पोखरा । जनयुद्धका क्रममा सहादत प्राप्त योद्धा, वेपत्ता, घाईते र सहिद परिवारको सपना पुरा गर्ने दृढ संकल्पसहित अखिल क्रान्तिकारी कास्कीले पोखरामा विभिन्न कार्यक्रमहरु गरेको छ ।
२६ औं जनयुद्ध दिवसको पूर्वसन्ध्यामा पोखरामा मसाल जुलुश प्रदर्शन गरेका अखिल क्रान्तिकारी कास्कीका नेताहरुले आज सहिद आवासीय स्कुलमा दीप प्रज्वलन कार्यक्रम गर्दै जनयुद्ध दिवस मनाएका हुन् ।
पृथ्वीनारायण क्याम्पस जिल्ला समिति र कास्की जिल्ला समितिद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि प्रकाश बाँस्तोला ‘मार्शल’ले तमाम सहिद, वेपत्ता र घाईते परिवारका सपना पुरा गर्न एकीकृत जनक्रान्तिमा होमिन सबैलाई आग्रह गर्नुभयो ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मार्शलले भन्नुभयो–‘जनयुद्धका नाममा भएको बलिदानीको अवमूल्यन गर्ने काम भईरहेको छ । यो हामीलाई कदापि सह्य छैन । जनयुद्धको उद्देश्य र लक्ष्य प्राप्तिका लागि हामी अन्तिमसम्म पनि लड्न तयार छौं ।’
अखिल क्रान्तिकारी कास्कीका जिल्ला संयोजक पुरन पुन र पृथ्वीनारायण क्याम्पस जिल्ला समिति अध्यक्ष उपेन्द्र लगायतले दलाल संसदीय व्यवस्था रहेसम्म देश र जनताको अधिकार सुनिश्चित नहुने दावी गर्नुभयो ।