News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डन न्यूज खोज समाचार

ताण्डव न्यूजले प्रकाशित गरेका भ्रामक समाचारको चिरफार

'सम्पत्तिको स्रोतदेखि प्रतिशोध साँध्न एसपी कार्कीले जारी गरेको पक्राउ पुर्जीका सम्बन्धमा पनि'

भ्रममा कोही नपर्नुस् । यो पत्रकार–पत्रकार बिचको लडाई होइन । यो त सहकारी ठग्ने गिरोहका विरुद्ध पीडित बचतकर्ताको पक्षमा डन न्यूजको लडाई हो । हामीले उठाएको विषय सहकारी ठगीको सम्बन्धमा केन्द्रित छ । मित्रमिलन सहकारीको करोडौं रुपैयाँ यस संस्थाका सञ्चालकहरु मिलेर ताण्डव न्यूज, क्याफे दि गार्डेन र नयाँबजारमा रहेको अर्जुन गिरीको घरसहित मिजरव्याज लगायत धेरै कुरामा हिनामिना गरेका छन् । यो पत्रकारिताको आवरणमा लुट्ने गिरोह विरुद्धको पनि लडाई हो ।

पोखरामा बसेर दुई दशक भन्दा बढि समय पत्रकारितामा आवद्ध रहँदैं आएको छु । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा काम गरेसँगैं यतिबेला आफ्नै डन न्यूज डटकममा आवद्ध रहेको छु ।

विशेष गरी लुकाईएका, दबाईएका सूचना र खोजमूलक समाचारप्रति एकदमैं रुची भएका कारण सोही ढाँचामा हामीले समाचार पनि प्रकाशित गर्दै आईरहेका छौं । भ्रष्टाचार, गुण्डागर्दी, वेथिति, अनियमितता र अन्यायका विरुद्धमा सशक्त ढंगले आफूले सकेको जति समाचारहरु प्रकाशित र प्रसारण गरिरहेका छौं । यस क्रममा उठेका विभिन्न प्रश्नहरु तथा आरोपहरुको खण्डन गर्न हामीले यहाँ तथ्यसहित प्रमाण पेश गर्दैछौं ।

यतिबेला, सहकारी सञ्चालकहरुले बचतकर्ताहरुको रकम हिनामिना पारेको विषय एकदमैं पेचिलो बन्दैं गईरहेको छ । आफ्नो सारा जिवन दुःखकष्टमा झेलेर, खाई नखाई, परदेशमा अनेकन् यातना र दुःख सहेर, बुढेसकालको बाँच्ने आधार भनेर राखिएको बचत सहकारीका सञ्चालकहरुले अपचलन र दुरुपयोग गरेका समाचारहरु प्रकाशित भईरहेका छन् । पछिल्लो समय डन न्यूज डटकमले पोखरामा खोलिएका सहकारीको रकम हिनामिना गर्ने गिरोहको पर्दाफास गर्ने क्रममा ताण्डव न्यूज डटकमका सञ्चालकहरु पनि ठोक्किन पुगे ।

यो समूहले सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेको प्रमाणसहित कागजपत्रहरु प्राप्त भएपछि समाचार आउन शुरु हुँदैं थियो । यसलाई रोक्नका लागि ताण्डव न्यूजका प्रधान सम्पादक अर्जुन गिरीको समूहले कपोकल्पित, भ्रामक र झुटको साहरा लिएर समाचार लेख्न थाले । तर हामीले उठाएको सहकारीको विषयमा भने गिरी र अर्का सदस्य विजय लम्साल चुईक्क समेत बोल्न आजसम्म सकेका छैनन् ।

मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको कार्यालय पोखरा–९, नयाँबजारमा रहेको छ । त्यहीं सहकारी भएको भवनसँगैं ताण्डव न्यूज डटकम पनि खोलिएको थियो । सहकारीसँगैं राखिएको ताण्डव न्यूजको २ वर्षसम्म घरभाडा, पानी, बिजुली, कर्मचारीको तलब लगायत त्यहाँ राखिएका सारा फर्निचरदेखि कम्प्युटर किन्नेसम्मको खर्च सहकारीबाट गरिएको तथ्य पनि डन न्यूजले फेला पारेको छ । ताण्डव न्यूजका नाममा काठमाडौंदेखि महँङ्गा होटलहरुमा हुने कार्यक्रमको सम्पूर्ण खर्च सहकारी कैं बचतबाट दुरुपयोग गरिदैं आईरहेको पनि रहस्य यतिबेला खुलेको छ ।

सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेर सञ्चालित ताण्डव न्यूजले सहकारीको रकम तिर्नुको साटो उल्टै बचतकर्ताहरुलाई धम्क्याउने र थर्काउने गर्दै आईरहेका थिए । यहीं क्रममा एकजना स्याङ्जा तिरका पोखरेल थरका बचतकर्ताले ताण्डव न्यूजका सम्पादक गिरीको कठालो समातेर लतार्दै ढोकाबाट बाहिर फालिदिएको समेत पीडितहरुले डन न्यूजलाई जानकारी दिएका छन् । गिरीलाई कठालो समातेर लतार्दैं फाल्ने पोखरेल थरका ती बचतकर्ताको सहकारीमा ८० लाख रुपैयाँ फसेको छ । उनको बच्चाको उपचारका लागि पैसा नहुँदा ती अभिभावक यतिबेला तनावमा छन् ।

सहकारीका अध्यक्ष रमण पौडेल दुईवर्षसम्म ताण्डव न्यूजको पनि अध्यक्षका रुपमा रहेका थिए । जबकि यो ताण्डव न्यूज अर्जुन गिरीका नाममा मात्र दर्ता गरिएको छ । सहकारीको करिक १ करोड रुपैयाँ खर्चिएर कुनै तिरोपारो नगरी त्यहाँबाट कार्यालय सिर्जनाचोकमा सारिएको थियो । आज सर्वसाधारणको बचत हिनामिना हुँदा त्यहाँ रहेको सहकारीले आफ्नो भाडा समेत मासिक रुपमा तिर्न सकेको छैन ।

सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेर सञ्चालित ताण्डव न्यूजले सहकारीको रकम तिर्नुको साटो उल्टै बचतकर्ताहरुलाई धम्क्याउने र थर्काउने गर्दै आईरहेका थिए । यहीं क्रममा एकजना स्याङ्जा तिरका पोखरेल थरका बचतकर्ताले ताण्डव न्यूजका सम्पादक गिरीको कठालो समातेर लतार्दै ढोकाबाट बाहिर फालिदिएको समेत पीडितहरुले डन न्यूजलाई जानकारी दिएका छन् । गिरीलाई कठालो समातेर लतार्दैं फाल्ने पोखरेल थरका ती बचतकर्ताको सहकारीमा ८० लाख रुपैयाँ फसेको छ । उनको बच्चाको उपचारका लागि पैसा नहुँदा ती अभिभावक यतिबेला तनावमा छन् ।

हामीले आजसम्म कोही कसैसँग व्यक्तिगत रिसिईवी, राजनीतिक प्रतिशोध र वार्गेनिङका लागि विषयवस्तुको उठान गरेनौं । जब विकृति, विसंगति, भ्रष्टाचार, गुण्डागर्दी र वेथितिका विषयहरुमा कलम चलाउन थाल्यौं, पोखराको एउटा समूहका पात्रहरु अनेकन् काण्डमा जोडिन र ठोकिन आईरहे । पत्रकारिताको आवरणमा अनेकन् धन्दा गर्दै ‘सटकट’ बाटोबाट धन कमाउने लालसाले विकृत मानसिकता बोकेका पात्रहरुसँग हाम्रो जुधाई निरन्तर परि नैं रह्यो । आज पनि हामीले व्यक्तिगत टकरावमा नगई सहकारीको बचत हिनामिना गरिएको सम्बन्धमा प्रश्न उठाई रहँदा अनेकन् कपोकल्पित, झुठो, भ्रामक र सुनियोजित आरोप दल विशेष कैं संलग्नतामा लगाउन थालिएपछि बाध्य भएर आम पाठक, शुभेच्छुक र सबैलाई खास विषयवस्तु के हो त भन्ने तथ्य यहाँ प्रष्ट पार्ने कोसिस गर्दैछौं ।

