News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ

स्वीकृति नै नपाएका तालिम केन्द्रहरूमा मात्र विद्यार्थीलाई पठाउने गरेको खुलासा

फ्रान्स वा अष्ट्रेलियाका विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरेर पढ्न मिल्ने भन्दै फसाउँदैं

काठमाडौं, १ माघ । युएईमा अध्ययन गर्ने सपना देखाउने नाममा नेपाली विद्यार्थीहरूसँग लाखौं रुपैयाँ ठगी गर्ने ५ वटा शैक्षिक परामर्श कम्पनी (कन्सल्टेन्सी) का सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेको छ।

यी कन्सल्टेन्सी सञ्चालकहरूले विद्यार्थीहरूलाई युएईका राम्रा कलेजमा भर्ना गराइदिने र पछि त्यहाँबाट फ्रान्स वा अष्ट्रेलियाका विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरेर पढ्न मिल्ने भन्दै लोभ देखाएका थिए। तर वास्तवमा उनीहरूले युएईको उच्च शिक्षा मन्त्रालय वा सम्बन्धित निकायबाट स्वीकृति नै नपाएका तालिम केन्द्रहरूमा मात्र विद्यार्थीलाई पठाउने गरेको खुलेको छ।

प्रत्येक विद्यार्थीबाट ८ लाखदेखि २२ लाख रुपैयाँसम्म असुलेर ठगी गरेको आरोप लागेको छ। अहिलेसम्म १३ जना पीडित विद्यार्थीहरूले उजुरी दिएपछि काठमाडौं जिल्ला अदालतको अनुमति लिएर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यसरी पक्राउ पर्नेहरुमा कृष्ण थापा (२९ वर्ष, बेस्ट पाथ एजुकेसन), रामचन्द्र टन्डन (मर्सी एजुकेसन कन्सल्टेन्सी), सुवाश सिलवाल क्षेत्री (३१ वर्ष, सिटीहब एजुकेसन), हेमराज भट्ट (४८ वर्ष, कान्तिपुर अब्रोड कन्सल्टेन्ट) र दामोदर ढकाल (४८ वर्ष, कान्तिपुर अब्रोड कन्सल्टेन्ट) रहेका छन् ।

यी सबै काठमाडौंका विभिन्न स्थानमा कन्सल्टेन्सी चलाउँदै आएका थिए । प्रहरीले उनीहरूमाथि ठगीको कसूरमा थप अनुसन्धान गरिरहेको बताएको छ।