News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डन न्यूज खोज प्रमुख समाचार राजनीति

डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक

काठमाडौं, १८ कार्तिक । सरकारले बुधबार दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर अपराध अनुसन्धान विभाग प्रमुख एआईजी डा. मनोज केसीलाई नेपाल प्रहरीको ३४औं महानिरीक्षक नियुक्त गरेको छ। मन्त्रिपरिषद्को निर्णयसँगै कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरिएको छ।

कार्कीको कार्यकाल २७ चैत २०८४ सम्म थियो। अझै करिब डेढ वर्ष सेवा अवधि बाँकी रहँदा सरकारले उनलाई जिम्मेवारीबाट हटाएको हो। एआईजी वरिष्ठता क्रममा दोस्रो स्थानका राजन अधिकारीलाई पनि पछि पार्दै तेस्रो स्थानका केसीलाई आईजीपी बनाइएको छ।

केसी र कार्की एउटै ब्याचका हुन्। दुवै २८ चैत २०५४ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए। केसीको बढुवाक्रम यस प्रकार छः २६ मंसिर २०६६ मा डीएसपी, १९ साउन २०७४ मा एसपी, ३ साउन २०७९ मा एसएसपी, १३ जेठ २०८१ मा डीआईजी र ११ वैशाख २०८२ मा एआईजी।

नवनियुक्त महानिरीक्षक अपराध अनुसन्धानमा लामो अनुभव राख्छन्। उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख रहँदा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई निर्णायक मोड दिएका थिए। २०७९ चैत १२ मा गिरोहका मुख्य सदस्यहरू केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गर्ने टोलीको नेतृत्व उनले नै गरेका थिए। त्यसपछि अनुसन्धान तत्कालीन गृहसचिव र पूर्वगृहमन्त्री बालकृष्ण खाणसम्म पुगेको थियो। खाणलाई पक्राउ गर्ने प्रहरी टोलीको नेतृत्व पनि केसीले गरेका थिए।

केसीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), विशेष ब्युरो, प्रदेश समन्वय विभाग, प्रहरी एकेडेमी, मोरङ र रूपन्देही जिल्ला प्रहरी कार्यालयलगायत विभिन्न जिम्मेवारी सम्हालेका छन्। सीआईबी प्रमुख रहँदा पर्यटकीय नक्कली उद्धार ठगी, स्मार्ट टेलिकम, धितोपत्र तथा बिमा ठगी, क्रिप्टोकरेन्सी अपराध र सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानहरू उनकै नेतृत्वमा अघि बढेका थिए।

प्राज्ञिक पृष्ठभूमितर्फ केसीले कम्बोडियाको पन्नासस्त्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरणमा विद्यावारिधि गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा पन्नासस्त्रबाट व्यावहारिक द्वन्द्व रूपान्तरणमा एमएम हासिल गरेका छन्। उनी नेपाल प्रहरी स्टाफ कलेजका संस्थापक निर्देशक हुन् र प्रहरी विज्ञानमा स्नातकोत्तर पाठ्यक्रम निर्माणमा भूमिका खेलेका थिए।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र हाइटीमा सुरक्षा अधिकृतका रूपमा खटिएका केसीले फ्रान्सेली र स्पेनी भाषामा पनि दख्खल राख्छन्। ‘इन्हान्सिङ पुलिसिङ इन नेपाल’ र संगठित अपराध नियन्त्रणसम्बन्धी दुई पुस्तकका लेखक समेत हुन्। करिब २८ वर्षको प्रहरी सेवापछि केसी अब संगठनको सर्वोच्च नेतृत्वमा पुगेका छन्।