डन न्यूज डटकमले सहकारीको विषयमा उठाई रहेको समाचारको जवाफ ती सहकारी एवं मिडिया सञ्चालकहरुले आजसम्म पनि दिन नसक्नुबाट पनि तिनीहरुको भित्री कर्तुतका सम्बन्धमा धेरै भनिरहन पर्छ जस्तो लाग्दैन । आमपाठकलाई दुई मिडिया बिचको जुहारी जस्तो देखाउन प्रयत्नरत ती सहकारी र मिडिया सञ्चालकहरुको नकाव ढिलो चाँडो अवश्य पनि उतारिनेछ ।

अब लागौं, हामी माथि उठेका प्रश्न र तिनको उत्तर तर्फ । हो, प्रश्न उठाउने हरेकले आफ्नो आम्दानी र सम्पत्तिको स्रोतको जवाफ दिन सक्नुपर्छ । यो मान्यता बोकेर हिड्ने हुँदा आज हामीलाई लागेको आरोपको खण्डन गर्दै ताण्डव न्यूज डटकममा प्रकाशित समाचारका विषयमा आमपाठक, शुभचिन्तक र सबैलाई स्पष्ट पार्न चाहन्छौं ।

१. ‘महिलाको पैसामा पत्रकार राजेन्द्रको बार्गेनिङ ! यस्तो छ घटनाक्रम’ भन्ने समाचारको खण्डन:
डन न्यूज डटकममा २०८० कार्तिक ३ गते शुक्रबार ‘सहकारीको ३ करोड ठगेर किनिएको घरमा ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीको रजाई !, सहकारीको पैसा नतिरी उल्टैं बैंकमा घर धितोमा ! बचतकर्ताहरुको बिचल्ली ! भन्ने शिर्षकको समाचार आए लगत्तै सोही दिन ताण्डव न्यूजमा ‘महिलाको पैसामा पत्रकार राजेन्द्रको बार्गेनिङ ! यस्तो छ घटनाक्रम’ भन्ने समाचार प्रकाशित भएको थियो ।

यो समाचारमा हामीलाई स्याङ्जा घर भई हाल पोखरा–५, मालेपाटन बस्ने सहकारी पीडित गोमा चापागाई दिदीसँग पैसा मागेको झुटो आरोप लगाइयो । पोखरा–९, नयाँबजारमा रहेको मित्र मिलन सहकारीमा गोमा दिदीले ओमानमा बसेर कमाएको १२ लाख रुपैयाँ आफन्तमार्फत् ३ वर्षे मुद्दती खातामा जम्मा गर्नुभएको थियो । सहकारीमा बचत गरेको रकमबाट आउने ब्याजले तीन छोराछोरीको लालनपालन र शिक्षादिक्ष खर्च गर्दै आरहेकी गोमा दिदीले १ वर्षदेखि न त व्याँज, न त साँवा केही पनि पाउनु भएको रहेनछ । सहकारीमा दिनदिनैं धाउँदा पनि पैसा नपाएपछि न्याय खोज्दैं दिदी हाम्रो घरमा आईपुग्नु भयो ।

मैंले सबै कुरा बुझेपछि, सहकारीका सञ्चालक रमण पौडेल भाइ र विजय लम्साल भाइ पत्रकारिताको क्षेत्रबाट पनि चिनेको नाताले फोन गरेर साना बालबालिका रहेछन्, आम्दानीको अन्य विकल्प नभएकोले दिदीमाथि अन्याय नगर । पाप लाग्छ । यस्ता असहाय, गरिब र महिलाको पैसा तिमीहरुले फिर्ता गर भनेको थिए । जुन रकम आजसम्म पनि फिर्ता गरेनन् ।

