News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु

✎ वासुदेव मिश्र

कास्कीमा पत्रकारिताको जग बसाउने स्वर्गीय केशवराज पराजुली हक्की र क्रान्तिकारी हुनुहुन्थ्यो । राजनीति, शिक्षण, प्रेस सञ्चालन जस्ता अनेक क्षेत्रमा उहाँको उल्लेख्य योगदान छ ।

केशव गुरुसँग पहिलो साक्षात्कार
२०५७ माघ पहिलो साता, तत्कालीन जनमत दैनिकको एउटा विज्ञापनमा मेरो आँखा पर्यो । संवाददाताको खोजी गरेको त्यो विज्ञापन पछ्याउँदै म महेन्द्रपुलमा रहेको जनमत कार्यालय पुगेको थिएँ । कार्यालयमा दौरा–सुरुवाल र जुवारीकोटमा ढाँटिएका एक आकर्षक व्यक्तित्व पत्रिकाकै नछापिएको कागजमा केही लेख्दै गरेको देखियो । मैले शिष्टाचार जताएँ । उहाँले पुलुक्क मेरो अनुहारमा हेरेर नम्रतापूर्वक शिष्टाचार फर्काउनुभयो । मैले विज्ञापनको कुरा निकालें । उहाँले अर्को कोठामा रहेका व्यक्तिसँग भेट्न संकेत गर्नुभयो ।

पत्रकारिताको भेउ नै नपाएको मलाई दोस्रा व्यक्तिले ’समाचार लेख्न सक्छौ ?’ भन्ने प्रश्न गर्नुभयो । मैले सक्दो आत्मविश्वास बन्दै ’सक्छु, केही लेख लेखेको छु’ भनें । पढाइ अनि थर, ठेगाना सोधनी भयो । माओवादीहरूले भर्खरै कोचिङ सेन्टर बन्द गरेको प्रसङ्ग उफ्काउँदै उहाँले त्यसलाई समाचार बनाउन भन्नुभयो । मेरो प्रयोगात्मक कक्षा सुरु भइहाल्यो । म कुदें । साँझ समाचार तयार पारी बुझाएँ । छापिन्छ भन्नेचाहिँ विश्वास थिएन । भोलिपल्ट पत्रिका हेर्दा भित्री पृष्ठमा समाचार भेटियो ।

उत्साही बनेर जनमत कार्यालय गएँ । काम दिने व्यक्तिले भन्नुभयो, ‘नाम नलेखेरै दिएका रैछौ । अंग पुगेको थिएन है !’ त्यसलगत्तै प्रकाशक शंकर श्रेष्ठको रोहवरमा मेरो बेतनको कुरा भयो । स्कुल पढाएर आएको मान्छे ! आधाभन्दा पनि आधा तलबलाई मैले स्वीकारें, जनमतसँग जोडिएँ । अंग्रेजी साहित्यको विद्यार्थी म, रिपोर्टरसहित प्रुफ हेर्ने जिम्मेवारी मिल्यो । बल्ल थाहा भयो–पहिलो व्यक्ति पत्रिकाका प्रधान सम्पादक केशवराज पराजुली हुनुहुँदो रहेछ (सम्मानस्वरुप कार्यालयमा सबैले गुरु भनेर बोलाउने) । दोस्रोचाहिँ सम्पादक नारायण कार्की ।

त्यो बेला पोखरामा नेपाली कांग्रेसको दशौँ महाधिवेशन चलिरहेको थियो । केशव गुरु कट्टर कांग्रेसी भएको मैले त्यही बेला चाल पाएँ । उता, सम्पादक नारायण कार्की बिबिसी नेपाली सेवाको संवाददाता र सहसम्पादक गंगाधर पराजुलीको कान्तिपुरमा आवद्धता । सबै व्यस्त ! २०५७ को माघ ६ देखि ९ गते सम्म चलेको महाधिवेशनले गिरिजाप्रसाद कोइरालालाई सभापति चुन्यो । गोविन्दराज जोशीदेखि पोखराकै सभापति शुक्रराज शर्मासमेत पराजित भएको त्यो महाधिवेशनको साङ्गे भएपछि चाहिँ केशव गुरु कार्यालयमै रहनुहुन्थ्यो । अपराह्नतिर उहाँ सम्पादकीय लेख घोरिनुहुन्थ्यो । लेख्ने कपीचाहिँ प्रेसले छाप्न बिर्सेको पत्रिकाकै पाना देखिन्थ्यो । कहिले कहिले लेख्दालेख्दै केशव गुरु त्यो पानोलाई जोडले कोर्दै र च्यातेर मिल्काउनुहुन्थ्यो ।

‘चाहिने जो, मुड जो भएन,’ यो उहाँको थेगो हुन्थ्यो । त्यसपछि बाहिर निस्कने र चुरोट सल्काउने क्रम चल्थ्यो । भित्र पस्दा मुखमा पान वा सुपारी हुन्थ्यो । त्यो उपक्रम लामो समयसम्म रहेन । जनमतसँगै पोखरेली र पोखरापत्र मिलाएर ’जनमत’ निकाल्ने गरी ३ वटा प्रकाशन गृहबीच सहमति बनेछ । केशव गुरु जनमत नियमित भएकोमा खुसी तर त्यसमा सामेल हुनचाहिँ नमानेको थाहा भयो । हामी गुरुलाई त्यहीँ छाडेर ८ पृष्ठ निस्कने घोषणा गरिएको जनमतमा स्थानान्तरण भयौँ ।

त्यसउप्रान्त केशव गुरुसँग बेला बेला भेट भइरहन्थ्यो । जनमत लामो समय टिकेन । जनमतसँग केशव गुरुको अगाध प्रेम थियो । फेवा प्रकाशन प्रालिबाट प्रकाशित हुने जनमत बन्द भएपछि केशव गुरुर्कै सम्पादकत्वमा पुनः जनमत प्रकाशन भयो, तर त्यो पनि लामो चलेन ।
अखबारसँग केशव गुरुको असाध्य लगाव । बिहानै महेन्द्रपुलमा रहेको गोरखापत्र बाजे (चन्द्रकान्त पौडेल) कहाँ आउने, अखबार पढ्ने र आफूले रोजेको पत्रिका बेरेर घर फर्कने उहाँको दिनचर्या थियो । जनमतसँग मेरो पनि प्रेम थियो । पछि गुरुसँग लामो भलाकुसारी हुन थाल्यो । मैले नै एकपटक गुरुसँग पुनः जनमत प्रकाशन गर्ने प्रस्ताव गरेँ । गुरु उत्साही बन्नुभयो । फेवा प्रकाशन प्रालिको नाममा रहेको त्यो नाम फिर्ता ल्याउन प्रयास पनि गरेँ । व्यवस्थापनको ज्ञान नभएकाले पत्रिका प्रकाशनमा हात नहाल्न शुभेच्छुकले दिएको सुझावबारे म अगाडि बढ्न सकिनँ तर सोच त्यागेकै पनि थिइनँ । गुरुले भेट्न जानेहरूसँग मेरोबारे सोधखोज गर्दै भन्नुहुन्थ्यो रे, ‘चाहिने जो, मिश्रजी कहाँ गए ? अखबार निकाल्ने कुरा गर्दै थिए !’

