News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘कांग्रेसले लखेट्न खोजे एमालेसँग तालमेल नहोला भन्न सकिन्न’ : अध्यक्ष प्रचण्ड

रूपन्देही, ३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुने/नहुने नेपाली कांग्रेसको व्यवहारमा भर पर्ने बताएका छन् । देशैभर तालमेलको सम्भावना नभएकोले एक्लै चुनाव लड्ने तयारी गर्न पनि अध्यक्ष प्रचण्डले कार्यकर्तालाई निर्देशन दिएका छन् ।

लुम्बिनी प्रदेशको प्रदेशस्तरीय निर्वाचन केन्द्रित प्रशिक्षणलाई सम्बोधन गर्न आज बिहीबार बुटवल पुगेका अध्यक्ष प्रचण्डले प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनका हिसाबले तत्काल तालमेलका लागि छलफल नभएपनि कांग्रेसले लखेट्न खोजेको अवस्थामा एमालेसँग पनि ढोका बन्द नभएको बताएका हुन् ।

‘एमालेसँग तत्काल कुनै छलफल भएको त छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘तर, कांग्रेसमा पनि केही अतिवादी नेताहरु छन्, उनीहरुकै कारण कांग्रेसले लखेट्नै खोज्यो भने त के हुन्छ भन्न सकिँदैन । राजनीतिमा असम्भव केही हुँदैन ।’ उनले देशभरका कार्यकर्तालाई आफ्नै शक्ति र आफ्नै एजेन्डामा तालमेलबिना नै निर्वाचन लड्न र जित्ने गरी तयार हुन निर्देशन दिएका छन् ।राजनीति सम्भावनाको खेल भएकाले दुवै सम्भावना उत्तिकै रहेको प्रचण्डको भनाई थियो ।

गठबन्धनकाबीच तालमेल भइहाले पनि देशैभर नहुने र स्थानीय आवश्यकताका आधारमा मात्र हुने भएकाले आफ्नो संगठनलाई बलियो बनाउने, आर्थिक र राजनीतिक एजेन्डा लिएर जनतामा जाने र आफ्नै तागतमा उत्साहका साथ निर्वाचनमा होमिन पनि अध्यक्ष प्रचण्डले कार्यकर्तालाई निर्देशन दिएका छन् ।