News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं, २९ चैत । नयाँ सरकार बनेको १७ दिनपछि प्रधानमन्त्री वालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। यो कदमलाई पारदर्शिताको दिशामा महत्वपूर्ण मानिएको छ।

विगतका सरकारमा मन्त्रीहरूले सम्पत्ति विवरण सरकारलाई बुझाउने गरे पनि सार्वजनिक गर्न हिच्किचाउने गर्थे। तर राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रमै सार्वजनिक पदमा जानुअघि सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता गरेको थियो। यसैअनुसार सरकारले २०४७ सालपछि सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने निर्णय पनि गरेको छ। भ्रष्टाचार निवारण ऐनले मन्त्रीहरूलाई सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरे पनि सार्वजनिक गर्नुपर्ने कानुनी बाध्यता भने छैन।

आइतबार सार्वजनिक भएको विवरणअनुसार अधिकांश मन्त्रीहरूको आर्थिक अवस्था राम्रो देखिएको छ। उनीहरूले घरजग्गा, बैंक ब्यालेन्स, शेयर, सुनचाँदी, गाडी, पशुधन र अन्य सम्पत्तिको विवरण खुलाएका छन्। केही मन्त्रीले ऋणको पनि उल्लेख गरेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो मुख्य आयस्रोत सामाजिक सञ्जाललाई देखाएका छन्। उनको बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ छ। फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख र एक्समा ५ लाख फलोअर्स रहेको उनले उल्लेख गरेका छन्। व्यक्तिगत नाममा उनको घरजग्गा छैन, तर आमा र बुवाको नाममा पर्याप्त जग्गा छ। उनकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना (सुन, चाँदी, हिरा आदि) छ, जसको स्रोत पैत्रिक हो।

गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन छ। उनको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा छ, जुन लगानीबाट जोडिएको हो। परिवारका नाममा चितवन र गोरखामा थप जग्गा छ। उनले शेयर बजारमा ४ करोड ३१ लाखभन्दा बढी लगानी गरेको देखाएका छन्, जसमा विभिन्न कम्पनीका शेयरहरू समावेश छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चारवटा घर र अपार्टमेन्ट रहेको खुलाएका छन्। ललितपुरमा दुई, काभ्रे र तनहुँमा एक–एक। यीमध्ये केहीको मूल्य २ करोडदेखि ५ करोडसम्म छ। उनको बैंक ब्यालेन्स १ करोड ९० लाख छ र ४५ तोला सुन छ। विदेशमा जागिरबाट कमाएको रकम मुख्य स्रोत हो। उनले विभिन्न हाइड्रोपावर र बैंकमा शेयर लगानी पनि देखाएका छन्। साथै, ९४ लाखको गाडी र केही ऋण पनि उल्लेख गरेका छन्।

परराष्ट्रमन्त्री शिशिर खनालको घरजग्गा मुख्य रूपमा बुवाको नाममा छ। काठमाडौंमा ६ आना घर र विभिन्न ठाउँमा जग्गा छन्। उनको बैंक ब्यालेन्स १३ लाख र सुन २२ तोला छ। श्रीमती र आफ्नो नाममा विभिन्न कम्पनीमा शेयर छन्।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला सुन र ५० तोला चाँदी छ, जुन पैत्रिक र विवाहबाट प्राप्त भएको हो। उनको बैंक ब्यालेन्स ६४ लाखभन्दा बढी छ र शेयरमा १ करोड ४५ लाख लगानी छ। गाडी, स्कुटर र इभी गाडी पनि छन्।

कानुनमन्त्री सोविता गौतमको नाममा काठमाडौं र चितवनमा घर छन्। बैंक ब्यालेन्स १० लाखभन्दा बढी छ। गाडी खरिदका लागि दुई बैंकबाट ऋण लिएको उल्लेख छिन्। उनले १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हिरा रहेको बताएकी छन्।

शिक्षामन्त्री सस्मित पोखरेलले व्यक्तिगत र परिवारका नाममा ७ ठाउँमा करिब २० करोडभन्दा बढीको घरजग्गा देखाएका छन्। काठमाडौं, मोरङ र ललितपुरमा यी सम्पत्ति छन्। उनको कुल सम्पत्ति २४ करोड १६ लाखभन्दा बढी छ, जसबाट ७५ लाख ऋण कटाउँदा खुद २३ करोड ४१ लाख रहन्छ। २५ तोला सुन र १०० तोला चाँदी पनि छन्। परिवारले शेयर र बचत पत्रमा पनि लगानी गरेको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग १८ तोला सुन र १५ तोला चाँदी छ, जुन विवाहमा प्राप्त भएको हो। उनको नाममा सुर्खेतमा जग्गा छ। नगद ५० हजार, बैंकमा १५ लाख, २० वटा कुखुरा, एउटा कुकुर, स्कुटर, ल्याप्टप र मोबाइल पनि उल्लेख छिन्।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालसँग ९० लाख बैंक ब्यालेन्स, ३० तोला सुन र ५० तोला चाँदी छ। परिवारका नाममा विभिन्न जिल्लामा जग्गा र घर छन्।

संघीय मामिला मन्त्री प्रतिभा रावलको काठमाडौं र बारामा जग्गा छ, जसको स्रोत श्रीमान्को आय हो। उनसँग २५ तोला सुन, २४ लाख बढी बैंक बचत र ४४ लाखको गाडी छ। २० लाख ऋण पनि लिएकी छन्।

कृषिमन्त्री गीता चौधरीसँग ५ तोला सुन र १०० तोला चाँदी छ। बैंकमा १ लाख २६ हजार ब्यालेन्स छ। घडी, मोबाइल, ल्याप्टप र स्कुटर छन्। माइतीबाट प्राप्त बाख्रा र कुखुरा पनि उल्लेख गरेकी छन्।

समग्रमा, मन्त्रीहरूले सुनचाँदीदेखि सामाजिक सञ्जालका फलोअर्ससम्मलाई सम्पत्तिमा समेटेर विवरण सार्वजनिक गरेका छन्। यो सार्वजनिकताले भ्रष्टाचार नियन्त्रण र जवाफदेहितालाई मजबुत बनाउने अपेक्षा गरिएको छ।