स्याङ्जा घर भई हाल पोखरा–५, मालेपाटन बस्ने सहकारी पीडित गोमा चापागाई

पछि थाहा भयो, गोमा दिदी जस्ता हजारौं बचतकर्ताको पैसा सहकारी र ताण्डव न्यूजका सञ्चालक रमण पौडेल, प्रधान सम्पादक अर्जुन गिरी, सहकारीका उपाध्यक्ष एवं ताण्डव न्यूजका कर्मचारी विजय लम्साल मिलेर ताण्डवमा, नयाँबजारको घर र रेष्टुरेण्ट व्यवसायका नाममा करोडौं रकम हिनामिना गरेका रहेछन् ।

ताण्डव न्यूज सञ्चालकहरुले आफ्नो कर्तुतहरु भण्डाफोर हुने डरले कपोकल्पित, भ्रामक र मनगढन्ते आरोप लगाएपछि दशैं मनाउन स्याङ्जा घर पुग्नु भएकी गोमा दिदी तत्कालैं फर्किएर ताण्डव न्यूजका प्रधान सम्पादक अर्जुन गिरी विरुद्ध यहीं कार्तिक ४ गते नेपाल पत्रकार महासंघ र जिल्ला प्रहरी कार्यालय कास्कीमा झुठो आरोप लगाएको, चरित्र हत्या गरेको र आफू लगायत आफ्ना तीन बालबालिकाको जिऊज्यानको खतरा भएको भन्दैं उजुरी दिनुभयो । आफूले ताण्डव न्यूज र अर्जुन गिरीलाई आजसम्म पनि नदेखेको, नभेटेको र केही कुरा पनि नभएको अवस्थामा सहयोग गर्नेमाथि लाञ्छाना लगाएको भन्दैं आक्रोश व्यक्त गर्नुभयो ।

भ्रामक र कपोकल्पित समाचार लेख्ने पत्रकार अर्जुन गिरीलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई उजुरी बुझाउँदैं पीडित महिला गोमा चापागाई ।

मेरो परिवारका विषयमा रामकृष्ण ज्ञवाली लगायतको समूहले सामाजिक सञ्जाल फेसबुकमा जुन गलत तथ्य लेखे, त्यसको प्रतिकार गर्दा म थुनिन पुगेको थिए । प्रहरीले बारम्बार मलाई फसाउन खोजिरहेको थियो । यस्तो अवस्थामा ममाथि लाञ्छाना लगाउने ज्ञवालीलाई पक्राउ गर्नुको साटो उल्टैं प्रहरीले प्रतिशोध साँध्ने काम गर्यो । कुनै सहकारी लुटेर, कसैलाई ठगेर वा चोरीको मुद्दामा म थुनिएको थिईन ।

मलाई मेरा छोरी र परिवारको रक्षाका लागि बाबु बनेर प्रतिकार गर्दा योजनावद्ध रुपमा सिङ्गो दल र प्रहरी नै मिलेर फसाईएको थियो । परिवारका लागि एउटा बाबु थुनामा मात्र होइन, परिस्थिति जटिल भएमा जेलमा हाँसी हाँसी बषौंसम्म बस्न पनि सक्छ । यसको हेक्का अर्जुन भाइ र ज्ञवालीले पनि गरेकै हुनुपर्छ । मलाई प्रहरी थुनामा परेको समाचार लेखिरहँदा अर्जुन गिरी स्वयंले आनन्दराज बतासका भाइ विपिनलाई ठग भनेर समाचार लेखेकैं कारण पोखराबाट पक्राउ परेर काठमाडौंस्थित प्रहरीको खोरमा थुनिनु परेको विषयलाई बिर्सिएछन् । हिजो ‘ठग विपिन बतास’ भनेर समाचार लेख्ने अर्जुन भाइले आज त्यही समूहको प्रवक्ताका रुपमा आनन्दराज बतासको कम्पनी सम्हालिरहेको जगजाहेर नैं छ ।

