News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी

निकटतम प्रतिस्पर्धी एकराज न्यौपाने १ मतान्तरले पराजित, अधिकारी पुन: सभापति

पोखरा, २३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा यदुनाथ अधिकारी विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा आफ्ना निकटतम प्रतिस्पर्धी एकराज न्यौपानेलाई मात्र १ मतान्तरले पराजित गर्दै अधिकारी पुनः जिल्ला सभापतिमा निर्वाचित भएका हुन्।

निर्वाचनमा कुल २३३ मत खसेको थियो, जसमध्ये अधिकारीले ११५ मत प्राप्त गरे भने न्यौपानेले ११४ मत ल्याए। ४ जना प्रतिनिधिले ‘नन भोट’ (कसैलाई पनि मत नदिएका) रोजेका थिए। यसअघि पनि कास्कीको सभापति रहेका अधिकारी पोखराका स्थापित व्यवसायी हुन्। माओवादी र एमाले हुँदै रास्वपामा प्रवेश गरेका अधिकारी कास्की क्षेत्र नं. ३ को उपनिर्वाचनमा पनि टिकटका प्रमुख दाबेदार थिए।

यसैगरी, पार्टीको सचिव पदमा भएको प्रतिस्पर्धामा विश्वराज पौडेल विजयी भएका छन्। पौडेलले १२२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी टेकराज सापकोटाले १०६ मतमा चित्त बुझाए। सचिवमा निर्वाचित पौडेल यसअघि रास्वपा कास्की क्षेत्र नं. ३ का संयोजक थिए भने उनी विवेकशील साझा पार्टीको पृष्ठभूमिबाट रास्वपामा आवद्ध भएका थिए।

अधिवेशनमा सभापति, सचिव र ४ जना सदस्य पदका लागि मात्र मतदान भएको थियो। अन्य पदाधिकारी र सदस्यहरू भने सर्वसम्मत चयन भएका छन्। रास्वपा प्रदेश महासचिव नविन त्रिपाठीका अनुसार, उपसभापतिमा चीनबहादुर गुरुङ र सहसचिवमा सुजन बस्ताकोटी निर्विरोध चयन भएका छन्। कोषाध्यक्ष पद भने पछि मनोनयन गरिने बताइएको छ।

त्यस्तै, सदस्यहरूमा श्रवणराज जमरकट्टेल, चित्रबहादुर क्षेत्री, राजकुमार भण्डारी र लक्ष्मी परियार (दलित महिला सदस्य) निर्विरोध निर्वाचित भएका छन्। १९ सदस्यीय जिल्ला समितिमा १२ जना निर्वाचित हुने र बाँकी सभापतिबाट मनोनित गर्ने व्यवस्था छ। साथै, कास्कीका ५ वटै स्थानीय तहका सभापतिहरू पदेन सदस्य रहने प्रावधान रहेको छ।

अधिवेशनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल ‘गनेस’ले गरेका थिए। उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस अधिवेशनले पार्टीको संगठनलाई अझ सशक्त र खदिलो बनाउने विश्वास व्यक्त गरे।

कुल २९५ जना प्रतिनिधि छनोट भए पनि अधिवेशनमा २३३ जनाले मात्र मतदानमा भाग लिएका थिए। रास्वपाले पालिका अधिवेशन, जिल्ला समिति र माथिल्लो समितिका प्रतिनिधिसहितको निर्वाचन कार्यविधि अपनाएर प्रतिनिधि छनोट गरेको जनाएको छ।

डनन्यूज ट्रेन्डिङ