पोखरा, ६ जेठ । मंगलबार राष्ट्र बैंकका गभर्नरमा विश्व पौडेल नियुक्ति हुने खबरसँगैं सेयर बजार परिसूचक नेप्सेमा उच्च वृद्धि भएको छ ।
मन्त्रिपरिषदको बैठक बोलाइएको समाचार सार्वजनिक भएसँगैं १२ बजेर ४० मिनेटपछि बजार एकोहोरो बढ्न थालेको हो । नप्से ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा बन्द भएको छ ।
यसदिन कारोबार रकम भने केही घटेको छ । सोमबार सात अर्ब ३५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार सात अर्ब ३१ करोड रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४ करोड रूपैयाँ कमी आएको हो । आज मंगलबार ३१० वटा धितोपत्रको एक करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार २२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर रहेको छ । यसदिन चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।
सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।
यस्तै, ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ९.९९ र राप्ति हाइड्रोको मूल्य ९.९७ प्रतिशतले बढेको छ । यस्तै, बाराही हाइड्रोपावरको मूल्य सर्वाधिक ७.३९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार १०१ रूपैयाँ ६० पैसामा झरेको छ ।
यस्तै, विन नेपाल लघुवित्तको मूल्य ३.१९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ३६६ रूपैयाँ कायम भएको छ ।
मंगलबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ७५० रूपैयाँमा ४१ करोड ८० लाख रूपैयाँको सेयर कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३.५६ प्रतिशत बढेको हो ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ३७७ रूपैयाँ ३६ करोड ८३ लाख बराबरको सेयर कारोबार भएको छ ।
आज मंगलबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.६८ प्रतिशतले बढेको छ । यस्तै, दोस्रोमा विकास बैंक समूहको परिसूचक ३.०१ प्रतिशतले बढेको छ ।