तिम्रा ताण्डव न्यूजमा राखिएका विपिन बतासका अनेकन् व्यवसायका विज्ञापन र मणिपाल शिक्षण अस्पतालका प्रचारसामग्रीहरुले के सन्देश दिईरहेको छ बुझ्न गारो छैन । तिमीले यतिबेला चढेको गाडी र आनन्दराज बताससँगको सम्झौंतालाई जनताले बुझिसकेका छन् । तिमीले विपिन बतासका नाममा सबैभन्दा पहिला ‘ठग विपिन बतास’ भनेर लेखेको समाचार वेभसाईटबाट हटायौं कि त्यहीं छ त्यो भने खोजीको विषय बनेको छ ।

२. ‘सुको आम्दानी नभएको राजेन्द्रले कसरी बनाए करोडौंको घर ?’
विभिन्न गुण्डा र तस्करसँग सेटिङ गर्ने, चन्दा उठाउने लगायतको काममा सकृय, भन्ने समाचारको खण्डन
ताण्डव न्यूजले सहकारीको विषयमा उठेको प्रश्नको जवाफ दिनुको साटो पुनः अर्को आक्षेप लगाएर समाचार प्रकाशित गर्यो । यो समाचारको पनि म तथ्यसत्य प्रमाणसहित खण्डन र भर्त्सना गर्दछु । पोखरा–७, शान्तिनगरचोकमा भएका हाम्रो जमिन र सम्पत्ति पुख्यौंली रहेको सबैलाई जगजाहेर भएकै विषय हो । यहाँको रैथाने पनि भएकोले हाल ताण्डव न्यूजको समाचारमा देखाईएको घर मेरो पुर्खाको जमिनमा १ तला बाआमाले बनाउनु भएको र बाँकी डेढ तला मैले बनाएको प्रष्ट पार्न चाहन्छु ।

२०६३/४/१६ गते मैले बुबासँग छुट्टाभिन्न भएर लिएको अंश र नुवारथोकमा काका उमानाथ बरालसँग लिएको कि.नं. ८००८ को घरघडेरी मेरो सम्बन्ध विच्छेद नहुँदैं सहमतिमा बेचिएको हुँदा मेरो नाममा कुनै पनि सम्पत्ति नदेखिएको हो । मेरो नाममा सम्पत्ति नभएपनि म आमाको नामको पुख्यौंली घरमा बषौंदेखि बस्दैं आईरहेको थिए । सम्बन्ध बिच्छेद भएको धेरै समयपछि आमाले २०७८ साउन १० गते जिल्ला मालपोत कार्यालय कास्कीमा गएर कि.नं. १७४ को १ तले पक्कीघरसहित भएको घडेरी पुनः दिनुभयो ।

आमाले पुनः दिनुभएको घरसहितको जमिनमा मैले पोखराको एक बैंकबाट घर निर्माणको लागि ऋण स्वीकृत गरी डेढ तला थप निर्माण गरे । साढे दुई तलाको घर बनाउँदैं गर्दा २ बर्ष अघि ठुली छोरीले छात्रवृत्ति प्राप्त गरेर नर्सिङ पेशाका लागि अमेरिका पुगिन् । यतिबेला घर बनाउँदा लागेको ऋण बैंकमा छोरी र मेरो आम्दानीले तिर्दै आईरहेका छौं । केही पैसा आफन्त र साथीभाइसँग सरसापट चलाएको छु ।

बुबाको मृत्यु भएको धेरै वर्षपछि आमाले लेखनाथमा रहेको ४ रोपनी खेत बेचेर डन न्यूज दैनिक सञ्चालन गर्दा, प्रेस मेशिन खरिद गर्दा लागेको सबै ऋण तिर्ने पैसा दिनुभयो । घरव्यवहार सञ्चालन गर्न आधा करोड नगद मैले आमाबाट थप प्राप्त गरे । जुन जग्गा बेचबिखन गर्दा भएको कारोबारबाट प्रष्ट देख्न सकिन्छ ।

