पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीता कुमारी पौडेलले आह्वान गरेकी छिन् । प्रदेशसभाबाट पृथ्वीसुव्वा गुरुङले हिजो विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले २४ घण्टाको समय दिएकी छिन् ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार सभा सदस्यलाई सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आह्वान गरेकी हुन् । प्रदेश प्रमुख पौडेलले अर्को मन्त्रीमण्डल गठन नहुँदासम्म अहिलेकै सरकारलाई काम गर्ने जिम्मेवारी तोकेकी छिन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले आज एक विज्ञप्ति मार्फत् संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्ती गर्ने प्रयोजनका लागि २४ घण्टाको समय दिएको उल्लेख गरेका छन् ।
यता, आज विहानैदेखि विपक्षी गठबन्धनका प्रमुखहरु प्रदेशसभा हल दीपेन्द्र सभागृहमा छलफलमा जुटिरहेका थिए । प्रदेश प्रमुखबाट आह्वान हुने वित्तिकै जाने तयारीमा विपक्षी दलका नेताहरु रहेका छन् । आज बसेको प्रदेश सभा बैठकले मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ र राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त भएको घोषणा गरेको थियो । आज नै प्रदेश सभाले प्रदेश प्रमुख कार्यालयमा सो को जानकारी गराएपछि सरकार गठनका लागि आह्वान भएको हो ।
५९ सदस्यीय गण्डकी प्रदेश सभामा सरकार गठनका लागि अब ३० सांसद संख्या भए पुग्छ । जुन विपक्षी गठबन्धनसँग बलियो रुपमा छँदैछ । अर्का स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको पनि समर्थन रहेको विपक्षी गठबन्धनले यसपटक गण्डकीमा नयाँ सरकार गठन गर्ने देखिएको छ ।
विपक्षी गठबन्धनको सरकार राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा आज पदमुक्त भएपछि झनै विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीका दावेदार नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सरकार गठनका लागि बहुमतका साथ सशरिर प्रदेश प्रमुखकोमा उपस्थित हुन तयार रहेको बताए ।