पोखरा, २७ वैशाख । नेपाल परिवार नियोजन संघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं ३ कार्यलयको सहयोगमा शनिवार यौन तथा प्रजनन् स्वास्थ्य शिविर एवम् सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं ३ नदीपूरस्थित बाल मन्दिर माविको परिषरमा आयोजित कार्यक्रमबाट ५७ जना लाभान्वित भएका छन् ।
विशेष गरी महिलाहरुको स्वास्थ्यलाई प्राथमिकता राखेर कार्यक्रम गरिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए ।
शिविरको उद्घाटन गण्डकी प्रदेश नीति तथा योजना आयोगकी सदस्य दुर्गा लामिछानेले गरेकी थिईन् । कार्यक्रममा बोल्दै उनले स्वास्थ्य र समाजिक क्षेत्रका लागि उपयोगी हुने गरी योजना निर्माणमा प्राथमिकता दिने बताईन् । ‘सबै क्षेत्रका आवश्यकतालाई बुझ्छौं, उनले भनिन्,–‘जनताका आवश्यकतालाई प्राथमिकता दिनेछौं ।’
पोखरा महानगरपालिका वडा नं ३ का वडााध्यक्ष प्रकाश उदासले शिक्षा र स्वास्थ्यलाई आफ्नो वडाले विशेष प्राथमिकतामा राखेर विविध कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेको जानकारी दिए ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघका निवर्तमान महासचिव अर्जुन सिग्देल र बरिष्ठ स्त्री रोग विशेषज्ञ डा। कालिका भण्डारीले पनि आआफ्नो मन्तव्य राखेका थिए । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीले सञ्चालन गरेका थिए ।