गुरुको स्वास्थ्य बिग्रियो । बजारमा छापाको प्रभाव घट्दो थियो भने गुरु स्वयंलाई बिर्सने रोगले सताएकाले त्यो सप्रयासले मूर्तरुप लिन पाएन । गुरुको सुस्वास्थ्यको कामनासहित, उप्रान्त उहाँकै कुरा–

केशव गुरु : कलम क्रान्तिका नायक । चेतनाको झिल्को, पढाइको हुटहुटी ।

केशवराज पराजुली, पोखराको पण्डित परिवारमा १९९२ साल मंसिर १६ गते जन्भिनुभयो । पिता तुलसीप्रसाद धुरन्धर पण्डित हुनुहुन्थ्यो । जेठा दाजु मीनराजलाई पिताले काठमाडौँ पढ्न पठाउनुभयो, पछि बनारसबाट उहाँले शास्त्री गर्नुभयो । फर्केपछि मीनराज मास्टरीमा लाग्नुभयो । माहिला डम्मरू गृहस्थीमै रमाउनुभयो । कान्छा केशवलेले प्रारम्भिक अध्ययन घरमै गरेपछि केही समय विन्ध्यवासिनी स्थित पाठशालामा पनि पढ्नुभयो ।

नदीपुरकै भोलानाथ पराजुली (भोला गुरु) र अधिकारी गाउँका यदुनाथ अधिकारीसँग उहाँले अंग्रेजी सिक्नुभयो, स्वाध्ययन गर्नुभयो । बनारस गएर प्राइभेट परीक्षार्थीका रूपमा पहिले म्याट्रिक र पछि आइए परीक्षामा सामेल हुनुभयो । दुवै पटक सरासर उत्तीर्ण भएपछि बिएचाहिँ प्राइभेट परीक्षार्थीकै रूपमा त्रिभुवन विश्वविद्यालयबाट उत्तीर्ण गर्नुभएको थियो ।

’मीनराज दाइले बनारस बसेर पढ्नुभो । पछि मास्टरी काम गर्नुभयो । केशव दाइलाई पढ्ने रुचि लागेछ । उहाँको बनारस गएर पढ्ने धेरै इच्छा थियो । मामा (तुलसीप्रसाद) ले दिनुभएन । स्वाध्ययन गरेर बिए पास गर्नुभयो । पढाइ असाध्यै राम्रो, दिमाग तगडा । मैले अंग्रेजी उहाँसँगै पढेको,’ वरिष्ठ कलाकार तथा केशव गुरुका भान्जिभाइ (फुपुका छोरा) दुर्गा बराल ’वात्स्यायन’ सुनाउनुहुन्छ ।

म्याट्रिक गरेपछि उहाँलाई सरकारी जागिरको अफर आयो त्रिभुवन ग्राम विकास कार्यालयमा । तर, बा तुलसीप्रसादले आफूले भुक्तमान बेहोरेकाले छोरालाई सरकारी जागिरमा पठाउन चाहनुभएन । केशव गुरुले तिनताक काठमाडौँमा खुलेको ’नर्मल स्कुल’ तालिम लिनुभयो, जहाँ उहाँका साथीहरू हुनुहुन्थ्यो–भैरव अर्याल, निरविक्रम प्यासी आदि । तालिम लिएर आएपछि उहाँले आर्बा गएर स्कुल खोली त्यहाँ पढाउन थाल्नुभयो । नदीपुर घरबाट एकाबिहानै भात खाएर पैदल आर्बा पुगी पढाएर साँझ उहाँ घर फर्किनुहुन्थ्यो ।

ती दिन सम्झँदै वात्स्यायन भन्नुहुन्छ, ‘उहाँले शिक्षक भएर आर्बाको रतन पाण्डे प्राविमा पढाउनुभयो । झलकबहादुर नेपाली कांग्रेसका नेता थिए । उहाँ पनि नेपाली कांग्रेसमै । अहिलेको रतन पाण्डे माध्यमिक विद्यालयको स्थापना नै केशव दाइले गर्नुभएको हो । त्यसको उहाँ नै पहिलो शिक्षक हो । त्यसपछि मल्टिपर्पोज (हालको राष्ट्रिय मावि) स्कुल पढाउनु थाल्नु भयो । श्यामप्रसाद पन्त हेडसर हुनुहुन्थ्यो । पढाउँदा पढाउँदै राजनीतिमा बढी लाग्नुभयो । जगन्नाथ सिग्देलको समकालीन हो । उहाँकै संगतमा हिमदूत साप्ताहिकमा काम गर्नुभयो ।’

मल्टिपर्पोजमा पढाउँदै गर्दा उहाँले आदर्श पुस्तकालय सञ्चालनको जिम्मा लिएर चलाउन थाल्नुभयो । २००७ सालको आन्दोलनताका खुलेको पोखराको पहिलो पुस्तकालय यो केही समय राम्रै चलेर बन्दप्रायः भइरहेको थियो । पुस्तक पढ्न सौखिन केशव गुरुले बन्द भइरहेको पुस्तकालय पुनः सञ्चालन गर्नुभयो । उहाँलाई सघाउनेमा तिलकमान गुभाजू, नन्दकुमार श्रेष्ठ आदि हुनुहुन्थ्यो । २०१७ सालमा महेन्द्रले प्रजातन्त्रको हत्या गरेपछि तत्कालीन बडाहाकिम तेजवहादुर प्रसईको आदेशमा त्यो पुस्तकालय पनि बन्द भयो ।

