News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

बेपत्ताको अवस्था सार्वजनिक गर्न माग गर्दै अदालतमा परमादेश रिट दर्ता

रुपन्देही, २१ मङ्सिर । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका परिवारका आफन्तले बेपत्ताको अवस्था सार्वजनिक गर्न माग गर्दै अदालतमा परमादेश रिट दर्ता गरेका छन् ।

रुपन्देहीको रोहिणी गाउँपालिका–५ का बुधु पासीले आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा परमादेश रिट दर्ता गराउनुभएको हो । उहाँका दाजु रामपलट भन्ने लौटु पासीलाई २०६० चैत ११ मा बेपत्ता भएका थिए । साविक बोधबार गाविस वडा नम्बर ३ का पासीलाई तत्कालीन समयमा नेपाली सेनाको टोलीले माओवादी भएको आरोपमा नियन्त्रणमा लिएको थियो । सेनाले २०६१ जेठ २५ गते सोमबारका दिन अन्तिम भेट गर्न दिए पनि त्यसपछि नदिएको भाइ बुधुले बताउनुभयो ।

अहिलेसम्म पनि दाजुको अवस्था पत्ता नलागेपछि बुधुले भदौ १३ मा जिल्ला प्रहरी कार्यालयमा जाहेरी लिएर जानुभएको थियो । प्रहरीले जाहेरी नलिएपछि भदौ १६ मा जिल्ला न्यायाधिवक्ताको कार्यालयमा मुद्दा दर्ताको प्रयास गर्नुभएको थियो यद्यपि उक्त कार्यालयले समेत मुद्दा दर्ता र दरपिट दुवै नगरेपछि पीडित बुधु बाध्य भएर अदालत जानुभएको हो ।

यसअघि उहाँ पटकपटक जिल्ला प्रशाशन कार्यालय, स्थानीय शान्ति समितिलगायतमा आफन्तको अवस्था सार्वजनिक गर्न माग गर्नुभएको थियो । यद्यपि ती कार्यालयले बेपत्ता आयोगको काम भन्दै चासो दिएका थिएनन् । द्वन्द्वमा मारिएका दाजुको न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय र सरकारी न्यायाधिवक्ताको कार्यालयमा मुद्दा दर्ता नभएपछि बुधु अदालत गएको द्वन्द्व पीडितको पक्षमा वकालत गरिरहेकी अधिवक्ता इन्दिरा आचार्यले जानकारी दिनुभयो । अदालतले रिटमाथि आउँदो शुक्रबारका लागि पेशी तोकेको छ । विस्तृत शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ताको अवस्था सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म बेपत्ताको अवस्था सार्वजनिक भएको छैन ।

रुपन्देहीमा धनकुमारी थारुलगायत अन्य बेपत्ताका परिवारले समेत आफन्तको खोजी गरिदिन माग गर्दै प्रहरीमा जाहेरीको प्रयास गरेका थिए । यद्यपि प्रहरीले जाहेरी लिएको छैन ।

डनन्यूज ट्रेन्डिङ