News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

एमाले सांसदलाई लक्षित गर्दै डा.भट्टराईले भने-‘बिनाकामको ज्याला लिनु जनताको अपमान हो’

काठमाडौं, १८ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले ६ महिनादेखि संसद अवरुद्ध गर्दै आईरहेको नेकपा एमालेलाई लक्षित गर्दै जनताको समस्याहरु संसदमा नराखी ज्याला लिनु लज्जास्पद भएको बताएका छन् ।

आज बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग अध्यक्ष भट्टराईले भने–‘जनताको समस्याहरू संसदमा नराखी ज्याला लिनु लज्जास्पद हो । सरकारले संसदको अवरोध नहटाउनु जनताप्रतिको अपमान पनि हो ।’

‘जनताको सर्वोच्च प्रतिनिधिसभा ६ महिनादेखि बन्द हुनु उपयुक्त हुँदैन । यो दुःखद् भयो । सबै जिम्मेवार बनेर यसको निकास खोजौं । सबै कुराको निकास खोज्न सकिन्छ । यो एकदमै गैरजिम्मेवार भयो । हामी आउँछौं भत्ता बुझ्छौं हिँड्छौं, जनताको समस्या राख्दैनौं भने बिनाकामको ज्याला लिनु राम्रो होइन । यो बेठिक भइरहेको छ । यसको छिटो निकास निस्कनु पर्छ । यो शोभनीय भएन, जनताप्रति अपमान हो,’ नेता भट्टराईले भने ।