इन्क्लाबका लागि पत्रकारिता
दाजु मीनराजसँग कान्छा भाइ केशवको पत्रकारिता यात्रा पनि जोडिन्छ । केशव गुरुका नजिकका मित्र कवि तेजनथ घिमिरेले कुनै बेला यो पक्तिकारलाई बताए अनुसार केशवका दाजु मीनराजसहितले २००६/०७ तिर नै हस्तलिखित पत्रिका ’नवयुग’ निकाल्नु हुन्थ्यो । त्यसलाई तत्कालीन अवस्थामा प्रतिष्ठित व्यवसायी तथा प्रजातन्त्र सेनानी प्रेमराज मुल्मी र पण्डित मुक्तिनाथ शर्माको सहयोग थियो ।

केशव गुरु सम्पादन–प्रकाशनमा संलग्न भएको सम्भवतः पहिलो परियोजना ‘शिक्षा–ज्योति’ थियो । पोखरामा स्थापित शिक्षक संघले २०१६ सालमा सो पत्रिका प्रकाशन गरेको थियो । ‘पोखरेली पत्रकारिता २०१७–२०४६’ शीर्षकको आफ्नो लेखमा यो पत्रिकाबारे उहाँले उल्लेख गर्नुभएको छ । शिक्षा–ज्योतिको सम्पादन मण्डलमा भोलानाथ पराजुली, खगेन्द्रराज रेग्मी र केशवराज पराजुली हुनुहुन्थ्यो ।

‘शिक्षा विकासमा योगदान गर्ने, बालमनोविज्ञान अनुसारको शिक्षण पद्धति अपनाउन शिक्षकलाई प्रेरित गर्ने, शिक्षण पेसालाई मर्यादित र आकर्षक बनाउने जस्ता उद्देश्य सो पत्रिकाले राखेको थियो,’ पराजुलीले लेख्नुभएको छ, ‘पञ्चायती व्यवस्था लागू भएपछि त्यो प्रयत्नलाई छिन्नभिन्न पारियो ।’

केशव गुरुपछि २०१७ सालमा खुलेको सगरमाथा संवाद समितिमा जोडिनुभयो । पोखराको पहिलो साप्ताहिक पत्रिका हिमदूतसँग पनि उहाँ २०१७ सालमै आबद्ध हुनुभयो । ‘केशव गुरुको पत्रकारिता हिमदूतबाट सुरु भयो तर उहाँको परिवारमा पहिलो पुँजीको पत्रकार भनेको मीनराज पराजुली नै मान्नु हुन्छ,’कवि तीर्थ श्रेष्ठ भन्नुहुन्छ, ‘पृथ्वीनारायण क्याम्पसमा नेपाली पढाउने भोलानाथ पराजुली गुरुको नेतृत्वमा गण्डकी साहित्य संस्थान नामको एउटा साहित्यिक संस्था थियो । त्यसले २०२२ सालमा ’वेणी’ नामको अर्धवार्षिक साहित्यिक पत्रिका निकालेको थियो । त्यसको सम्पादन मण्डलमा भोलानाथ पराजुली, तेजनथ घिमिरे र केशवराज पराजुली रहनु भएको मलाई सम्झना छ ।’

वेणीबाहेक मल्टिपर्पोज स्कुलले प्रकाशन गरेको ’निर्भरिणी’ नाउँको म्यागेजिनको सम्पादनमा पनि केशव गुरु सामेल हुनुहुन्थ्यो । दाजुजस्तै उहाँको संगत पनि पोखराको कुँडरका जगन्नाथ सिग्देलहरूसँग थियो । लमजुङ दुराडाँडाका श्रीकान्त अधिकारी जगन्नाथका मामा हुनुहुन्थ्यो । ’हलो क्रान्ति’का नायकहरू स्वाभाविक रूपले नेपाली कांग्रेससँग निकट थिए । जगन्नाथ पनि कांग्रेसी नै हुनुहुन्थ्यो ।

२०१५ सालका प्रतिनिधि सभा सदस्य अधिकारीकै प्रेरणामा जगन्नाथले २०१७ साल कात्तिक २६ गतेबाट ’हिमदूत’ साप्ताहिकको प्रकाशन पोखराबाट सुरु गर्नुभएको थियो ।

‘हिमदूत साप्ताहिक प्रकाशनको पछाडि राजनीतिक उद्देश्य थियो । त्यो उद्देश्यको प्रकट कारक त भर्खरै संस्थागत गरिएको प्रजातन्त्रलाई दिगो र दरो बनाउन नेपाली कांग्रेसको प्रगतिशील माध्यमबाट जनजीवनमा त्यसका जरा फिँजाउने थियो, त्यसको प्रच्छन्न (लुकेको) आशय आफू र आफ्नो पक्षलाई यस इलाकामा प्रतिस्थापित गर्ने थियो,’ केशव गुरुले लेख्नुभएको छ, ‘सम्पादक/प्रकाशक जगन्नाथ सिग्देल । उनी (जगन्नाथ) तर्कशील, चतुर, ढिठ एवं सबैका प्रिय पात्र पनि थिए ।’

भैरवटोलामा रहेको रामबहादुर बड्गामीको गंगा प्रेसमा हिमदूत छापिन्थ्यो । नजिकै घर भएका र जगन्नाथसँग मित्रता भएका केशवराज पराजुली र तेजनथ घिमिरे त्यसमा जोडिनुभयो । त्यसअघि नै २०१७ साल वैशाख ३० गते स्थापित सगरमाथा संवाद समितिको पोखरा संवाददाताका रूपमा काम थालिसक्नु भएका केशव गुरुलाई हिमदूत पत्रकारिता प्रयोगको अर्को ठाउँ बन्यो । तर, दुर्भाग्य, हिमदूत प्रकाशन भएको केही महिनापछि नै राजा महेन्द्रले प्रजातन्त्रको घाँटी निमोठे । तत्कालीन नेपाली कांग्रेसको नेतृत्व वृत्तमा शीर्षस्थ चार नेता सूर्यप्रसाद उपाध्याय पनि हुनुहुन्थ्यो । उपाध्यायलाई पनि जेल हालियो । सम्पादक सिग्देल बिलखबन्दमा पर्नुभयो । उप्रान्त तत्कालीन प्रधानपञ्च शिवबहादुर थापालाई लिएर बनारस जानुभयो, सुवर्ण शमशेरलाई भेटेपछि राजाको कदमको विरोधमा कांग्रेसले निकालेको पर्चा बोकेर फर्कनुभयो ।

