News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

ओलीलाई प्रचण्डको चुनौति – ‘ज्ञानेन्द्रसँगको सम्झौता प्रमाणित गरेर देखाउनुहोस्’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने आरोपको खण्डन गरेका छन् । उनले उक्त आरोप शतप्रतिशत झुटो भएको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबारको एक कार्यक्रममा प्रचण्ड र ज्ञानेन्द्रबीच भारतमा पाँच बुँदे सहमति भएको र दुईजना बीचको साँठगाँठमा उपद्रव मच्चाइएको अभिव्यक्ति दिएका थिए । बिहीबार विज्ञप्ति जारी गर्दै प्रचण्डले उक्त सहमति भएको कुरा प्रमाणित गर्न र प्रमाणित गर्न नसके माफी माग्न ओलीलाई चुनौती दिएका छन् ।

प्रचण्डले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’

प्रचण्डले अगाडि लेखेका छन्, ‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखापरेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् ।’

विज्ञप्तिमार्फत प्रचण्डले आफूले शेयर बजारको सन्दर्भमा गरेको विश्लेषण सही भएको र लगानीकर्ताको हितमा रहेको दाबी पनि गरेका छन् ।आफ्नो विश्लेषण पार्टी र लाखौं लगानीकर्ताहरुको हितको पक्षमा रहेको प्रचण्डको भनाइ छ ।

विहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन्, ‘आजको पुँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु ।’

हालै प्रचण्डले शेयरबजारको सन्दर्भमा दिएको अभिव्यक्तिलाई लिएर एउटा तप्काले विरोध जनाउँदै आएको छ । शेयर लगानीकर्ताहरुले प्रचण्डलाई ‘पुँजीबजार विरोधी’ भन्दै ‘नो भोट’ अभियानको घोषणा नै गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बिहीबार मनोनित केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा प्रचण्डको उक्त अभिव्यक्तिको विरोध जनाएका थिए ।

सो सन्दर्भमा प्रचण्डले विज्ञप्तिमा लेखेका छन्, ‘मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।’ यस्तो छ विज्ञप्ति

दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म, के. पी. ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।

साथै माक्र्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।

आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।”

डनन्यूज ट्रेन्डिङ