रतिबद्धता व्यक्त गर्दछु।’

निर्वाचन समितिका संयोजक पदमपाणि देवकोटाका अनुसार बिहान ११ देखि दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया चलेको थियो। वि.सं. २०५४ देखि कानुन व्यवसायमा सक्रिय पोखरा–१५ निवासी आलेसँग यसअघि जिल्ला कार्यसमिति सदस्य र उच्च अदालत बार एसोसिएसनको सचिवको रूपमा काम गरेको अनुभव छ।

कास्की जिल्ला बारमा विगतदेखि नै नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी निकट कानुन व्यवसायीहरूको गठबन्धनको वर्चश्व रहँदै आएको छ। २०६५ सालमा स्थापना भएको यस बारमा दुई वर्षअघि अधिवक्ता भगवती पहारीले पहिलो महिला अध्यक्षका रूपमा नेतृत्व सम्हालेकी थिइन्। आलेको आगामी २ वर्षे कार्यकालले ती ऐतिहासिक उपलब्धिलाई निरन्तरता दिँदै बारको गरिमा बढाउने अपेक्षा गरिएको छ।

डनन्यूज ट्रेन्डिङ