News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल

पूर्वएसएसपी र हास्यकलाकारसहित तीनजना पक्राउ

काठमाडौं, ६ साउन । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाउने र उनीहरूको राहदानी फिर्ता गराइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा सशस्त्र प्रहरीका पूर्व वरिष्ठ उपरीक्षक (एसएसपी) र एक हास्यकलाकारसहित तीनजना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सशस्त्र प्रहरीका पूर्वएसएसपी ५९ वर्षीय गोपालकुमार गुरुङ, हास्यकलाकार ५२ वर्षीय नारदप्रसाद खतिवडा र ३८ वर्षीय विक्रमबहादुर थापालाई राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। प्रहरीले थापालाई कालिकास्थान, गुरुङलाई जावलाखेल र खतिवडालाई अनामनगरबाट पक्राउ गरेको जनाएको छ।

अध्यागमन विभागले सानेपा र चोभार क्षेत्रमा सञ्चालित संदिग्ध गतिविधिमाथि छापा मार्ने क्रममा ९ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो। हिरासतमा रहेका तिनै चिनियाँ नागरिक र उनीहरूका प्रतिनिधिहरूसँग पक्राउ परेका आरोपीहरूले ७२ लाख रुपैयाँ दिए मान्छे छुटाउने र बरामद १५ वटा राहदानीसमेत फिर्ता गराइदिने भन्दै भारी रकमको ‘डिल’ गरेका थिए।

आरोपीहरूले सुरुमा ७२ लाखको बार्गेनिङ गरे पनि पछि पेश्कीबापत ९ लाख रुपैयाँ बुझिसकेको खुलेको छ। बाँकी रकम चिनियाँ नागरिकहरू छुटेपछि लिने(दिने सहमति भए पनि गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई रकमसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका विक्रमबहादुर थापा यसअघि नै १२ लाख ५५ हजार रुपैयाँको बैंकिङ कसुर मुद्दामा फरार अभियुक्त रहेकोसमेत अनुसन्धानबाट खुलेको छ।

चोभारमा ६ रोपनी जग्गा, भव्य अफिस र चार्टर्ड विमानको कनेक्सन
अध्यागमन विभाग र प्रहरीको अनुसन्धानले चिनियाँ नागरिकहरूको यो गिरोहको सञ्जाल निकै ठूलो र योजनाबद्ध रहेको देखाएको छ। सुरुमा ललितपुरको धोबीघाटस्थित एउटा बिनाबोर्डको होस्टलबाट अनुसन्धान थालेको प्रहरी टोली चोभार पुगेको थियो।

चोभारमा करिब ६ रोपनी जग्गा भाडामा लिएर सुरक्षागार्डसहित ‘ड्रागन ब्रिज इन्टरनेसनल’ नामको कम्पनी खडा गरी भव्य अफिस सञ्चालन गरिएको भेटिएको थियो। उक्त अफिस नेपाली नागरिक पवन लामा थिङको नाममा दर्ता गरेर गैरकानुनी धन्दा चलाइएको पाइएको छ। विभागको टोलीले छापा मार्दा त्यहाँ ६०/७० जना चिनियाँ र ५० भन्दा बढी नेपाली महिलाहरू कार्यरत थिए।

उक्त स्थानबाट आयुर्वेदिक औषधिका नाममा १२ हजारदेखि २० हजार रुपैयाँसम्मका संदिग्ध सामान बिक्री गर्ने गरिएको पाइएको छ। नेपाल आउनका लागि यो समूहले हिमालयन एयरलाइन्सको जहाज नै चार्टर गरेर ल्याएको अनुसन्धानबाट खुलेको छ। छापा मार्दा भ्यालिड भिसा भएका चिनियाँहरूलाई छाडिए पनि म्याद नाघेका र शंकास्पद ९ जनालाई अध्यागमनले हिरासतमा राखेको थियो।

पक्राउ परेका पूर्वएसएसपी गुरुङ, कलाकार खतिवडा र थापालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

डनन्यूज ट्रेन्डिङ