केशव गुरुले लेखमा भन्नुभएको छ, ‘त्यसको दुई दिनपछि जिल्ला प्रशासक (बडाहाकिम)हरूको पजनी भयो । पोखरा नगरपालिकाका अध्यक्ष शिवबहादुर थापा बागलुड गाँडाको बडाहाकिममा नियुक्ति भएको समाचार रेडियोबाट प्रसारित भयो । कलकत्ता यात्राको ’प्रसाद’ गृहमन्त्री विश्वबन्धु थापालाई चढाइयो र पुरस्कार स्वरुप शिवबहादुर थापालाई बडाहाकिम पद प्राप्त भएको अनुमान सम्बद्ध मानिसहरूले सहजै लगाउने नै भए । यसले सम्पादकको मनमा अनिष्टको चीसोले छोयो । सम्पादकलाई सुवर्ण शमशेरले बचेर काम गर्ने सल्लाह दिएको उनले आफ्ना साथीहरूलाई बताएका थिए । राजनीतिक कार्यकर्ताका रूपमा उनले अरू कार्यकर्ताले पाए जस्तो छेक्थुन, धरपकड र यातना नपाए पनि पत्रिकाको प्रकाशनमा प्रशासनिक झमेला बेला बेलामा खेप्नुपरेको थियो । पत्रिकामा प्रकाशित सामग्रीप्रति सम्पादक, प्रकाशक जवाफदेही भए पनि प्रशासनले छापाखानालाई कारबाही गर्दथ्यो । सकेसम्म प्रकाशन नचलोस् भन्ने उद्देश्यले पोखरामा एउटा मात्र छापाखाना भएको, पत्रिकामाथि कारबाही गर्दा बढी हल्ला हुने, अदालतबाट प्रशासनिक निर्णय बदर पनि हुन सक्ने भएकाले घुमाउरो तरिकाले छापाखानाका मालिकमाथि कारबाही गरेर त्यसको असर पत्रिका माथि पार्ने प्रयत्न पटक पटक भए ।’

तत्कालीन प्रशासनले दुई पटक छाप्ने प्रेसको दर्ता नै खारेज गरेको केशव गुरुको अनुभव थियो । गंगा प्रेसको दर्ता खारेज गरिएपछि छापाखानाको नाम लक्ष्मी प्रेस बन्यो । अर्को पटक लक्ष्मी प्रेस पनि खारेज भएपछि त्यही छापाखाना बड्गामी प्रेस भएको थियो । ‘पत्रिकामा छापिएका समाचार औ सम्पादकीय टिप्पणीका कारण छापाखानाका सञ्चालकले बयान दिने, तारेख बोक्ने आदि झमेला खेप्नु परेको थियो,’ पोखरा छापाखाना नामक लेखमा उहाँले लेख्नुभएको छ ।

पत्रिकाका सम्पादक/प्रकाशक जगन्नाथ सिग्देलको असमय निधन भयो । केशव गुरुले लेख्नुभएको छ, ‘साता, दस दिनको विषमज्वरको व्यथाले उनको प्राणान्त भयो । पोखरेली साराले शोक मनाए । हिमदूत अनाथ बन्यो । दिवगंत सम्पादक सिग्देलका मामा श्रीकान्त अधिकारी, सहयोगी र हितैषीहरूले जगन्नाथ सिग्देलको पार्थिव अवसान भए पनि उनको सिर्जना हिमदूतको प्रकाशनलाई निरन्तरता दिएर कीर्तिपताकालाई जीवन्त राख्नुपर्ने विचार गरे । त्यसपछि चित्राङ्गद सिग्देल प्रकाशक बने, ऋषि कोइराला सम्पादक भए र पत्रिकाको प्रकाशनलाई निरन्तरता दियो ।’

केशव गुरुको त्यो समाचार र प्रशासनको गिद्धेनजर
केशवराज पराजुली र तेजनथ घिमिरे हिमदूतमा संलग्न हुनुहुन्थ्यो । त्यही बेला पोखरामा कलेज खोल्ने अभियान सुरु भयो । कलेजका लागि जग्गाको खोजी गरियो । हाल पोखरा–१, बगरमा रहेको पृथ्वीनारायण कलेजको जग्गाको स्वामित्व पराजुलीहरूसँग थियो । तर, सबै पराजुलीहरू जग्गा दान दिने विषयमा सहमत थिएनन् । त्यसपछि तेजनथ घिमिरे र केशव गुरु मिलेर हिमदूतमा एउटा समाचार लेख्नुभयो ।

स्वर्गीय तेजनथ घिमिरेका अनुसार सो समाचारको शीर्षक थियो, ’पराजुलीहरूले कलेजलाई जग्गा दान दिने ।’ आफ्नो जग्गा गुमाउन नचाहने केही पराजुलीलाई सो कुरा पचेन । उनीहरू केशव पराजुलीकहाँ गुनासो बोकेर आए । त्यस बेला केशव गुरुले भनेका कुरा उद्धृत गर्दै तेजनथ गुरुले भन्नुभएको छ, ’पराजुली तिमीहरूमात्रै है र ? म पराजुली हैन र ? मैले जग्गा दिन पाउन्नँ ?’ जो–जसले क्याम्पसलाई जग्गा दिन चाहन्नौ, आफ्ना नाम–नामेसी लेखेर खण्डन पठाऊ, हामी पत्रिकामा निजहरूको जग्गा दिने निर्णयमा समर्थन छैन भनेर छापिटिउँला ।’

स्वर्गीय केशवराज पराजुली

उनीहरू फर्के । तर, कसैले खण्डन लेखेर ल्याएनन् । र, पराजुलीहरूको सो जग्गामा पोखराको उच्च शिक्षाको गहना पृथ्वी नारायण कलेज स्थापना भयो । त्यहाँ पराजुलीबाट घिमिरेले पनि जग्गा पाएका थिए । त्यही उपक्रममा घिमिरेले पनि क्याम्पसलाई जग्गा दिएका थिए रे ! हिमदूतमा संलग्न केशव गुरुले कसरी पञ्चायतले त्यस माथि गिद्धेनजर लगायो भन्ने पनि उल्लेख गर्नुभएको छ ।