डन न्यूज भन्दा पहिला न्यूज मार्ट दैनिक पत्रिका चलाउँदा पनि बिरौंटाको ४/५ रोपनी खेत बेच्दा बुबा खिमलाल अधिकारीसँग पैसा लिएर ऋण तिरेको थिए । पत्रकारिता गरेर आजसम्म १ टुक्रो पनि घरघडेरी जोडेको छैन, बरु धेरैं खेत र घडेरी बिक्री गरेको छु । म सम्पादक भएर न्यूज मार्ट चलाउँदा अर्जुन भाइ तिमी जिवनमा पहिलोपल्ट जागिरको आवेदन बोकेर मेरो टेबलमा आएका थियौं । छनौंटमा तिमी पर्न सकेनौं भने तिम्रै सहपाठी साथीले पत्रकारिता सुरु गरेकी थिईन् । आज आएर यो कुरा बिर्सिएछौं जस्तो लाग्यो अर्जुन भाइ ।

बाँकी घर खर्च सामान्य रुपमा मेरो आफ्नै आम्दानीले चलिरहेको छ । मेरो जीवन पर्यन्त पुर्ख्यौंली सम्पत्ति बाहेक नेपाल अधिराज्यको कुनै भागमा पनि १ टुक्रा जमिन छैन । त्यो पुष्टि भएमा म ताण्डव न्यूजका नाममा थप भेटिएका जमिन र सम्पत्ति पूर्ण रुपमा हस्तान्तरण गर्न तयार छु ।

कान्छी छोरी र म समेत दुईजनाको परिवारको आफ्नै घरमा बसोवास गर्दा खर्च असाध्यैं सामान्य रहेको छ । स्कुटर नभई विगत १५ वर्ष अघिदेखि चढ्दै आएको पल्सर बाईक नैं मेरो हालसम्मको यात्राको साथी हो । सहकारी ठगेर र समाचारमा वार्गेनिङ गरेर मलाई गाडी चढ्ने रहर कहिल्यैं जागेन भाइ । मैले आजसम्म कोहीकसैसँग पैसा वार्गेनिङ गरेको कुनै ठोस प्रमाण छ भने प्रहरी प्रशासन समक्ष उपस्थित भएर कारवाही भोग्न तयार छु । त्यहीं दिनदेखि डन न्यूज सधैंका लागि बन्द गरेर पत्रकारिताबाट विदा हुँदैं पोखरा छोड्न तयार रहेको पनि सार्वजनिक उद्घोष गर्दछु ।

३. ‘‘डनका सम्पादक राजेन्द्र फरार अभियुक्त, चार वर्ष अघि पक्राउ पुर्जी जारी, ‘पत्रकार हुँ’ भन्दै जोगिदैं’’ भन्ने समाचारको खण्डन
यो समाचारको खण्डन गर्दै तपाईहरु समक्ष यो घटनाको वास्तविकता राख्न गईरहेको छु । मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको समाचारलाई विषयान्तर गर्नका लागि ताण्डव न्यूजले प्रयोग गरेको तेस्रो असफल अस्त्र थियो यो । लगातार तथ्य, आधार र प्रमाणहिन झुट र कपोकल्पित समाचार प्रकाशित गरिरहेको ताण्डव न्यूजले भएको घटनाभन्दा फरक ढंगले मेरा विरुद्धमा समाचार लेख्यो । जसको खण्डन सप्रमाण म यहाँ प्रस्तुत गर्दैछु । तत्कालिन अवस्थामा म न्यूज २४ टेलिभिजनसँग आवद्ध थिए । यो घटना ४ वर्ष अघिको हो ।

न्यूज २४ टेलिभिजनमा कास्कीका तत्कालिन एसपी दानबहादुर कार्कीले गरेका अनियमितता, तिहारको समयमा जुवा अप्रेसनका नाममा प्रहरीले गरेका गलत धन्दाहरु, सुन–काण्ड, विभिन्न ठेकेदार र घाट सञ्चालकहरुसँग पैसा उठाउन प्रयोग गरिने घुमुवा प्रहरीका बारेमा मात्र नभई रक्सी पिएर ड्युटी बस्ने प्रहरी कर्मचारी लगायतका विषयमा धेरै समाचारहरु प्रकाशित भएका थिए । एसपी कार्कीले आफ्नो गलत धन्दाको बचाऊका लागि मलाई तत्कालिन प्रतिबन्धित एवं विद्रोही पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्धताको आरोप लगाउँदैं फर्जी उजुरी दर्ता गरी बम बिष्फोटनको मुद्दामा फसाउने षडयन्त्र रचेर पक्राउ पुर्जी जारी गरेका थिए ।

