कुनै पनि महिलाले दुर्व्यवहारविरुद्ध बोल्दा उनीसँग सुरुमै प्रमाण मागिन्छ । पीडितलाई नै दोषी देखाइन्छ । ‘किन ढिला बोल्यौ’ भन्ने बेतुक प्रश्नहरु तेर्साइन्छ ।
प्रहरीले अदालतमा मुद्दा चलाउनुभन्दा अगावै सामाजिक सञ्जाल, युट्युबतिर विज्ञ बनेर पलको बचाउमा बोल्ने झुन्ड बढेको बढ्यै छ । ‘पलको न्यायका लागि’ भन्दै र्याली निकालिएको छ ।
काठमाडौँ, १६ फागुन । ‘सम्मान छ हाम्रो रियल हिरोलाई, सत्यको जित अवश्य हुनेछ’, एक गायिकाले आफूविरुद्ध जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी दिएको चार दिनसम्म विविध कारण देखाउँदै प्रहरीबाट फरार रहेका कलाकार पल शाहको पोस्ट सेयर गर्दै अभिनेत्री पूजा शर्माले फेसबुकमा लेखेको स्टाटस हाे यो ।
शाहले उक्त पोस्टमा आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको, घरपरिवारको व्यवहार मिलाउनु परेको र प्रदर्शनरत फिल्ममा असर नपरोस भनेर प्रहरीसामू उपस्थित हुन नसकेको कारण उल्लेख गरेका थिए । यसअघि ‘पूजा भनेकै पलको पिल्लर हो, पललाई कसैले पनि केही गर्न सक्दैन’ भन्दै ठोकुवा गर्दै हिँडेकी शर्माले इन्स्टाग्राममा ‘जस्टिस फर पल’ लेखिएको तस्बिर सार्वजनिक गरेकी थिइन् ।
नाबालिग गायिकाले शाहविरुद्ध आफूलाई बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै जाहेरी दिइसकेपछि ३ लाखभन्दा बढी फलोअर्स भएको फेसबुक अनि इन्स्टाग्रामबाट शर्माले सेयर गरेको तस्बिर र विचारमा उनको मानसिकताको प्रतिबिम्ब झल्किन्छ ।
पललाई ‘स्टे स्ट्रङ’ भन्दै अर्की अभिनेत्री करिश्मा मानन्धरले पनि शुभेच्छा दिँदै हिँडेकी छिन् । यस्तो अभिव्यक्ति दिने उनीहरु दुवै महिला हुन् । यी दुईको यस्तो अभिव्यक्तिले कतिलाई प्रभाव पार्ला ? पूजाका करिब ३ लाख फलोअर्सले त सत्य पललाई मान्ने भए !
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा करणीसम्बन्धी कसुरको दफा २१९ (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ । कानुनी रूपमा पनि यति गम्भीर विषयलाई समाजलाई सचेत बनाउने भूमिकासमेत निर्वाह गर्नुपर्ने कला क्षेत्रकै व्यक्तिहरु आरोपितकाे संरक्षण गर्ने जस्तो भूमिकामा देखिएका छन् ।
कुनै महिलाले यौन दुर्व्यवहारविरुद्ध आवाज उठाउँदा, सुरुमै उनलाई गलत/दोषी देखाउने समाजमा आरोपितलाई नै बचाउ गर्दै हिँड्ने यस्ता कलाकारको अभिव्यक्तिले हिंसाको दुरुत्साहन गरेको लेखिका आन्विका गिरी बताउँछिन् । ‘पुरुषप्रधान सोच पुरुषमा मात्र हुँदैन । महिलामा पनि हुन्छ । महिला पनि सानैदेखि बाबु, दाजु र श्रीमान्को संरक्षणमा हुर्केका हुन्छन् । पूजाले त्यसो भन्नु अर्को साधारण महिलाले पुरुषप्रधान समाजमा बोलेको जस्तै हुनेभयो । तर यति धेरै एक्सपोजर पाएको महिला, जो केही समय अगाडि आफै हिंसामा परेकी थिइन् उनले यसरी बोल्नु त दुर्भाग्यपूर्ण अवस्था हो । उनी हिंसामा पर्दा हामी कति चिच्यायौं, बोल्यौं,’ गिरी भन्छिन्,’करिश्माले पललाई साहस मिलोस् किन भनिन् ? यो त बचाउ गर्ने काम भयो । बरु नबोल्नु नि ! करिश्मा मानन्धरको एउटा पहुँच छ, शक्ति छ । त्यसको दुरुपयोग भयो नि यो त ।’