२०१८ सालमा ’घुस कि के ?’ भन्ने शीर्षकमा हिमदूतमा अर्को समाचार छापिएछ । त्यो काण्ड तत्कालीन मालपोत कार्यालय कास्कीका डिठ्ठा केदार शर्मासँग जोडिएको थियो । शर्माले सम्पादकविरुद्ध मुद्दा हाल्नुभएछ । समाचार सत्य थियो । सम्पादकले अदालतमा ’समाचारको स्रोत खोल्न नमिल्ने’ जवाफ दिएपछि मुद्दा खारेज भयो ।

त्यस्तै, २०१९ सालमा हाल महेन्द्रपुल स्थित सेती नदीमाथि रहेको काठेपुल ७ फिट तल झार्ने निर्णय भएछ । केशव गुरुका अनुसार त्यसो गर्नु पछाडि स्थानीय व्यापारीको स्वार्थले काम गरेको थियो । पुल पुनर्निर्माण समितिका इन्जिनियरबाट सो कुरा थाहा पाएपछि ’पुल सात फिट तल’ शीर्षकमा हिमदूतले समाचार छाप्यो । समाचारबाट व्यापारीसँग रकम लिई बडाहाकिमले सो काम गरेको आशय प्रस्ट देखिएको थियो । समाचार पढेर आगो भएका बडाहाकिम लीलाराज विष्ट पत्रिका छाप्ने छापाखानामा गएर बेसरी बम्केछन् । छापाखानाकी आमाले सम्पादक ऋषि कोइरालासँग सो गुनासो गर्नुभएछ । बडाहाकिम र सम्पादकबीच संवाद भयो । र, बडाहाकिमले व्यापारीसँग लिएको केही रकम फिर्ता गरेपछि विवाद साम्य भयो ।

जनमत प्रकाशन
पञ्चायत कालमा पत्रिका प्रकाशनको अनुमति पाउन सजिलो थिएन । काठमाडौँमा पहुँच हुनेले प्रकाशन अनुमति पाए पनि मोफसलका निम्ति कठिन थियो । २०३८ सालतिर माधव शर्मा काठमाडौँबाट प्रेस लिएर पोखरा आउनुभयो । त्यो छापाखानाबाट छानबिन साप्ताहिक निस्कन थाल्यो ।

२०३६ सालको जनमतसंग्रहपछि वातावरण केही खुकुलो थियो । केशव गुरुले जनमत प्रकाशनका लागि निवेदन दिनुभयो । तर, प्रशासनले तत्काल अनुमति दिएन । केशव गुरु लेख्नुहुन्छः ’२०३६ सालमा निर्विकल्प भनिएको निर्दलीय पञ्चायतको जनमत संग्रहको घोषणा गरेर राजाबाट विकल्प खोजिनु इतिहासमा अपूर्व र अप्रत्याशित घटना थियो । यसले ध्रुवीकृत राजनीतिलाई चलखेल गर्न अरू सजिलो भयो । आफ्नो व्यवसाय गर्दै पहिलेदेखि भूमिगत नेपाली कांग्रेसको संगठनमा आवद्ध केशवराज पराजुलीले जनमत संग्रहमा बहुदल पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यले जनमत नामकै दैनिक समाचारपत्र चलाउने विचार गरी अनुमतिका लागि जिल्ला प्रशासनमा निवेदन दिएकामा जनमत संग्रहको परिणाम अनुसार संविधान सुधार भएर नयाँ सरकार सत्ताऽध भई त्यसले प्रेस र प्रकाशनसम्बन्धी ऐन नियम बनाएपछि मात्र अनुमति प्राप्त भयो । सुधारिएको पञ्चायतमा राजाको सक्रिय नेतृत्व र निर्दलीयता बरकरार रहेकाले जनमत संग्रहको परिणामलाई स्वीकार गरे पनि प्रजातन्त्रवादीको विमति कायमै रह्यो । बहुदलीय प्रजातन्त्रलाई लक्ष्य बनाएर २०३९ साल मार्गदेखि दैनिक जनमतको प्रकाशन सुरु भयो ।

दैनिक पत्रिका प्रकाशन गर्ने भएपछि केशव गुरुले औद्योगिक क्षेत्रमा रहेको विजय बजिमयको विजय छापाखाना किनेर आफ्नै घरमै ल्याएर ’हाम्रो छापाखाना’को नामबाट सञ्चालन गर्नुभयो । केशव गुरुको दक्षता समाचार र सम्पादकीयमा थियो । छापाखाना चलाउन काम माग्न हिँड्नुपर्ने हुन्थ्यो । केशव गुरुलाई पत्रिकाको सम्पादकको हैसियतमा काम माग्न जानै मन लागेन । पछि उहाँले छापाखाना बिक्री गर्नुभयो ।

त्यसो त केशव गुरुले त्यसअघि पनि छापाखानामा भाग्य नअजमाएको भने होइन । रामबहादुर, चीनबहादुर बड्गामी दाजुभाइहरूले नै कुनै बेला भारतीय छापाकल ल्याउनु भएको रहेछ । उहाँहरूले पुराना टाइप रिकास्ट गरी, नयाँ ३/४ थरी टाइप पनि थप्नुभयो । तर, आयस्तामा बढोत्तरी भएन । बड्गामीले २०२९ सालमा छापाखाना बेच्नुभयो । हिमदूतका सम्पादक/प्रकाशक चित्राङ्गद सिग्देल, केशवराज पराजुली र गायत्री अधिकारीको बराबर हिस्सेदारीमा त्यो प्रेस किनियो । महेन्द्रपुलमा हिमाली छापाखाना दर्ता गरी सञ्चालनमा समेत आयो । छापाखाना सञ्चालकको जिम्मेवारी चित्राङ्गदलाई नै सुम्पिएको थियो । छापाखाना आफ्नै भए पनि पत्रिकाको गुणस्तर अपेक्षित मात्रामा नबढेपछि सिग्देलले अरू हिस्सेदारको लगानी फिर्ता गरी एकलौटी बनाउनुभयो ।

पञ्चायती कालखण्डमा जनमत नियमित प्रकाशन भइरहेको थियो, २०५२ सालसम्म ।
जसोतसो केशव गुरु एक्लैले जनमत दैनिकको सम्पादक/प्रकाशकको जिम्मेवारी सम्हाल्नुभयो । पत्रिका प्रकाशन गर्दा लागेको ऋण तिर्न पैत्रिक सम्पत्ति पनि बेच्नुभयो । अझै पत्रिका चलाउन उहाँको दिमागमा चढेको भूत मरेको थिएन । २०५२ सालमा त्यसलाई चेतना सहकारी संस्थामार्फत सञ्चालन गर्ने सहमति बन्यो । त्यो बेला पत्रिकाको कार्यालय न्यूरोडमा थियो तर सोचेजस्तो भएन । महेन्द्रपुलमा सुदीप अफसेट प्रेस सञ्चालन गर्ने शंकर श्रेष्ठले पत्रिका प्रकाशनको जिम्मा लिनुभएको थियो ।

