News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘हाम्रो खिसिट्युरी गर्नेको हविगत होलिकाको जस्तै हुनेछ’ : अध्यक्ष नेपाल

काठमाडौं, ३ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले खिसिट्युरी गर्ने तत्वहरुको हविगत होलिकाको दहन भएजस्तै त्यस्ताहरुको नास हुने चेतावनी दिएका छन् ।

होलीको अवसरमा पार्टी केन्द्रीय कार्यालयले काठमाडौंमा आज आयोजना गरिएको कार्यक्रममा अध्यक्ष नेपालले आफूहरुको खिसिट्युरी गर्नेको हविगत राष्ट्रियसभाका दुईवटै चुनावमा कमाल गरेर देखाएको भन्दै आगामी चुनावमा पनि देखिने बताएका हुन् ।

अध्यक्ष नेपालले आगामी चुनावमा कलमले कमाल गर्ने दावी गर्दै भने, ‘हाम्रो खिसिट्युरी गर्ने तत्वहरुको हरिबिजोग त्यही बेलामा थाहा हुने छ । घमण्डको पोको भएको रावणको नास भएजस्तै, होलिका दहन भएजस्तै त्यस्ताहरुको नास हुनेछ ।’

एकीकृत समाजवादीको चुनाव चिह्न कलम हो । कलम चुनाव चिह्नले कमाल गर्ने बताउँदै उनले भने, ‘वैशाख ३० गतेको चुनावको बेलामा कलमको कमाल देखिनसक्नुपर्दछ । सत्य र न्यायको प्रतीकको रुपमा रहेको त्यो कलमले अवश्य कमाल गर्ने छ भन्ने विश्वास गर्दै गाउँगाउँ, टोलटोल, बस्तीबस्तीमा पुगौं । जनपरिचालन गर्ने काममा लागिपरौं । यो पार्टीको सामर्थ्य शक्ति चुनावको मैदानमा देखिने छ ।’