News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार समाचार

फेरि फैलिँदै कोरोना, महाधिवेशनपछि प्रचण्डसहित माओवादी नेताहरुमा संक्रमण पुष्टि

काठमाडौँ । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनपछि पार्टीमा नेताहरुमा कोरोना संक्रमण देखिन थालेको छ । कतिपय नेता कार्यकर्ता अस्वस्थ भइ आरामरत रहेको अवस्था छ । माओवादीको पुस ११ देखि १८ गतेसम्म प्रज्ञा भवन कमलादीमा महाधिवेशन चलेको थियो ।

देशभरबाट १७४२ जना प्रतिनिधि सहभागी भएको माओवादीको सोही राष्ट्रिय महाधिवेशन स्वास्थ्यका दृष्टिकोणले महँगो सावित भएको छ । ८ दिनसम्म एउटै हलमा पार्टी अध्यक्ष प्रचण्डको प्रतिवेदन र नेता देव गुरुङको विधान संशोधन प्रस्तावको छलफलदेखि नेतृत्व चयनमा नेताहरु जुटेका थिए ।

महाधिवेशन यस्तो बेलामा थियो कि देशभर कोरोना संक्रमण बढ्दै थियो भने नयाँ भेरियन्ट ओमिक्रोम समेत छिटपुट रुपमा देखिन थालेको थियो । पर्याप्त स्वास्थ्य मापदण्ड पालना हुन नसकेको माओवादीको सोही महाधिवेशनपछि नेताहरुमा धमाधम कोरोना संक्रमण देखिन थालेको छ ।

यहीबीचमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझ पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोभिड पोजेटिभ पाइएको उनको निजी सचिवालयले जानकारी दिएको छ । प्रचण्ड अहिले आफ्नै निजी निवासमा होम आइसोलेसनमा छन् । प्रचण्डसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि उनको निजी सचिवालयले भनेको छ । प्रचण्डले दुई दिन अघि देखिनै भेटघाट बन्द गरेका थिए ।

यस्तै अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना पुष्टि भएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोना परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्ती १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु ।’

यस्तै केन्द्रीय सदस्य सुवोध श्रीर्पालीलाई पनि कोरोना संक्रमण देखिएको छ भने प्रचण्डकै स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना पुष्टि भएको छ । उसो त महाधिवेशनपछि कैयन नेता कार्यकर्ताले स्वास्थ्य ठीक नभएको भन्दै सामाजिक सञ्जालमा लेखेको पाइएको छ ।

यसैबीच माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोनाभाइरस संक्रमण भएको छ । मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेल बाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको हो । पुस महिनामा कोरोना संक्रमितको जीन सिक्वेन्सिङ गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तो पृष्ठभूमिमा शुक्रबार नै कोरोनाको बढ्दो संक्रमणका सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) मा छलफल भएको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भएको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिए ।

गृहमन्त्री खाणका अनुसार बैठकले कोरोनाको बढ्दो संक्रमणलाई नियन्त्रण र रोकथामका लागि थप सजकता अपनाउने निर्णय गरेको छ । निर्माणाधिन स्वास्थ्य संरचना तुरुन्त बनाउने र बोर्डरबाट भित्रिने नेपालीहरुको पिसिआर र एन्टिजेन टेस्टको दायरा बढाउने गरेर निर्णय भएको उनको भनाइ छ ।