News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

मुख्यमन्त्री गुरूङले जेठ २७ गते विश्वासको मत लिने

'मुख्यमन्त्रीले विश्वासको मत पनि नपाउने र अर्को सरकार गठन हुन नसक्ने अवस्था'

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । प्रदेशवासीका नाममा शुभकामना व्यक्त गर्दै । फाईल तस्विर

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ मा विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त गुरुङले जेठ २७ मा विश्वासको मत लिने भएका हुन् ।

विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयमा जानकारी गराउनु पर्ने भएकोले मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएका हुन् । तर यतिबेलाको अवस्था हेर्दा प्रदेशसभामा कुनै पनि सदस्यले बहुमत पेश गर्ने आधार देखिदैंन । सहमतिको सरकार गठन भएन भने प्रदेशसभ विघटनसम्म हुन सक्ने सम्भावना पनि उत्तिकै छ ।

गण्डकी प्रदेशमा अहिले मुख्यमन्त्रीले विश्वासको मत पनि नपाउने र अर्को सरकार गठन पनि हुन नसक्ने अवस्था रहेकाले मध्यावधिमा जाने प्रस्ट संकेत देखिएको हो । सत्ता पक्षले सरकार जोगाउन र मध्यावधिमा जानबाट रोक्न विभिन्न दलसँग सरकार गठनको लागि छलफल र प्रस्ताव गरिहेको छ ।

६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि मुख्यमन्त्रीलाई ३१ सांसदको मत आवश्यक पर्दछ । मुख्यमन्त्रीको दल नेकपा एमालेसँग २७ सांसद छन् भने स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन पनि एमालेलाई छ । थप ३ मत प्राप्त भए मात्र मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन सक्नेछन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाको ३, जनता समाजवादी पार्टीका २ सांसद छन् । यीमध्ये राष्ट्रिय जनमोर्चाले निष्कासन गरेका सांसद कृष्ण थापाले विपक्षी गठबन्धनलाई साथ नदिने घोषणा गरिसकेका छन् । पार्टीले निष्कासन गरेपछि सर्वोच्च अदालत पुगेका थापालाई पदमुक्तको कारबाही नगर्न अन्तरिम आदेश जारी गरेपछि पद थमौती भएको हो ।

प्रतिक्रिया