अभिनेत्री सुरक्षा पन्त, शर्मा र मानन्धरको अभिव्यक्ति असंवेदनशील भएको टिप्पणी गर्छिन् । ‘त्यो एकदमै गलत हो । कानुनप्रति चेत नभएको र समाजप्रति पनि उत्तरदायित्व नभएको हो त्यो । कलाकार भएको हैसियतले हामी यस्तो कुरामा कतिसम्मको उत्तरदायी हुनुपर्छ भन्ने कुराको चेत देखियो । हामी कोही पनि होइनौं कसैलाई हिरो बनाउने र नबनाउनेमा,’उनले भनिन्,’सायद त्यो प्रमोसनल फन्डा हुनसक्छ । सायद पलसँग उहाँको सम्बन्ध राम्रो भएर हुनसक्छ । संवदेनशील मुद्दा छ । हामीले अहिले नै त्यतिधेरै कसैलाई उचाल्न मिल्दैन । संवदेनशील मुद्दालाई हाम्रो धारणाले पेल्न मिल्दैन । समाजप्रतिको उत्तरदायित्व पनि कलाकारको आम्दानी हो भनेर बुझिदिएनन् । हामीले खर्चिएको चेत, सुझावले पनि त हामीलाई स्टार बनाउन सक्छ नि ।’
लेखिका गिरीका अनुसार फिल्म क्षेत्रमा हामीले आशा गरेका अभिनेत्रीहरूले नै समाजका ठूला घटनामा बोलिदिँदैनन् । ‘आफ्नो क्षेत्रमा भएको यस्तो अपराधबारे बोल्दैनन भने त उनीहरुको कुनै नैतिक आधार छैन कुनै क्याम्पियनको सद्भावना दूत बन्ने । उनीहरु बोल्नपर्छ । नबोलेर चुप लागिरहन्छ भने पुस्तौंपुस्ता यस्तै भइरहन्छ नि त,’ उनी भन्छिन् ।
सामाजिक सञ्जालदेखि युट्युब अन्तर्वार्तामार्फत् आरोपितलाई साथ दिइरहेका प्रतिनिधि पात्र हुन्, पूजा र करिश्मा । उनीहरुजस्ता थुप्रै व्यक्तिहरु, पलका प्रशंसकहरू उनको पक्षमा उभिँदै हिंसालाई सामान्यीकरण गर्ने, दुरुत्साहन गर्ने कुरा गर्दैछन् । सामाजिक सञ्जाल, युट्युबतिर विज्ञ बनेर पलको बचाउमा बोल्ने झुन्ड बढेको बढ्यै छ । ‘पलको न्यायका लागि’ भन्दै र्याली निकाल्ने, विरोध कार्यक्रमले आोरोपीलाई बचाउन नसक्ने गिरीको धारणा छ ।
‘यस्ता मानिसहरुले सँधै पीडकलाई बचाउन सक्दैनन् । उनीहरुले बुझे हुन्छ । उनीहरु आज प्रखर भएर बोल्नुको सट्टा पीडकको बचाउमा बोल्नु दुर्भाग्यपूर्ण हो । अन्तिममा अदालतले जो अपराधी हो कानुनले छिनोफानो गर्छ र सजाय दिन्छ,’उनले भनिन्,’उनीहरु यति असंवेदनशील भइदिए कि १८ वर्षको मुनिका नाबालिगलाई नाबालिग हो भन्ने बुझ्दै बुझेनन् । उनीहरुले गीत गाउन हिँडेकी गायिकालाई सहमतिमा सेक्स गरिसकेपछि विवाह नगर्ने भनिसकेपछि बलात्कार भनेकी हो भन्ने उनीहरुको सोचाइ छ । जुन गौण कुरा हुन् ।जबर्जस्ती होइन सहमतिमै भएको भन्ने पलको कुरामा उनीहरु कन्भिन्स भए । नाबालिगसँग सहमतिमै भएको यौन सम्बन्ध बलात्कार हो भन्ने कुरालाई बेवास्ता गरेका छन् ।’