जुवा खालबाट पैसा लुट्ने धन्दा चलाएका तत्कालिन एसपी दानबहादुर कार्कीले समाचार लेखेकैं भरमा प्रतिशोध साँध्न जारी गरेको पक्राउ पुर्जी

तत्कालिन नेकपा एमालेका प्रदेशदेखि टोले नेतासम्मको संलग्नता र योजनामा एसपी कार्कीले आफ्नो कर्तुतहरु भण्डाफोर भएको रिस साँद्न मलाई मंसिर १३ गते पक्राउ पुर्जी जारी गर्दै त्यहीं वाहनामा हातहतियारदेखि बम बिष्फोटनसम्मको मुद्दामा फसाउने उद्देश्यले जेलसम्म पठाउने तयारी गरेका थिए । तर प्रहरी कार्यालय भित्रैंबाट मलाई पक्राउ गर्न टोली आउँदैं गरेको गोप्य सूचना पाएपछि म चिप्लेढुङ्गामा रहेको न्यूज २४ टेलिभिजनको कार्यालयबाट तत्कालै भागेर सुरक्षित स्थलमा गएको थिए । त्यसपछि टेलिभिजनको कार्यालयमा सबै कुरा जानकारी गराएर कार्यालय कैं भनाई अनुसार भोलिपल्ट मंसिर १४ गते चुनावका दिन टेलिभिजनमा चुनावका गतिविधि प्रत्यक्ष प्रसारण गरिरह्यौं । जब काम सकेर साँझ घरमा आईपुगे । तब चारैतर्फ प्रहरीले घर घेरा हाल्यो र संयोगवश प्रहरी कैं बिचबाट म फुत्किन सफल भए । पहिलो दिन पोखरा नजिकै बास बसेर विहानै काठमाडौंको बस चढेर नेपाल पत्रकार महासंघ केन्द्रको शरणमा पुगे । जिउज्यानको सुरक्षा, पत्रकारिता गर्ने वातावरण र एसपी दानबहादुर कार्कीलाई कारवाहीको माग गर्दै मंसिर २० गते महासंघमा र राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालय ललितपुरमा मैले उजुरी दिए ।

२०७६ मंसिर २१ गते नेपाल पत्रकार महासंघले जारी गरेको विज्ञप्ति । विज्ञप्तिमा समाचार लेखेकैं कारण प्रतिशोध साँध्न एसपी दानबहादुर कार्कीले पक्राउ पुर्जी जारी गरेको प्रष्टसँग उल्लेख गरिएको छ ।

लगत्तै २०७६ मंसिर २१ गते यस घटनाका विषयमा महासंघले सम्बन्धित सबैसँग बुझिसकेपछि महासचिव रमेश विष्टले प्रेस विज्ञप्ति नै जारी गर्दै पत्रकार विस्थापित हुनु परेको विषयमा आवाज उठाए । नेपाल पत्रकार महासंघले आवाज उठाएसँगैं लगत्तै अन्तर्राष्ट्रिय पत्रकार महासंघ (IFJ)ले पनि प्रेस विज्ञप्ति जारी गर्यो । न्यूज २४ टेलिभिजनमा तत्कालिन सञ्चारकर्मी, निवर्तमान गृहमन्त्री रवि लामिछानेले सिधा कुरा जनतासँगमा विशेष कार्यक्रम नैं सञ्चालन गरे । जसमा एसपी कार्कीले पक्राउ गर्नुको कारण पुष्टि गर्न नसकेको र समाचार लेखेकै भरमा प्रतिशोध साँध्न पक्राउ गर्न खोजेको तथ्य छर्लङ्ग भयो । लगत्तै राष्ट्रियदेखि स्थानीयस्तरका पत्रपत्रिकाहरुमा यो विषयले स्थान पायो । र, एसपी कार्कीको योजना असफल भयो ।

