दाङ, ५ कार्तिक । बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर दुई किशोरी बेपत्ता भएका छन् । बबई नदीमा नुहाउन गएका तीनजना मध्ये एकको भने सकुशल उद्धार गरिएको र वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मोतिपुर नजिकैको नदीमा आज दिउँसो नुहाउने क्रममा दाङको दंगीशरण गाउँपालिका वडा नं. २ कि १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर–१ घर भइ दंगीशरणमा मामा घर आएकी १४ वर्षीया गोमा चन्द वेपत्ता भएका थिए । उनीहरुसँगै नदीमा डुबेकी दंगीशरण गाउँपालिका–२ कि १३ वर्षीया निरुता बस्नेतलाई भने सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोलीले उद्धार गरेको थियो । हाल उनको अवस्था सामान्य रहेको छ ।