News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘जनताले १८२ सिट दिए भन्दैमा मात्तिन पाइँदैन, भुइँ छाड्नु हुँदैन’: सभापति रवि लामिछाने

चितवन, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आम निर्वाचनमा प्राप्त सफलताको उन्मादमा नेता-कार्यकर्ता मात्तिन नहुने बताएका छन्। सामान्यतया वर्षौंदेखि संघर्ष गरेर पार्टी स्थापित हुने राजनीतिक परम्परा भए पनि रास्वपाको सन्दर्भमा पार्टी पूर्ण रूपमा बनिसक्नुअघि नै जनताले सरकार चलाउने अपार समर्थन सुम्पिएको उनले उल्लेख गरे।

‘हामीले पार्टी बनाउँदै गर्दा नेपाली जनताले अपार समर्थन दिए। लगभग दुईतिहाइ बहुमत दिएर सरकार चलाउने जिम्मेवारी सुम्पिए,’ लामिछानेले भने, ‘अर्थात् पार्टी बनिसक्नुअघि नै बलियो जनमत प्राप्त भयो, तर यसका आफ्नै चुनौतीहरू छन्।’

छुटेका राजनीतिक कक्षाहरू पढ्नैपर्छ
फरक-फरक पृष्ठभूमि र संस्कारबाट मानिसहरू जोडिएकाले रास्वपाले आफ्नै राजनीतिक प्रशिक्षण सञ्चालन गर्न पर्याप्त समय नपाएको लामिछानेले स्वीकार गरे। ‘जनताले हामीलाई एकै पटक आठ कक्षामा भर्ना गरिदिएका छन्। तर छुटेका कक्षाहरू नपढी आठबाट नौ कक्षामा पुग्न सकिँदैन, ती कक्षाहरू हामीले पढ्नैपर्छ,’ उनले थपे।

रास्वपाको सफलतालाई कतिपय विश्लेषक वा अन्य दलले उपहास गरे पनि त्यसको दोष अरूलाई नदिई आफैंले जिम्मेवारी लिने उनले बताए। ‘समाजले हाम्रो मूल्यांकन हाम्रै व्यवहार र गतिविधिका आधारमा गर्छ। ऐनाले हाम्रो अनुहार देखाएपछि ऐना देखाउनेमाथि झम्टिनु राजनीतिक चरित्र होइन,’ उनले भने।

बदलाको राजनीति नगर्न निर्देशन
जनताले १८२ सिट दिएपछि पार्टीभित्र कतै भुइँमा खुट्टा नरहेको र मात्तिएको प्रवृत्ति देखिन थालेको भन्दै उनले असन्तुष्टि जनाए। हिजो संघर्षका दिनमा पसल बन्द गराउने, मुद्दा लगाइदिने र दुःख दिने काम भए पनि आज पावर वा पहुँच पुगेका आधारमा बदला लिन नमिल्ने उनको स्पष्ट भनाइ थियो।

‘आज ‘म त घन्टीको मान्छे हुँ’ भन्दै प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दिन थाल्यौं भने त्यो चरित्रले धेरै टाढा पुर्‍याउँदैन,’ लामिछानेले भने, ‘जनताले अत्यधिक मत दिएर पठाएको ठालु बन्नका लागि होइन, अझ बढी सेवा गर भन्नका लागि हो।’

पार्टीभित्र इर्ष्या र घमण्ड दुवै गलत
आफ्नै साथी सांसद हुँदा इर्ष्या गर्ने र सांसद भइसकेकाहरूले साना कार्यकर्तालाई नचिने जस्तो गर्ने दुवै प्रवृत्ति गलत रहेको उनले औंल्याए। ‘हाम्रा हातमा पुलिस छ, हाम्रा हातमा सिडिओ छन् भन्ने दम्भ त्याग्नुपर्छ,’ उनले भने।

साथै, आगामी स्थानीय चुनावलाई लिएर तल्ला तहका वडा अध्यक्ष बन्न कोही इच्छुक नदेखिएको र सबैलाई मेयर वा माननीय मात्रै बन्न मन लागेको भन्दै उनले व्यंग्य गरे। “मैले वडा अध्यक्षका लागि आवेदन दिएको देखेको छैन। सबैलाई एकै पटक मेयर बन्नु छ। मलाई त कहिलेकाहीँ लाग्छ, अब राजीनामा दिएर आफैं वडा अध्यक्षको चुनाव लड्नुपर्ला कि!”

निष्ठा र विधिको शासनमा जोड
कांग्रेस र कम्युनिस्टका पुराना नेताहरूले दशकौंसम्म निष्ठाको राजनीति गरेको उदाहरण दिँदै उनले भने, ‘टिकट पाइनँ भने पार्टी छाडिदिन्छु, आफ्नै उम्मेदवार हराइदिन्छु भन्ने राजनीतिक विचलन देखाउने हो भने निष्ठामा अडिन सकिँदैन।’

स्थानीय तहको चुनावका लागि पार्टीले विधिसम्मत र पारदर्शी ‘क्यान्डिडेट क्लब’ अपनाएको जानकारी दिँदै नेताको नजिक भएकै आधारमा टिकट नपाइने उनले स्पष्ट पारे।

नेपाली राजनीतिमा योगदान दिएका जगन्नाथ पौडेलको निष्ठाको प्रशंसा गर्दै लामिछानेले भने, ‘उनी कुनै अपेक्षा राखेर आएका होइनन्, हिजो अप्ठ्यारो पर्दा साथ दिए। हामीले यसबाट केही सिक्नैपर्छ।’

लोकतन्त्रभन्दा ठूलो केही छैन
अन्तमा, आफ्नो सरकारको विरोधमा नभई जिम्मेवारीबोधका साथ बोलिरहेको बताउँदै लामिछानेले लोकतन्त्र प्राप्तिका लागि विगतमा मानिसहरूले रगत बगाएको र ज्यान गुमाएको स्मरण गरे। ‘आज हामीले प्राप्त गरेको स्वतन्त्रता घन्टी बजाउँदै हिँडेर वा ‘रवि दाइ हाई’ भन्दै प्राप्त भएको होइन। यसका लागि मानिसहरूले ज्यान गुमाएका छन्। त्यसैले लोकतन्त्रभन्दा ठूलो मेरा लागि केही पनि छैन।’