News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘प्रधानमन्त्री देउवाले चुच्चे नक्सा गायव पार्नुभयो’ : उपाध्यक्ष सुवास नेम्वाङ

काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले आफ्नो पार्टीले ठूलो चुनौति मोलेर बनाएको नेपालको चुच्चे नक्सा प्रधानमन्त्री शेरबहादुर देउवाले गायब बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले भने, ‘म अन्तिममा जोड्न चाहन्छु-‘यो देशको राष्ट्रियताको सन्दर्भमा लडाई लड्ने सिलसिलामा लिपुलेक, लिम्पियाधुराको चुच्चे नक्शा हामीले बनायौं । यो कम ठूलो कुरा थियो ? कम्ति चुनौती थियो यसमा ?’

‘एउटै कुराबाट थाहा हुन्छ, यो पछिल्लो सरकारले हामीले सरकारको १०० दिनको काम सार्वजनिक गर्ने बेलामा सार्वजनिक गरेको चुच्चे नक्सा गायब बनाएको छ ।’ उपाध्यक्ष नेम्वाङले भने–‘यो सरकारले सय दिनको काम सार्वजनिक गर्ने बेलामा हेर्नुस् त ? त्यहाँ नेपालको लोगो छ । तर लिपुलेक, लिम्पियाधुरा सहितको चुच्चे नक्सा गायव छ । अब हाम्रो लागि र नेपाली जनताको लागि त्यो चुच्चे नक्सा कति प्रिय छ ? तर प्रधानमन्त्री शेरबहादुर देउवाले सो नक्सा नै गायव पार्नुभयो ।’

उपाध्यक्ष नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागिपरेको आरोप लगाएका छन् । संविधानसभाका अध्यक्ष समेत रहेका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरुले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको बताएका हुन् ।