कुनै पनि महिलाले दुर्व्यवहारविरुद्ध बोल्दा उनलाई सुरुमै प्रमाण मागिन्छ । पीडितलाई नै दोषी देखाइन्छ । ‘किन ढिला बोल्यौ’ भन्ने बेतुक प्रश्नहरु तेर्साइन्छ । भारतमा १० वर्षपछि नाना पाटेकरविरुद्ध तनुश्री दत्तले बोल्दा सुरुमै उनैलाई दोषी घोषित गरियो । आफूविरुद्ध भएको दुर्व्यवहारबारे ‘१० वर्षपछि किन बोल्यौ’ भन्दै उनीमाथि सयौं मानिस खनिए । यौन हिंस्रक/निर्माता हार्वे विन्सटाइनविरुद्ध बोल्ने दर्जनौं महिलाहरुले यस्तै समस्याहरुको सामना गर्नुपर्यो । १७ वर्षीय ती नाबालिग गायिकालाई पनि ‘घटना भएकै समयमा किन बोलेनौं’ भन्दै दोष लगाउनेहरु अहिले थुप्रै भेटिए ।
‘…बलात्कार त हुँदै होइन । सुरुसुरुमा मायाजाल अहिले आएर महाजाल । पललाई बर्बाद गर्न लागि पर्नु भएका महानुभावहरुले नाबालिग (पीडितको नाम नै उल्लेख)लाई नि बर्बाद गरिदिए,’भन्दै गायिका ज्योति मगरले फेसबुकमा लेखिन् । उनले यस्तो लेख्नुले महिलालाई नै गलत/दोषी देख्ने दृष्टिकोण उजागर गरिदिएको छ । पीडितमाथि भएको दुर्व्यवहारका कुरा अडियोमै बाहिर आउँदा पनि समाजका प्रतिष्ठितहरुले उनैलाई दोषी देखाउने कार्य भइरहेका छन् । संगीत क्षेत्रकै गायिकाहरुले ज्योति मगरको बोली बोलिरहेका छन् ।
दुर्व्यवहारबारे बोल्दा महिलाले यस्तो आरोप पहिल्यैदेखि झेल्नु परेको पोलिटकल लिट्रेसी फर वुमनकी प्रकृति भट्टराई बताउँछिन् । ‘आरोप/प्रत्यारोप लगाउने कुरा त अपेक्षित नै थियो । जब-जब महिला बोल्छिन हरेक पटक यस किसिमको रियाक्सन देखिन्छ । महिला अभियान चलेको यतिका वर्ष भइसक्यो । तर हामीले नै साधारण कानुनको ज्ञान पनि बुझाउन सकेका रहेनछौं । व्यक्ति अदालत भइसकेपछि समस्या हुँदो रहेछ,’ भट्टराईले भनिन्,’हामीकहाँ पुरुषहरुलाई बचाउनुपर्छ भन्ने मानसिकता छ । अर्को त मिडिया, राजनीति र फिल्ममा लागेका महिलाहरु चरित्रहीन हुन्छन् भन्ने धारणा भेटिन्छ । चरित्रमाथि प्रश्न उठाइन्छ । यही कुरा चिकित्सा, नर्सिङ क्षेत्रमा भएको भए हेर्ने दृष्टिकोण फरक हुन्थ्यो होला ।’
म्युजिक भिडियोमा चलेका अनि फिल्ममा उदाउँदै गरेका व्यक्तिविरुद्ध बोल्ने साहस गर्दा पनि नाबालिग दुर्व्यवहारबारे बोल्न हतोत्साही भएको आन्विका सुनाउँछिन् । ‘कानुनमा स्पष्टसँग लेखिएको छ कि १८ वर्षमुनिको मञ्जुरीलाई, मञ्जुरी मानिँदैन । त्यसको आधारमा यो सीधा बलात्कारको मुद्दा हो । तर अब यो बलात्कारको मुद्दालाई कसले उचाल्यो भन्ने अनेक कोण कोट्याउँदै महिलाहरुकै दोष हो भनेर हतोत्साही पार्ने काम भइरहेको छ,’उनले भनिन्,’आम मानिसको बुझाइ त छोरा मान्छे हो, भइहाल्छ नि भन्ने छ । अर्कोतिर उसले किन ढिलो भनी, कसले उचाल्यो भन्नेजस्ता कुराहरु त गौण छन् । त्यसको कुराको अर्थ छैन । यसमाथि समाजमा बहस, छलफल भइरहन्छ । बलात्कार भनेको गम्भीर अपराध हो ।’
