News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला

नुवाकोट, १६ भदौं । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। भदौ १० गते बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाएकाहरूको ठूलो संख्यामा शव एउटै घरभित्र भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले जानकारी दिएका छन्।

एसपी रेग्मीका अनुसार शवको संख्या अझै यकिन हुन सकेको छैन। ‘बेत्रावतीस्थित एउटै पुरिएको घरमा धेरै वटा शव एउटै कोठाभित्र फेला परेको छ। पानी परेको र राति भइसकेकाले शव कतिवटा छन् भन्ने एकिन भने भइसकेको छैन,’ उनले भने। विश्वस्त स्रोतबाट प्राप्त तस्वीरमा करिब दुई दर्जन शव एउटै कोठाभित्र असरल्ल अवस्थामा देखिएका छन्।

विदुर नगरपालिकाका वडा सदस्य मंगल तामाङले उक्त घरमा २२ वटा शव रहेको बताए। ‘आज २२ जनाको शव एउटै घरमा फेला पर्‍यो। घण्टी घरभन्दा माथिको ठूलो घरमा हो। ड्रोन पठाएर हेर्न आग्रह गरेका थियौं,’ तामाङले भने। आज थप सुरक्षाकर्मीसहितको टोली घरमा पुग्दा ठूलो संख्यामा शव भेटिएको उनले जनाए। ‘यो घरबाट आज पाँच–छ वटा शव निकालियो। अरू त्यहीँ छन्। अस्ति र हिजो प्रयास गर्दा नसकिएको थियो। आज सशस्त्र प्रहरी गएपछि धेरै भेटियो। १६ वटा शव अझै त्यहीँ छन्। धेरै शव चिन्न नसक्ने अवस्थामा छन्,’ उनले थपे। प्रहरीका अनुसार मंगलबार बिहान उक्त घरमा पुनः उद्धार र खोजको काम अघि बढाइनेछ।

रसुवा बाढीबाट सोमबार रातिसम्म ९७४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। राति आठ बजेसम्म फेला परेका शवमध्ये २८ बालक, ३५ बालिका, २०९ महिला र ३८२ पुरुष छन्। यसैगरी ३२० शवको आंशिक अंग मात्र भेटिएको छ। हालसम्म ९२७ शवको लासमुचुल्का भएको र ५१ शव परिवारलाई हस्तान्तरण गरिएको प्रहरीले जानकारी दिएको छ।