News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

'मुख्यमन्त्री विरुद्ध २८ सांसदले हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएका थिए'

पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो २ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा अविश्वासको प्रस्ताव टेबल हुने कार्यक्रम तय भएको हो ।

आफू विरुद्ध अविश्वासको प्रस्ताव आउने संकेत पाएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते मध्यरातमा चालू अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सिफारिस गरेका थिए । सोही अनुसार वैशाख १ गते मध्यरातदेखि नै लागू हुने गरी वैशाख २ गते प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्यको घोषणा गरेका थिए ।

वैशाख २ गते नै विपक्षी लगायत अन्य दलहरुले मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै २८ सांसदले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशनको माग गरेका थिए । सोही अनुसार वैशाख ६ गते प्रदेश प्रमुख शेरचनले बैशाख १३ गतेका लागि विशेष  अधिवेशन आह्वान गरेका थिए ।

मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका दुई गरी २८ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । अधिवेशन सुरुसँगै पहिलो बैठकमै अविश्वासको प्रस्ताव टेबुल हुने भएको छ । हिजो आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्ताव टेबुल गर्ने निर्णय गरेको हो ।

प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलका अनुसार सोमबार आज दिउँसो २ बजे बैठक सुरु भएसँगै अविश्वासको प्रस्ताव टेबुल हुने र त्यसपछि सांसदहरूले धारणा राख्ने कार्यसूची रहेको छ । अविश्वासको प्रस्तावउपर सांसदहरूको धारणा राख्ने क्रम सकिएपछि अविश्वासको प्रस्ताव निर्णयार्थ टेबुल गरिने छ ।

प्रतिक्रिया