नाबालिगसँगको सम्बन्ध स्वत: बलात्कार हो भन्ने कुरा नै नबुझ्दा नाबालिगविरुद्ध अपराधिक तर्कहरु पुष्टि गर्न मानिसहरु लागिपरेको अधिकारकर्मी सम्पदा रिजाल बताउँछिन् । ‘कुनै पनि नाबालिगसँगको सम्बन्ध, त्यसलाई उसले हिंसाको रुपमा नबुझिए पनि उसको महसुस बलात्कार नभए पनि त्यो बलात्कार हो भन्ने बुझ्नुपर्छ । त्यस्तो घटनालाई कानुनी दायरामा ल्याउन परिवार समाजले भूमिका खेल्नुपर्छ,’उनले भनिन्,’अहिले पीडितलाई आरोप लगाउने अपराधी तर्कहरु एकदमै देखिन्छ । मानिसहरु आपराधिक तर्कहरु पुष्टि गर्न लागि परेका छन् । जुन सुकै उमेरको बालिकासँग जो सुकैले सहमतिमा सम्बन्ध राख्न सक्छ भन्ने भाष्य डरलाग्दो तरिकाले आइरहेको छ । त्यो त बलात्कारको दुरुत्साहन नै हो ।’
प्रहरीको लापर्वाही
नाबालिगले प्रहरीलाई जाहेरी दिएको ३ दिनसम्म पनि पललाई प्रहरीले छूट दियो । ‘पोखरामा उनले उजुरी दिन गएको कुरा भन्ने छ । त्यस्तो समयमा प्रहरीले सल्लाह गरेर अर्को दिन आउनुस् भन्ने होइन नि । पलले ३/४ दिनको सुविधा पायो । पलले त्यो सुविधा पाउँछ भने एउटा सामान्य चोरले म ३/४ दिन घर व्यवहार हेरेर आउँछु भन्दा प्रहरीले दिन्छ ? दिँदैन नि त,’उनले भनिन्,’कानुनको नजरमा सबैजना समान हुनुपर्यो नि त । जताततै देखिने अनुहारलाई पक्राउ गर्न किन ढिला भयो । प्रहरीले यसको जवाफ दिनुपर्छ । बलात्कारको आरोपित व्यक्ति, कानुनलाई छलेर बस्यो । प्रहरीले पहुँच भएको, शक्ति भएको व्यक्तिलाई यस्तो किसिमको छूट दिएको छ । प्रहरीले अझै गम्भीर प्रकारले यो विषयलाई लिएको छैन ।’
यो मुद्दामा प्रहरी असक्षम भएको भट्टराईको भनाइ छ । ‘जहिले पनि बलात्कारको घट्नामा प्रहरीले एकदमै ढिला प्रतिक्रिया दिएको देखिन्छ । पल एउटा ठाउँबाट अर्कोमा पुगेर स्टाटस लेखिरहेका थिए । भिडियो बनाइरहेका थिए । उनी खुंखार अपराधी भएर हराएको भए पनि भेट्न नसकिएको भन्न सकिन्थ्यो । तर यो मुद्दामा प्रहरी प्रशासन नै असक्षम देखियो । सबैले अनुहार चिन्ने व्यक्ति, जो इन्टरनेट र मोबाइल चलाइरहेको छ, उसलाई नभेट्नु हाँस्यास्पद भयो’उनले भनिन्,’यता प्रहरीले खोजिरहेको हुन्छ अनि उता स्ट्याटस लेखिरहेको आइरहेको हुन्छ ।’
पीडितको संरक्षण महत्त्वपूर्ण
खासमा पल र उक्त बालिकाबीचको यो मुद्दा एकाएक प्रहरीकोमा आएको होइन । दुईबीचको प्रेमका गसिप हुँदै अडियो पनि सार्वजनिक भए । सुरुमा त आरोपितले पीडितलाई करणीको कुरालाई नाबालिगको परिवारसँग छलफलमै मिलाउन खोजे । तर, ज्यास्मिन ओझासँगको अडियो बाहिरिएपछि भने नाबालिगले जाहेरी दिइसकेपछि भने पलले आफूविरुद्ध षड्यन्त्र भएको भन्दै चार व्यक्तिहरुको नाम उल्लेख गर्दै अडियो सार्वजनिक गरे । पैसाका लागि नाबालिगलाई पलविरुद्ध बोल्न लगाइएको, ती चार नामहरुले उनलाई उक्साएको भन्नेलगायतका थुप्रै घटनाको विकासक्रम यो मुद्दामा क्रममा भइसक्यो । तर यसबीच नाबालिगकै चरित्र हत्या गर्दै डिजिटल बुलिङदेखि पीडितलाई झनै पीडित बनाउने कार्य भयो ।
