News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति

पार्टी नेतृत्व रविमा, प्रधानमन्त्री उम्मेदवार बालेन

पोखरा, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै दलमार्फत अघि बढ्ने गरी ७ बुँदे सहमति भएको छ। यो सहमति ’बृहत् एकता’ का रूपमा भएको हो र दुवै नेताले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार, रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन् भने आसन्न निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिने छ। सहमतिपत्रको मुख्य बुँदामा भनिएको छ : ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने।’

सहमतिपत्रमा नेपालको समतामूलक उन्नति, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। आम नागरिकका आकाङ्क्षा सम्बोधन गर्न सुसंस्कृत तथा परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै दुवै पक्ष एकतामा सहमत भएका छन्।

सहमतिको पहिलो बुँदामा भ्रष्टाचार र कुशासनविरुद्ध जेन–जी (नवयुवा) आन्दोलनको अपनत्व लिने र घाइते तथा शहीद परिवारका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। दोस्रो बुँदामा नीतिगत, संस्थागत र संरचनागत सुधार गरी नेपाललाई एक दशकभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने मार्गचित्रमा समर्पित हुने उल्लेख छ।

रास्वपाको नाम, झण्डा र चुनाव चिन्ह यथावत रहने सहमति भएको छ। पार्टीको संगठनात्मक संरचनालाई सक्षम बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने प्रावधान पनि राखिएको छ।

सहमतिपछि निर्वाचन आयोगमा पार्टीको अभिलेख अद्यावधिक गर्ने र समानुपातिक उम्मेदवारहरूको सूची बुझाउने तयारी भइरहेको छ। बालेन पक्षका उम्मेदवारहरू पनि रास्वपाबाटै प्रतिस्पर्धा गर्ने भएका छन्। यसैगरी, अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई पनि लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबन्द हुन आह्वान गरिएको छ।

हस्ताक्षरपछि सभापति लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् : ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।’  यो सहमतिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा वैकल्पिक शक्तिहरूको बृहत् एकताको सङ्केत दिएको छ। यद्यपि, कुलमान घिसिङसँगको छलफल जारी रहे पनि यो सहमतिमा उनको नाम उल्लेख छैन।

डनन्यूज ट्रेन्डिङ