केशव गुरुले २०५२ देखि २०५७ सम्म जनमतका लागि लेखेका सम्पादकीयमध्ये करिब अढाई सय छानेर मार्टिन चौतारीले ’सम्पादकको कलम’ शीर्षकमा पुस्तक प्रकाशन गरेको छ । २०५७ मा यो पत्रिका पोखरापत्र र पोखरेली समाहित भए । पत्रिकाको मुखपृष्ठको सिरानमा ’जनमत, पोखरापत्र र पोखरेलीको संयुक्त प्रकाशन : जनमत दैनिक’ लेखिएको पत्रिका पनि धेरै टिकेन । त्यसो त, केशव गुरु यो ’मर्जर’प्रति उस्तो खुसी हुनुहुन्थेन । जनमत नमरोस् भन्ने उहाँको कामना थियो ।

पत्रकार र त्यो पत्रिका पसल !
वरिष्ठ कलाकार ’वात्स्यायन’का अनुसार केशवराज पराजुलीले कुनै समय पालिकेचोकमा ’हिमसन्देश गृह’ नाउँमा पत्रिका पसल खोल्नुभएको थियो । ‘हिमसन्देश गृहमा टाइम, न्युजविक, लाइफ जस्ता अन्तर्राष्ट्रिय म्यागेजिनका अतिरिक्त भारतीय दैनिक पत्रिकाहरू टाइम्स अफ इन्डिया, नवभारत टाइम्स, हिन्दुस्तान टाइम्स, पायोनिअर आदि र दिनमान, धर्मयुग जस्ता म्यागेजिन र अन्य थुप्रै पत्रिका एवं नेपाली पत्रपत्रिका पनि आउँथे । पछि त्यो पत्रिका पसल उहाँले दयाशंकर पालिके कहाँ सार्नुभयो,’ वात्स्यायन ती दिन सम्झँदै थप्नुहुन्छ, ‘उनलाई हकरको रूपमा गोरखापत्र बाजे (चन्द्रकान्त पौडेल)ले सघाए भने पसल सञ्चालनमा मित्र तेजनथ घिमिरेका सुपुत्र प्रकाश घिमिरेले पालो दिने काम गरे ।’

कलाकार प्रकाश घिमिरे आफू पिताको आज्ञाले हिमसन्देश गृह पुगेको बताउनुहुन्छ । “त्यो बेला नदीपुरमा नवप्रभातमा पौढ स्कुल थियो । म त्यहीँ पढ्थें । दिउँसो खाली नै थिएँ । २०३२ सालतिरको कुरा हुनुपर्छ । २०३७ सालतिर केशव गुरुकी आमा बित्नुभयो । गुरु किरिया बसेका बेला पत्रिका पसल बन्द भएपछि बुबाले पसल हेर्दै भन्नुभयो । चाबी लिएर गएँ । पत्रिकाको मूल्य मलाई थाहा थिएन । एयरपोर्टमा पत्रिका आउने, गएर ल्याउने काम गरेँ । स्टेसनरीको खात पनि रहेछ । मैले सबै ततेरै,’उहाँ भन्नुहुन्छ, ‘म त १३ दिनका लागि गएको, उहाँले त्यो १३ दिनपछि पनि (पसल) हेर्दिए हुन्थ्यो भन्ने कुरा गर्नुभएछ । म गएँ, म गएपछि उहाँले पसल नै छाडेर हिँड्न थाल्नुभयो । बेलुकी मलाई साह्रै हुने । म बन्द गरेर जाँदा गुरुसँग बाटोमा भेट हुने । बाटोबाटै मलाई फर्काउने । मलाई दुःख भएको थाहा नहुने । २ वर्षपछि म त्यहाँ छाडेर स्कुल (शिक्षणमा) गएँ ।’

कवि तीर्थ श्रेष्ठसँग पनि हिमसन्देश गृहको सम्झना छ । पोखरामा पत्रिका बिक्री बढाउन र पठन संस्कृति विकासमा हिमसन्देश गृहको ठूलो योगदान रहेको उहाँ औँल्याउनुहुन्छ । हिमसन्देश गृहमा काम गर्दागर्दै त्यहाँको पत्रिका बोकेर चन्द्रकान्त पौडेल (गोरखापत्र बाजे)ले हकर काम सुरु गर्नुभयो । उहाँको हेडलाइन पाठ गरेर पत्रपत्रिका बेच्ने बानीले पोखरामा पठन संस्कृति विकास भयो । ‘त्यो बेला म राष्ट्रपुकारमा काम गर्थेँ । विजय बजिमय समीक्षा र बद्रिविनोद प्रतीकले मातृभूमिमा काम गर्नुहुन्थ्यो । पोखराको पठन संस्कृति विकासमा उहाँ (केशव गुरु) को ठूलो योगदान छ,’ श्रेष्ठ भन्नुभयो ।

२०४२ सालमा सत्याग्रहका दौरान केशव गुरु ४ महिना जेल पर्नुभयो । केटाकेटी सानै थिए । पसल बन्द भयो । पत्रिका लाने ग्राहकले पैसा दिएनन्, तर बाँकी त तिर्नै पयो, ऋण लाग्यो । जग्गा बेचेर उहाँले त्यो बेलाको ऋण पुर्ताल गर्नुभयो ।

खाँट्टी कांग्रेस, दृढ कांग्रेस !
केशव गुरुले कहिले कांग्रेसको सदस्यता लिनुभयो, सो प्रस्ट छैन । तर, उहाँको परिवार ७ सालदेखि नै कांग्रेसमा आबद्ध थियो । पोखराका अग्रणी पुस्ताका कांग्रेसीहरू मुक्तिनाथ तिमिल्सिना, धर्मशिला, मीनबहादुर गुरुङ, प्रेमराज मुल्मी, करुणाविधि कोइराला, लीलाभक्त आचार्य लगायतसँग उहाँको हिमचिम थियो ।

