News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

सीके राउतको हत्या गर्न सक्ने मन्त्री रेणु यादवको चेतावनी

काठमाडौँ । भौतिक पूर्वाधारमन्त्री रेणु यादवले रौतहटमा पुगेर आपत्तिजनक अभिव्यक्ति दिएकी छिन् । मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको गौर घटना दोहोरिएर हत्या गर्न सक्ने चेतावनी दिएकी हुन् ।

जनता समाजवादी पार्टीकी नेतृसमेत रहेकी मन्त्री याद‍वले बुधवार रौतहटको गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राउतलाई गौर घटना दोहोरिन सक्ने भएकाले सचेत रहन चेतावनी समेत दिइन् ।

सीके राउतको सचिवालयले सार्वजनिक गरेको भिडियोमा मन्त्री यादवले हिन्दी भाषामा हिंसा भड्काउने अभिव्यक्ति दिँदै इतिहासलाई नभुल्न सीके राउतलाई चेतावनी दिएकी छन् ।

तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले एकै ठाउँमा कार्यक्रम राखेपछि ०६३ चैत ७ गते रौतहटको गौरमा २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या भएको थियो । यो घटनालाई ‘गौर हत्याकाण्ड’ भनेर चिनिन्छ ।

वि.स‌ं. २०६३ मा जारी भएको अन्तरिम संविधान जलाएर मधेश आन्दोलन थालेको उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम आन्दोलनमा रहेकै बेला उक्त हत्याकाण्ड भएको थियो ।

यादवकै निर्देशनमा रौतहटमा उनका कार्यकर्ताले माओवादी कार्यकर्तालाई निर्मम हत्या गरेको तत्कालीन माओवादीले दाबी गरेको थियो ।अहिले फोरम र माओवादी दुवै सत्तारुढ गठबन्धनका दुई प्रमुख घटक हुन् ।

गत वर्ष ‘गौर हत्याकाण्ड’ का पीडित परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपेन्द्र यादवको निर्देशनमा घटना भएकाले उनीमाथि कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । भौतिक पूर्वाधारमन्त्री रेणु यादव बुधवार कार्यक्रममा जानुअघि सीके राउतका कार्यकर्ताले कालो झण्डा देखाएका थिए ।