समाचार लेखेकैं भरमा बम बिष्फोटको गलत आरोप लगाउँदैं पक्राउ गर्न खोजिएपछि अन्तर्राष्ट्रिय पत्रकार महासंघ (IFJ)ले जारी गरेको प्रेस विज्ञप्ति

एसपी कार्कीको योजना विफल पार्ने काममा तत्कालिन अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीमा नैं रहेका केही असल भावना भएका प्रहरीहरुले पनि मलाई साथ दिएका थिए । जसले गर्दा २/२ पटक मैले प्रहरी घेरा तोडेर भाग्न सफल भएको थिए । पछि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष हालका वर्तमान अध्यक्ष विपुल पोखरेल र पत्रकार जन्मदेव जैसीको मिसन टोलीसँगैं म पोखरा फर्किए । उपाध्यक्ष पोखरेलले लामो छलफल गरेपछि एसपी कार्की र मलाई फोनमा संवाद गराए । मुद्दा सकिएको भन्दैं विपुल दाइको टोली काठमाडौं फर्कियो । यसरी टुंगिएको विषय पछि रामकृष्ण ज्ञवालीको घटनामा प्रहरीले जिल्ला प्रशासन कार्यालयमा सँगसँगैं फाईल अगाडि बढाउँदा त्यो विषय पनि सोही समयमा कानुनी रुपमैं टुंगिएको थियो । यसरी टुंगिएको विषयमा बदनाम गर्ने र चरित्र हत्या गर्ने उद्देश्यले घटना र प्रसङ्गलाई अन्यत्रै मोडेर ताण्डव न्यूजका प्रधान सम्पादक अर्जुन गिरी समूहले गरेको पित पत्रकारिताप्रति खेद प्रकट गर्दै घोर भर्त्सना गर्दछु ।

अन्त्यमा, अर्जुन गिरी, विजय लम्साल लगायतको सहकारी ठग्ने समूहलाई विगत एकपटक सम्झाउँदैं गिरीको निर्मल पोखरी र लम्सालको घाचोक गाउँको आर्थिक हैसियत सार्वजनिक गर्न चुनौंती दिन चाहन्छु । गिरी र लम्साल मिलेर मित्रमिलन सहकारीको करोडौं रुपैयाँ हिनामिना गर्दै ताण्डव न्यूज, क्याफे दि गार्डेन र नयाँबजारमा जनकल्याण पराजुलीको परिवारसँग २ करोड ८० लाखमा किनिएको भनिएको घरका नाममा बेहिसाब खर्च गरिएको छ । ती सारा विषयको आर्थिक स्रोत र कारोबारको विवरण पनि सार्वजनिक गर्न दुवैजनालाई चुनौंती दिन चाहन्छु ।

अन्त्यमा, ताण्डव न्यूज र सहकारी ठगीमा संलग्न गिरोहले लगाएका आरोपहरुको सक्छौं भने अझैं पुष्टि गर्न चूनौंती दिन चाहन्छु । साथै यस्ता मनगढन्ते, कपोकल्पित, अतिरञ्जित र प्रायोजित कुण्ठा मिश्रित तथ्य र प्रमाणहिन समाचारको विश्वास नगर्न सम्पूर्णमा आग्रह गर्दछु । जहिले पनि म आफ्नो इमान्दारिता र स्वाभिमानमा कटिवद्ध भएर निरन्तर अघि बढिरहने प्रण गर्दै यो विषयमा कानुनी प्रक्रियामा समेत अघि बढ्ने जानकारी गराउँदछु ।
-राजेन्द्र अधिकारी, सम्पादक, डन न्यूज

एसपी दानबहादुरको यातना विरुद्ध अन्नपूर्ण पोष्ट दैनिकमा मंसिर २१, २०७६ शनिबार प्रकाशित समाचार ।