News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश प्रमुख समाचार

सहकारीमा ऋणको अधिकतम ब्याजदर १६ प्रतिशत तोकियो

काठमाडौँ, १४ फागुन । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुका लागि सन्दर्भ ब्याजदर तोकिएको छ । सहकारी विभागले शुक्रबार कर्जाको अधिकतम ब्याजदर १६ प्रतिशत हुनेगरी सन्दर्भ ब्याजदर तोकेको हो । बैंकहरुमा लगानी योग्य रकमको चर्को अभाव देखिरहँदा यसको असर सहकारी क्षेत्रमा समेत देखा परेको हो ।

बैंकहरुमा निक्षेप आउने क्रम घटेपछि निक्षेप ब्याजदर लगातार बढाइएको छ । बैंकमै निक्षेपको ब्याजदर ११ प्रतिशत नाघिसक्दा समेत सहकारी संस्थाहरुमा भने न्युन ब्याजदर भएको भन्दै सहकारीकर्मीहरु आन्दोलनमै उत्रिएका थिए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्यालका अनुसार फागुन १५ गतेबाट लागूहुनेगरी यस्तो ब्याजदर तोकिएको हो ।

यसअघि बचत तथा ऋणको कारोबार गर्ने सहकारीमा सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत रहेको थियो । सहकारी ऐन २०७४ को दफा ५१ र सहकारी नियमावली २०७५ को दफा २३ ले सन्दर्भ ब्याजदरसम्बन्धी व्यवस्था गरेको छ । विभागले हरेक वर्ष सन्दर्भ ब्याजदरमा पुनरावलोकन गर्ने गरेको छ । ऋण र बचतको ब्याजदर अन्तर ६ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ । अब यदि सहकारीले ऋणको अधिकतम ब्याजदर १६ प्रतिशत लागू गरेमा उसले बचतमा दिने ब्याजदर १० प्रतिशतभन्दा कम हुनु हुँदैन ।

तरलता अभावपछि बैंकहरुले फागुनदेखि लागू हुनेगरी ब्याजदर बढाएसँगै सहकारीहरुले सन्दर्भ ब्याजदर १८ प्रतिशत लागू गर्नुपर्ने माग गर्दै आएका थिए । वाणिज्य बैंकहरुले फागुनदेखि मुद्दती निक्षेपमै ११. ०३ प्रतिशत ब्याज दिने गरेका छन् । बैंकहरुले दिने ब्याजदर बढेपछि सहकारीलाई पनि बचतमा ब्याजदर बढाउनुपर्ने बाध्यता थियो । बचतमा ब्याज बढाएपछि स्वतः ऋणको ब्याज अधिकतम सीमामा खुकुलो पार्न सहकारीहरुले माग गर्दै आएका थिए ।