ताप्लेजुङ, २७ फागुन । आज शुक्रबार बिहान फुङलिङ बजारमा भएको आगलागीमा परेर ६७ वर्षीया चुलिमाया लिम्बूको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–३ ढुङगेसाँघु घर भइ सदरमुकाममा छोरी ज्वाइँकोमा बस्दै आएकी उनको आगलागीमा परेर मृत्यु भएको हो ।
अस्पताल ल्याइ पुर्याउनु अघि नै लिम्बूको मृत्यु भइसकेको अस्पतालका डाक्टर सोनिम लामाले जानकारी दिईन् ।
आगो निभाउने क्रममा वडा नं–४ का वडा अध्यक्ष जितेन लिम्बू लगायतका केही व्यक्तिहरु पनि घाइते भएका छन् । आगलागी रविनको पक्की घरबाट सुरु भएको स्थानीयले बताएका छन् । आगलागीबाट जस्तापाताको छानो भएको छिमेकी संगीता केदेमको घर पूर्णरुपमा जलेको छ । आगलागीको कारण अहिलेसम्म पनि खुलेको छैन । आगलागी भएपछि दमकलसहित सेना, सशस्त्र प्रहरी, प्रहरी र स्थानीय मिलेर आगो निभाएका थिए ।