हक्की र क्रान्तिकारी कांग्रेसी रूपमा चिनिने उहाँ २०१४ सालदेखि नै राजनीतिमा हुनुहुन्थ्यो । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई केशव गुरुले नै गण्डकी छात्र संघको सदस्यता दिनुभएको थियो । २०२८ साल वैशाख २९ र ३० गते गण्डकी छात्र संघको आयोजनामा पोखरामा प्रतियोगितात्मक साहित्य सम्मेलन आयोजनामा पनि केशव गुरु सक्रिय बन्नुभयो । २०३६ सालको जनमत संग्रहका बेलातिर करुणाविधि कोइरालाको संयोजकत्वमा गठित बहुदल प्रचार समितिमा पनि केशव गुरु सचिव हुनुहुन्थ्यो ।

२०३५ माघ २५ गते गठित कांग्रेसको नगर समिति संस्थापक सभापति केशव रेग्मीसँगको संगत र सहकार्यको चर्चा केशव गुरु स्वयंले रेग्मीको स्मृति ग्रन्थमा प्रकाशित आफ्नो लेखमा गर्नुभएको छ । केशव गुरुले लेख्नुभएको छ, ‘२०३६ सालले परिस्थितिमा किञ्चित खुकुलोपन ल्यायो । नामको अगाडि राजनीतिक दलहरूले प्रतिबन्धित शब्द लेखेर आफ्ना सांगठनिक गतिविधि चलाउन थाले । यो राजनीतिको विकासले केशव रेग्मीलाई पोखरा ल्यायो । हामी दाजुभाइ एकअर्कासँग सशरीर परिचित हुने अवसर प्राप्त भयो । उनी युवा विद्यार्थीबीच क्रियाशील रहे । उनी तरुण दलको अध्यक्ष पनि भए । म कांग्रेस जिल्ला संगठनमा आवद्ध थिएँ ।’

२०४२ जेठ १० गतेबाट सुरु भएको देशव्यापी सत्याग्रहमा केशव गुरु सामेल हुनुहुन्थ्यो । पञ्चायतको विरूद्धमा गिरफ्तारी दिनका लागि तमतयार भएर घरबाट निस्कनुभएका केशव गुरुले त्यो बेलाको प्रसङ्ग सम्झँदै यो पत्तिकारसँग भन्नुभएको थियो, “त्यो बेला हामी कांग्रेसीहरू साँघुको मुख (महेन्द्रपुल)मा साँझ–बिहान भेला हुन्थ्यौँ । त्यो बेलाको सत्याग्रहमा भाग लिँदा हामी २६ जनालाई बन्दी बनायो । प्रशासनले एकाध महिनापछि एक–दुई गर्दै थुनिएकालाई छाड्न थाल्यो । भदौ ४ गते म पनि मुक्त भएँ । कांग्रेसको पार्टी कार्यालय घेरेर हामीलाई पक्राउ गरिएको थियो ।“

कालान्तरमा केशव गुरु कांग्रेस निकट किसान संघ र प्रजातन्त्र सेनानी संघको नेतृत्वमा पनि पुग्नुभयो । सिद्धान्तको राजनीति गर्ने उहाँको पण्डित मुक्तिनाथ सँगमात्र नभएर कांग्रेस निर्माणमा खटिनुभएकी भिक्षु अनागरिका धर्मशिलासँग पनि उत्तिकै राम्रो संगत थियो ।

कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाट केशव गुरुलाई निष्ठाका पर्याय मान्नुहुन्छ । ‘हामीले त सँगै पढायौँ, उहाँ हक्की र निडर मान्छे हो । सत्याग्रहदेखि हरेक आन्दोलनमा उहाँको सहभागिता रहन्थ्यो, तर उहाँले पद खोजेको मलाई जानकारी छैन,’ रानाभाट सम्झनुहुन्छ ।

प्रधानपञ्चमा उम्मेदवारी
प्रतिबन्धित कांग्रेसले २०४३ सालमा स्थानीय चुनाव उपयोग गर्ने रणनीति लियो यद्यपि, चुनावमा सहभागिता किन भन्नेबारे कांग्रेसमा मतभिन्नता थियो । गणेशमान सिंह त्यो सहभागितालाई ’पञ्चायतको आउट पोस्ट क्याप्चर गर्न निम्ति’ भन्नुहुन्थ्यो भने गिरिजाप्रसाद कोइरालाले ’राजाको विकासको सदिच्छालाई सघाउनुपर्छ’ भन्दै चुनावको पक्षमा वकालत गर्नुभएको थियो ।

२०४३ सालको चैतमा नगर पञ्चायतको चुनाव थियो । पोखरा पनि प्रतिबन्धित नेपाली कांग्रेसको उम्मेदवार चयन गर्ने टोली बन्यो । त्यसको संयोजक केशव गुरु नै हुनुहुन्थ्यो । कतिपय बाठा नेता त्यो चुनावमा होमिन चाहन्नन्, अवस्था अप्ठेरो थियो । चुनाव लड्ने मान्छे नै नपाएपछि केशव गुरु स्वयं उम्मेदवार बन्नुपर्ने भयो ।

त्यो बेलाको परिस्थितिबारे केशव गुरुसँगै जनपक्षीय उम्मेदवारका रूपमा उपप्रधानपञ्चको चुनाव लडेका तीर्थ श्रेष्ठ भन्नुहुन्छ, ‘केही नेताले नचाहेपछि केशव गुरुलाई अगाडि सारियो । मलाई उपप्रधानपञ्चको रूपमा अगाडि ल्याउन मीनबहादुर गुरुङ, नारायणदत्त रानाभाट, करुणाविधि कोइरालाहरू घर आएर मेरो बुबासँग छोरा पार्टीलाई चाहियो भन्नुभयो । हामी स्वाभाविक ढंगले पार्टीको तर्फबाट उम्मेदवार बन्यौँ ।’

चुनावमा केशव गुरुले घडी र श्रेष्ठले खरायो चुनाव चिन्ह पाउनुभएको थियो । प्रेस सञ्चालन गर्ने उहाँले अर्का उम्मेदवार सूर्यबहादुर केसीको पम्लेट छाप्नका लागि पेस्की पनि लिनुभएको थियो ! आफैँ चुनाव लड्ने भएपछि चाहिँ नैतिकताले पेस्की फिर्ता गर्नुपरेको थियो ।

