पोखरा, १६ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी सोमबार (२० गतेसम्म) अत्यन्त जरुरी नभए घरबाहिर र रातको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना छ।
भारी वर्षाले बाढी, पहिरो र डुबानजस्ता जोखिम निम्त्याउन सक्ने भएकाले प्राधिकरणले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षा र सडकको अवस्थालाई ध्यानमा राखी सवारी सञ्चालनमा रोक लगाउने निर्णय लिन र त्यसको पालना गर्न जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई अनुरोध गरिएको छ।
पहिरोको जोखिममा रहेका र नदी किनारका बस्तीमा बस्नेहरूलाई विशेष सावधानी अपनाउन, डुबान हुन सक्ने क्षेत्रका बासिन्दालाई सुरक्षित र अग्लो स्थानको जानकारी लिन र अरूलाई पनि जानकारी दिन प्राधिकरणले भनेको छ। आवश्यक परे तुरुन्त सुरक्षित ठाउँमा जान तयार रहन पनि आग्रह गरिएको छ।
साथै, प्राधिकरणले सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सम्बन्धित सबै पक्षलाई उद्धार र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सार्वजनिक अपिल गरेको छ।