News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘मुलुकलाई समृद्ध बनाउन समाजवाद लक्ष्यका साथ हामी अघि बढेका छौँ’: पूर्वप्रधानमन्त्री नेपाल

लमजुङ, १७ पुस । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुक समृद्ध बनाउनका लागि आफ्नो पार्टी समाजवाद लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ । आज लमजुङ बेँसीशहर नगरपालिका–८ मा नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी लमजुङद्वारा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले असल भावनासहित समृद्धिको यात्रामा अघि विश्वास दिलाउनुभयो । उहाँले जनताको जीवन खुशी र सुखी बनाउने लक्ष्यका चाँडै पूरा हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “आधुनिक सीप, क्षमता प्रविधिका साथमा सिर्जनात्मक काम गर्ने र अरुले गर्न नसकेको काम गर्नेछु ।” त्यस्तै उहाँले जनता र देशको सेवा लाग्ने आफ्नो पार्टी भएकाले जनता र देशको सेवामा नलाग्नेलाई आफ्नो पार्टीमा ठाउँ नरहेको बताउनुभयो । अध्यक्ष नेपालले आफ्नो पार्टीको सिद्धान्त नै लोकतान्त्रिक मूल्य मान्यतालाई सम्मान गर्ने रहेको बताउनुभयो । एकीकृत समाजवादीले यतिबेला सङ्गठन विस्तारमा जोड दिँदै अघि बढ्ने क्रममा हालसम्म ७६ जिल्लामा र ५०० पालिकामा र छ हजार ७०० वडामा सङ्गठन निर्माण गरिसकेको उहाँको भनाइ छ ।

सङ्गठन विस्तारमा लागेकाले विचार प्रष्ट पारेर अघि बढ्न कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । सबैको सुरक्षा गर्ने एकीकृत समाजवादी पार्टीले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षालाई प्राथमिकतामा राखेर अघि बढेको नेता नेपालले बताउनुभयो । त्यस्तै नेता नेपालले आगामी चुनावसम्मै गठबन्धन सरकार अघि बढ्ने बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार ‘किसान’ श्रेष्ठले वैदेशिक रोजगारमा जाने युवाका लागि सहज वातावतरण र व्यवस्थित बनाउने बताउनुभयो । उहाँले रोजगारीको सिलसिलादेखि श्रम रोजगार तथा सामाजिक मन्त्रालयले लमजुङ जिल्लालाई पहिलो प्राथमिकतामा राख्नेसमेत बताउनुभयो । मन्त्री श्रेष्ठले आफ्नो पार्टी विस्तारै सङ्गठन विस्तार गर्दै अघि बढेकाले आगामी दिनमा देशकै सबैभन्दा ठूलो पार्टी बन्ने बताउनुभयो ।

डनन्यूज ट्रेन्डिङ