News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ

पोखरा, ३० असार । ‘अन्धकारमा उज्यालो छर्ने, पानी जमाएर डल्लो बनाउने र कोपिलालाई तत्काल फूल फुलाउने’ अदभूत शक्तिको दाबी गर्दै सर्वसाधारणलाई ठगी गर्ने गिरोहलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, ’बहुमूल्य’ क्रिस्टलको प्रलोभन देखाई ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको हो । पोखरा महानगरपालिका–१८ का दिपेन्द्र तिमिल्सिनालाई उक्त क्रिस्टल देखाएर ‘यसको मूल्य अरबौँ पर्छ’ भनी झुक्याउँदै गिरोहले १० लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ।

पिडित तिमिल्सिनालाई फागुन महिनामा नै प्रलोभनमा पारी रकम असुलेको सो गिरोहले पुनः २८ असारमा थप २० लाख रुपैयाँ माग गरेको थियो । पैसा नदिए ज्यान मार्ने धम्की दिएपछि पिडितले प्रहरीलाई गुहारेका थिए । सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले २९ असारको मध्यरातमा पोखरा-२६, कालिकास्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले छापा मार्ने क्रममा सेतो टल्किने क्रिस्टलजस्तो वस्तु, काठको बट्टा, चार्जर र ६ थान मोबाइल बरामद गरेको छ। पक्राउ पर्नेहरुमा डिल बहादुर बुढाथोकी (५१), म्याग्दी-(हाल पोखरा–२६),  दिपक गोतामे (२९)-म्याग्दी,  प्रेम चन्द बिश्वकर्मा (४५)-पोखरा–२८, राजन विश्वकर्मा (३५)-पर्वत, रोशनी सुनार (२९) –पर्वत र खैसरा सुनार (७२) – पर्वत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानका अनुसार, पक्राउ परेका ६ जना विरुद्ध सम्मानित कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले सर्वसाधारणलाई यस्ता अन्धविश्वासपूर्ण र काल्पनिक प्रलोभनमा नपर्न समेत आग्रह गरेको छ ।

डनन्यूज ट्रेन्डिङ