स्याङ्जा, २२ साउन । गल्याङ नगरपालिका–५ सेतिवेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतीक्षालयमा झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेपछि आमा–छोरा बेपत्ता भएको आशङ्कामा सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको छ।
बेपत्ता भएको आशङ्का गरिएकाहरू कालीगण्डकी गाउँपालिका–४ विर्घाका २७ वर्षीया श्यामकला पाण्डे र उनका ६ वर्षीय छोरा अर्पित पाण्डे हुन्।
साउन २१ गते साँझदेखि उनीहरू सम्पर्कविहीन छन्। कालीगण्डकी नदीमा बेपत्ता भएको हुन सक्ने अनुमानका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म स्याङ्जाबाट प्रहरी निरीक्षकको नेतृत्वमा खोजी टोली परिचालन गरिएको छ। खोजी कार्यलाई थप प्रभावकारी बनाउन पोखराबाट गोताखोर टोली ल्याउने तयारी भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।