यस्तो समयमा पीडितलाई सरकारले संरक्षणको प्रत्याभूति गराउनुपर्ने अधिकारकर्मी मोहना अन्सारी बताउँछिन् । ‘यौन दुर्व्यहारजस्तो गम्भीर विषयमा कुनै व्यक्ति आरोपित हुन्छ भने अनुसन्धान गर्ने प्रहरीको दायित्व हो । एक नाबालिग मलाई दुर्व्यवहार गर्यो भन्ने उनको बयान नै छ । तर लामो समयसम्म पनि प्रहरीले आरोपित पक्राउ गर्न सकेन,’उनले भनिन्,’यदि कला क्षेत्रमा त्यस किसिमका विकृति छन् भने त्यसलाई कानुनको दायरामा ल्याउनु पनि प्रहरीको दायित्व हो । न्याय दिन अदालत छँदैछ । अर्को कुरा त पीडितको संरक्षण गर्नुपर्ने हुन्छ । यो विषयमा मिडियाबाजी भइरहेको छ, उनलाई संरक्षणको प्रत्याभूति प्रहरीले देखाउनुपर्छ ।’
फिल्म क्षेत्रको ‘पल प्रवृत्ति’माथि बहस आवश्यक : सुरक्षा पन्त
अभिनेत्री सुरक्षा पन्त फिल्म क्षेत्रभित्रको पल शाह प्रवृत्तिमाथि बहस हुन आवश्यक ठान्छिन् । ‘पल शाह प्रवृत्ति बाहिर आउन आवश्यक छ । कला क्षेत्रमा खुल्ला प्लेटफर्म छ । साना साना बालबालिका आफ्नो प्रतिभाले यहाँ आइरहनु भएको थियो । १८ वर्षको यो नाबालिग केही हदसम्म अलिकति जानकार होला रे । तर परिवारको निर्देशनबिना आइरहेका होलान् । गलत तरिकाले प्रयोग हुने धेरै सम्भावना छन्,’उनले भनिन्,’कुनै उमेर समूहको व्यक्ति यो क्षेत्रमा आउँछ भने उनीहरुले परिवारको मार्गनिर्देशनमा आउनुपर्यो । मलाई जहाँसम्म लाग्छ यस्ता मुद्दाहरु यहाँ थुप्रै छन् । कतिले बाहिर निकाल्ने आँट गर्नुभयो । कतिले गर्नु भएन । अहिले फिल्म क्षेत्रमा नाबालिगसम्बन्धी कार्यक्रम(रियालिटी शो) दिनप्रतिदिन बढिरहेको छ । चाँडै शोषित हुने माहोल बनिरहेको छ । यसबारे बहस गर्न जरुरी छ । एउटै मुद्दाले परिवर्तन पनि गर्नसक्छ नि ।’
उनी समाजका यस्ता मुद्दामा कलाकारको हिसाबले बोल्नुपर्ने धारणा राख्छिन् । ‘हामी कलाकार भएर समाजको अगाडि उभिनु पर्छ । हाम्रो नाम जाने होइन त्यसले । खोक्रो आदर्श र स्टारडमले हामीलाई कहीँ पुग्न छैन । जब हामी समाजकै कथा, व्यथा भन्न सक्नुहुन्न, तपाईंलाई घटेको छ भने प्रतिनिधि बनेर उभिइदिनु पर्यो । ताकि समाजले हेर्न सकोस्, बुझ्न सकोस् । यो विषयलाई तोडमोड गर्न सकिएला तर हामीले यसलाई नितान्त कानुनकै हातमा छोडिदिनुपर्छ । तर प्रष्ट रुपमा लेखिएको कानुन त यस्तो अवस्था आउला भनेर लेखिएको हो नि। यसलाई मान्नु त पर्यो,’उनी भन्छिन् । -कान्तिपुर दैनिक