त्यो कुरा श्रेष्ठ पनि स्वीकार्नु हुन्छ । ‘पञ्चायतमा पस्नु अनि विरोध गरेर बसिरहनु भनेको आगोमा गएर खेल्ने भनेझैँ थियो । परिस्थितिले उहाँलाई चुनाव लड्न बाध्य बनाएको हो भन्ने मेरो ठम्याइ छ,’ श्रेष्ठ भन्नुहुन्छ । चुनावी प्रचारमा केशव गुरुका भाषणहरू दार्शनिक ढंगका हुन्थे । भान्जि भाइ ’वात्स्यायन’ का अनुसार केशव गुरु चुनावमा पनि निष्ठाकै कुरा गर्नुहुन्थ्यो ।

वात्स्यायन सम्झनुहुन्छ, ‘तीर्थ (श्रेष्ठ)को सम्पर्क धेरै हुने । सबैलाई हात लिन सक्ने, नेतृत्व क्षमता भएको अनि भाषण पनि जानेको । दाइचाहिँ सिद्धान्ततः कट्टरपन्थी ।’ वात्स्यायनले संकेत गरेजस्तै केशव गुरुले चुनाव हार्नुभयो । सूर्यबहादुर केसी प्रधानपञ्च विजयी बन्दा तीर्थचाहिँ उपप्रधानमा चुनिनुभयो ।

शब्द शिल्पी र सम्पादकीय
केशव गुरुले संस्कृत वाङ्मय अध्ययन गर्नुभयो । शिक्षित परिवारको सदस्यका रूपमा समाचार, लेख तथा सम्पादकीयमा उहाँको त्यो दक्षता भेटिन्छ । केशव गुरुले केही कथा लेख्नुभएको छ, निबन्धमा चाहिँ पोख्त देखिनुहुन्छ । मार्टिन चौतारीले प्रकाशन गरेको उहाँको सम्पादकीयको संगालो निबन्ध संग्रहजस्तै लाग्छ ।

वात्स्यायनका अनुसार केशव गुरु अंग्रेजीमा पनि उत्तिकै पोख्त हुनुहुन्थ्यो । ‘मैले दाइसँग नै अंग्रेजी पढेको,’ पक्तिकारसँग वात्स्यायनले सुनाउनुभयो । कवि तीर्थ तथा अग्रज पत्रकार तिलकमान गुभाजूका अनुसार तत्कालीन मल्टिपर्पोज (हालको राष्ट्रिय मावि) मा केशव गुरुले सचिवालय विज्ञान (सेक्रेटरियट साइन्स), अर्थशास्त्र र नेपाली पनि पढाउनुभएको थियो ।

‘म स्कुलमा भर्ना हुँदा उहाँ टिचर हुनुहुन्थ्यो । राष्ट्रिय माध्यमिक विद्यालयमा । पछि म पनि टिचर भएँ । पञ्चायत कालको कुरा हो,’ अग्रज पत्रकार गुभाजू भन्नुहुन्छ, ‘पञ्चायत विरोधी कांग्रेस पक्षका घनश्याम मस्रानी, केशव गुरुहरूले अट्टहाएको काम गर्ने भएँ । पत्रकारितासँगै गर्ने संयोग जुरेन । हिमसन्देश गृहमा चाहिँ जान्थें ।’

सत्ताधारीहरूले पहिले पनि कांग्रेसी शिक्षक भनेर केशव गुरुहरूलाई दुःख दिन्थे, जनमत संग्रहमा बहुदल प्रचार समितिको सचिव भएर सक्रिय भएपछि उहाँलाई थप ताडना दिन थालियो । २०४० सालमा उहाँले मावि शिक्षकबाट राजीनामा दिनुभयो ।

सम्पादकीयबारे उनको दृष्टिकोण पनि प्रस्ट छ । ’पोखराको पत्रकारिता’ शीर्षकको एउटा आलेखमा उहाँ लेख्नुहुन्छ, ‘पत्रकारिताको गुणवत्ता र उन्नति सम्पादन र व्यवस्थापनमा निर्भर गर्दछ । दुवै सँगसँगै जानु पर्दछ । गुणवत्ताका लागि पत्रिकामा दिइने सामग्री कति तथ्यपरक छन्, कति वस्तुनिष्ठ छन्, कति विश्वसनीय छन्, तिनको प्रस्तुति कसरी गरिएको छ, भाषा सरल र शुद्ध छ/छैन, पत्रिकामा सामग्रीको स्पेसिस, कुन कुरालाई कुन ठाउँ दिने–कसरी राख्ने जस्ता कुराले महत्व राख्छन् । यो पत्रिकाको श्रृंगार हो । श्रृंगारले सौन्दर्य सिर्जना गर्छ । सौन्दर्यले आकर्षण पैदा गर्छ ।’

केशव गुरु अक्सर भन्ने गर्नुहुन्थ्यो, ‘अविनाशी कोही छैन । अजर–अमर कोही रहँदैन । सत्कर्मले भने मान्छे काया छाडेपछि पनि बाँच्छ ।’ उहाँले एक छोरा र ४ छोरीलाई त्यही कुरा सुनाएकाले हुनुपर्छ, सबै आ–आफ्नो ठाउँमा अब्बल छन् । जेठी छोरी रमाले पितापथ समात्नुभएको छ । उहाँले पहिले कान्तिपुरमा काम गर्नुभयो अहिले बिबिसी नेपाली सेवा कार्यरत हुनुहुन्छ । माइली छोरी उमा गैरसरकारी क्षेत्रमा काम गरी हाल पारिवारिक व्यवसाय हेर्नुहुन्छ । साहिँली छोरी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन र कान्छी छोरी विद्यालयमा पढाउनुहुन्छ । छोरा लोकरञ्जन (रमेश) अध्ययन–अनुसन्धानमा तल्लीन हुनुहुन्छ ।

शाकाहारी केशव गुरुले मद्यपान पनि गर्नु भएन । उहाँ पैदल हिँड्न रुचाउनुहुन्थ्यो । शरीरले साथ दिएसम्म अखबार लिन नदीपुरबाट महेन्द्रपुल ओहोर–दोहोर गरिरहनुहुन्थ्यो । निरन्तर पढिरहने, लेखिरहने उहाँलाई वृद्ध्यौलीमा विस्मृति रोगले गाँजेको थियो । २०८३ असार १६ गते राति उहाँ हामीमाझ रहनुभएन । अब कलम क्रान्तिका नायक केशव गुरुका योगदान र स्मृतिमात्र हामीसँग छन् ।

प्रकाशक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, पोखरा, नेपाल। (साभार)

डनन्यूज ट्रेन्डिङ