News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

नेपाली काँग्रेसको एक महिने चुनाव केन्द्रित अभियान

नेकपा सरकारको जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार जनता समक्ष राख्न निर्देशन

काँग्रेसले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि ‘एक अभियानमा आठ उद्देश्य’ अघि सारेको छ । जसमा मतदातालाई मतदानमा सहभागी हुन र आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न निर्वाचनको माहोल बनाउने पहिलो उदेश्य अघि सारेको छ ।

काठमाडौं, २३ फागुन । नेपाली काँग्रेसले चुनाव केन्द्रित एक महिने अभियान देशभरी नै सञ्चालन गर्ने भएको छ । फागुन २९ देखि चैत २९ गतेसम्म ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ भन्ने नाराका साथ काँग्रेसले अभियान सञ्चालन गर्न लागेको हो ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय नेताहरुलाई प्रशिक्षण दिदैं अभियान शुरु हुनुभन्दा २ अगाडि खटाईएको जिल्लामा पुग्न निर्देशन समेत दिईसकेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति एवं प्रधानमन्त्री देउवाले अभियानबारे प्रशिक्षण दिदै अभियान सुरु हुनुअघि र सुरु भएपछि पनि वडा तहका कार्यक्रमलाई प्रभावकारी बनाउन सवै स्थानीय तहमा एकपटक अनिवार्य पुग्न र सातै प्रदेश कमिटीलाई कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

अभियान अन्र्तगत काँग्रेसले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि ‘एक अभियानमा आठ उद्देश्य’ अघि सारेको छ । जसमा मतदातालाई मतदानमा सहभागी हुन र आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न निर्वाचनको माहोल बनाउने पहिलो उदेश्य अघि सारेको छ । त्यसैगरी स्थानीय तह निर्वाचनमा सवै वडा र टोलसम्म पार्टीभित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्दै काँग्रेस उम्मेदवारलाई विजयी गराउन अपील गर्ने रहेको छ ।

काँग्रेसले जनतासमक्ष जाँदा नेकपाको सरकारको गत ३ बर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राख्न नेता कार्यकर्ताहरुलाई निर्देशन

काँग्रेसले तेस्रो उद्देश्यमा ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’को नीति अनुसार पार्टीलाई परिचालन गर्ने, काँग्रेस नेतृत्वले विगतमा गरेका राजनैतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने रहेका छन् । काँग्रेसले जनतासमक्ष जाँदा नेकपाको सरकारको गत ३ बर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राख्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बावजुद संविधान रक्षाका लागि बाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्दै कांग्रेसको नेतृत्वमा सरकार बनेपछि छोटो समयमा ७०% नागरिकलाई खोप लगाइसकेको कुरा जनतामा बुझाउने भएको छ । साथै निर्वाचनसम्म पुग्दा प्राय सवैलाई खोप लगाइसक्ने योजना रहेको र जनतालाई कोरोना महामारीसँग अझै सतर्कताका लागि अपील गर्न निर्देशन दिएको छ ।

त्यसक्रममा काँग्रेसले करिब–करिब राष्ट्रिय सहमतिको स्थिति निर्माण गरेर एमसीसी संसदबाट पारित भएको भन्दै त्यसबारे जनस्तरमा छरिएका भ्रमबारे प्रष्ट पार्न पनि अभियानमा संलग्न नेताहरुलाई निर्देशन दिएको छ ।