काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी भनेर सम्बोधन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि आक्रोश व्यक्त गरेका छन् ।
प्रतिपक्ष कांग्रेसका सभापति देउवाले आज शनिबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भनेर सम्बोधन गरिएको भन्द्र प्रधानमन्त्री ओलीले आक्रोश पोखेका हुन् ।
‘जनताका छोराछोरीलाई तपाई पनि भन्न हुँदैन ?’ ‘असभ्य तरिकाले बोल्नु आफ्नो बहादुरी ठान्छन् । अरुलाई तँ तिमी भन्नु बहादुरी ठान्छन्,’प्रधानमन्त्री ओलीले बालुवाटारमा भएको कार्यक्रममा सम्बोधन गर्दै भने–‘कांग्रेस सभापतिको भाषाको स्तर देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियान कहाँसमम पुगेको छ भन्ने अचम्म लाग्छ ।’
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने–‘आज कांग्रेस सभापति देउवाको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाई तपाईँसम्म भनिएको छैन । राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषा यस्तो छ । सामन्तवादप्रतिको दलाली त्यस ठाउँमा एकजना कुलिन घराना पाखण्ड सिद्धान्तको आधारमा आएको राजा नामको पात्र भएको भए कस्तो कस्तो भाषा बोलेर निहुरिएर हात मुसारेर के के भाषा बोल्थे यिनै मानिसहरु ?’