News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

एमसीसीबारे प्रचण्डको जवाफ– धेरै बोल्दा देश खतरातर्फ जान्छ

काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका महाधिवेशन प्रतिनिधिसामु मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे स्पष्ट जवाफ दिएनन् ।

गत सोमबार आफूले पेश गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको शुक्रबार जवाफ दिने क्रममा प्रचण्डले एमसीसीबारे अस्पष्ट जवाफ दिएका हुन् । एमसीसीबारे धेरै बोल्नु उपयुक्त नहुने भन्दै उनले एमसीसी पार लगाउनुपर्ने बताए ।

‘एमसीसीको बारेमा धेरै बोल्दा देश खतरातर्फ जाने सम्भावना भएको हुँदा धेरै बोल्नु परेन । सारमा जे प्रतिवेदनमा छ त्यही रुपमा बुझ्नुहोला । पार लगाइन्छ,’ उनले भने । एमसीसी पार लगाउने भन्ने प्रचण्डको जवाफको आशय पारित गर्ने वा खारेज गर्ने हो भन्ने स्पष्ट हुन नसकेको महाधिवेशन प्रतिनिधिहरू बताउँछन् ।

प्रचण्डको यस्तो जवाफले नेता कार्यकताहरु आक्रोशित बनेका छन् । माओवादी केन्द्रका तल्लो लेयरका नेता र कार्यकर्ताहरु एमसीसीको बिरोधमा छन् भने प्रचण्ड पास गर्ने दाउमा छन् । यस्तै प्रचण्डले विचारको निर्माण गर्न छुट्टै महाधिवेशन गर्ने घोषणा गरेका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा जारी पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा आफ्नो दस्तावेजमाथि उठेका प्रश्नमा जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिबाट आएका प्रश्न तथा सुझाव समेटेर ठोस विचार विकास गर्न छुट्टै महाधिवेशन गरिने जानकारी गराएका हुन् ।

वर्तमान महाधिवेशन विचारको बहसमा सुरुआत भएको र अर्को विशेष महाधिवेशनमा थप अध्ययन, अनुसन्धान र बहस गरेर विचारको विकास गरिने उनको भनाइ छ । महाधिवेशनले अध्यक्ष प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो । तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै पेश गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले केही बोलेनन् ।

गत आइतबार सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । उक्त प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए ।

तत् पश्चात शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएपछि प्रतिवेदन पारित गरेको हो । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।

डनन्यूज ट्रेन्डिङ