News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डन न्यूज खोज प्रमुख समाचार

आइजिपी डा. मनोजकुमार केसीले सम्हाले प्रहरी कमान्ड

काठमाडौं, १८ कार्तिक । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले मंगलबार गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह ग्रहण गरेपछि प्रहरी प्रधान कार्यालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। उनलाई एआईजी, डीआईजीलगायत उच्च पदाधिकारीहरूले स्वागत गरेका थिए।

सरकारले पूर्व महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा जिम्मेवारी दिएर डा. केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो। नियुक्तिपछि डा. केसीले संविधान र कानुनप्रति अविचलित रहँदै नागरिकको सुरक्षा तथा सम्मानलाई सर्वोपरि राख्ने, संगठनको मर्यादा र निष्पक्षतामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो कार्यकालको मूल्यांकन नेपाली जनतालाई के दिन सकियो भन्ने आधारमा हुने बताए।

पदभार ग्रहणपछि प्रहरी अधिकारीहरूलाई निर्देशन दिँदै डा. केसीले साइबर ठगी, वित्तीय अपराध, क्रिप्टोकरेन्सी कारोबार, डिपफेक र भ्रामक सूचनालाई गम्भीर चुनौतीका रूपमा औंल्याए। विपत् व्यवस्थापनमा प्रहरी क्षमता सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरे। स्रोतसाधन र भवनको अभाव, लामो कार्यघण्टा तथा सरुवा-बढुवामा निष्पक्षतालगायत आन्तरिक चुनौतीहरूलाई प्रणालीगत सुधारमार्फत सम्बोधन गर्ने बताए।

‘सशस्त्र द्वन्द्व, भूकम्प, कोभिड महामारी र शान्ति मिसनहरूमा नेपाल प्रहरीले आफ्नो क्षमता प्रमाणित गरिसकेको छ। हामीसँग अनुभव, जनशक्ति र सेवा गर्ने इच्छाशक्ति छ। यसका लागि जनशक्तिलाई विशिष्टीकृत र मनोबलयुक्त बनाउनुपर्छ,’ उनले भने। प्रहरी कर्मचारीका गुनासो सम्बोधनलाई प्राथमिकतामा राखेर तत्काल संयन्त्र कार्यान्वयनमा ल्याउने र अन्य योजनाहरू क्रमशः लागू गर्दै जाने उनको योजना छ।

आधुनिक प्रहरीमा जनतासँगको सम्बन्ध महत्त्वपूर्ण स्रोत भएको उल्लेख गर्दै डा. केसीले आवश्यक स्रोतसाधन, कानुनी स्पष्टता, कार्यगत स्वायत्तता र प्रहरीलाई अनावश्यक प्रभावबाट मुक्त राख्न नेपाल सरकारसँग सहयोगको आग्रह गरेका छन्।