काठमाडौं, २५ असार । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल (क्रान्तिकारी)को विवाद चरम उत्कर्षमा पुगेसँगै त्यस्तो विवाद मिलाउन पार्टी स्थायी समिति बैठकले सुझाव समिति गठन गरेको छ ।
नयाँ नेतृत्व चयनको विषयलाई लिएर भएको विवादलाई मिलाउन आज शनिबार बसेको बैठकले तीनजना पूर्वविद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकालको समिति बनाएको हो । केन्द्रीय समितिका उपाध्यक्ष समेत रहेका पवन कार्कीको नेतृत्वमा समानान्तर कमिटी गठन भएपछि विवाद चर्किएको हो ।
समितिले विवाद समाधानका लागि पार्टी स्थायी समितिलाई सुझाव दिने र स्थायी समितिले निर्णय गर्ने नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । अखिल (क्रान्तिकारी)को विवाद चर्कदैं जाँदा असन्तुष्ट समूहले नयाँ राष्ट्रिय सम्मेलनको घोषणा समेत गरेका थिए ।