
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
‘झापा विद्रोह’का योद्धालाई नेताहरु सम्मान त गर्छन्, तर विद्रोहीहरुको जीवन निकै कष्टकर छ । उनीहरु सुकुम्बासी बस्ती र वृद्धाश्रममा बुढ्यौली जीवन बिताइरहेका छन् ।
अर्जुन राजवंशी, काठमाडौं, २१ फागुन । पूर्वपश्चिम राजमार्गस्थित धुलाबारी चोक पुग्नुअघि टिमाई खोला पुल तर्नुपर्छ । चोकदेखि करिब डेढ सय मिटर पश्चिमको टिमाई पुलकै तलपट्टि सानो दुर्गा अधिकारी (७१) बस्छन् ।
खोलाको पश्चिम किनारमा लस्करै घरहरू भएको सुकुम्बासी बस्ती छ । बस्तीको पहिलो घर हो अधिकारीको । ‘झापा विद्रोह’ का एक योद्धा अधिकारी २०४९ देखि त्यही सुकुम्बासी बस्तीको ३ धुर ऐलानी जमिनमा सानो घर बनाएर बसोबास गरिरहेका छन् । सामन्ती राज्यसत्ताविरुद्ध अधिकारी २०२५ सालतिरै क्रान्तिकारी कम्युनिस्ट बने । भूमिगत हुँदै सशस्त्र संघर्षमा होमिएका अधिकारीले १७ वर्ष कठोर जेल जीवन बिताए ।
१७ वर्षको किशोरवयमै घरपरिवार छाडेर अधिकारीहरूले भूमिगत संघर्ष गरेकै जोडबलमा मुलुकमा कम्युनिस्ट पार्टीको उदय भयो । मुलुकको अवस्था र व्यवस्था परिवर्तन भए । तर, बुढ्यौलीका लामा दिनहरू खोला किनारको सुकुम्बासी बस्तीमा बिताउनुपर्दा उनलाई दुःख लागेको छ । ‘देश–पार्टीका लागि त्यत्रो गर्दा पनि आफ्नो केही भएन’ उनले भने, ‘तर, त्यो संघर्ष गलत थिएन । सँगैका सहपाठीहरूको नजरअन्दाजमा परियो ।’
भूमिगत संघर्षमा सँगै हिँडेका सहपाठी सांसद, मन्त्री हुँदै प्रधानमन्त्री बने । तर, आफूहरूको कहिल्यै खोजीनिती नहुँदा उनको चित्त असाध्यै दुखेको छ । ‘एमालेबाहेक कतै गइनँ । जेलबाट छुटेपछि ३ वर्ष जिल्ला पार्टी कार्यालयमा काम गरेँ । त्यसपछि पनि निरन्तर पार्टी गतिविधिमै लागिरहेँ । तर, खोइ किन हो हामीलाई पार्टी र भूमिगत सहपाठी कसैले हेरेनन्,’ उनी भन्छन् ।
जेलमा चरम यातना सहेका अधिकारीको शरीर अहिले फतक्कै गलेको छ । एक वर्षयता लगातारजसो बिरामी भइरहन्छन् । हड्डी खिइएर ढाड दुख्ने व्यथाले बेस्सरी च्यापेको छ । नसाको समस्या छ । ‘धेरै बेर बसिरहन सक्दिनँ । धेरै बेरसम्म सुतिरहन पनि सक्दिनँ । हिँडडुल गर्न पनि गाह्रो हुन्छ’, उनी भन्छन्, ‘लठ्ठीको सहारामा कहिलेकाहीँ ओर्तिरपर्तिर डुल्छु ।’ पैसा अभावमा नियमित खानुपर्ने औषधिसेवन गर्न पाएका छैनन् । भन्छन्, ‘आम्दानी छैन । घरमा तेल–भुटन खानै गाह्रो छ । औषधिमुलो कहाँबाट गर्नु ?’
‘झापा विद्रोह’ का योद्धा भनेर मान्छेहरूले सम्मान गरे पनि अधिकारीको जीवन निकै कष्टकर छ । एक वर्षअघि उनको सानो कटेरो हेरिनसक्नु बिजोग थियो । माओवादी सांसद राम कार्कीको सांसद विकास कोषबाट ३ लाख रुपैयाँको सहयोगमा भत्किएर बस्नै नमिल्ने घरका पर्खाल बनाइएका छन् अघिल्लो वर्ष । टिनको छाना र बरन्डामा सानो किचनसहितको दुई कोठाको घरमा अधिकारी दैनिकी बिताउँछन् ।
अधिकारीकी एक छोरी छन् । कमाइ नभएकाले छोरीले मावल बसेर एसएलसीसम्म पढिन् । एउटा विदेशी संस्थाको सहयोगमा स्टाफ नर्स पढ्ने अवसर पाइन् । ‘नर्सिङ पढिसकेपछ साथीभाइको सहयोगबाट अमेरिका गएकी छ । पढ्न गएकी । उसले अलिअलि पठाउने पैसाले घर खर्च चलेको छ,’ अधिकारीले सुनाए ।
अर्जुनधारा नगरपालिका–११ बुट्टाबारी उत्तरको श्रमिकटोलमा बसोबास गर्छन् ७० वर्षीय दधिराम उप्रेती । उनी पनि ‘झापा विद्रोह’ का योद्धा हुन् । १५ वर्ष जेल बसेका उप्रेती पनि सानो दुर्गा अधिकारीजस्तै बेवास्तामा परेका पुराना कम्युनिस्ट हुन् ।
पुरानो टाँडे घरमा बसोबास गर्दै आएका उप्रेतीले कम्युनिस्ट नेताबाट थुप्रै आश्वासन पाए । तर, आजसम्म कसैले केही सहयोग नगरेको उनी बताउँछन् । ०२९ पुस १४ मा घर नजिकैको सालबारीबाट पक्राउ पर्दा उप्रेती कक्षा १० पढ्दै थिए । ‘हामीले विद्रोह गरेकै कारण एमाले पार्टी जन्मियो । देशले एउटा राजनीतिक दिशा पायो,’ उनी भन्छन्, ‘मुलुकको व्यवस्था परिवर्तनसँगै सबै नेता, जनताको जिन्दगी बराबर हुन्छ भन्ने सोचेका थियौं । तर, त्यस्तो भएन ।’
उनले अझै पार्टी छाडेका छैनन् । तर, जीवनको महत्त्वपूर्ण समय भूमिगत संघर्ष र जेल बसाइमा बितेकाले आफ्नो र परिवारका लागि केही गर्न नसकेको गुनासोको थुप्रो छ । सम्पत्तिका नाममा ९ कट्ठा जमिन छ । त्यसको उब्जनीले परिवारलाई खान पुग्दैन । अन्य आम्दानी छैन । उच्च रक्तचाप र युरिक एसिडको समस्या छ ।
०४४ असोजमा ९ हजार ३ सय ३० रुपैयाँ जरिवाना तिरेर छुटेका उप्रेती ०४६ को जनआन्दोलनमा पनि अग्रपंक्तिमा खटिए । बहुदलीय व्यवस्थाछि झापा विद्रोहमा संघर्ष गरेका सहपाठीहरू सांसद बने । बिस्तारै मन्त्री बन्न थाले । भूमिगतकालमा संगठनमा सँगै खटिएका केपी ओली दुईपटक प्रधानमन्त्री बने । तर, उप्रेतीहरूले कुनै अवसर पाएनन् । ‘७० वर्ष पुगिसकेँ । १६–१७ वर्षकै उमेरमा संगठनका लागि जेलनेल भोगियो । एकैसाथ काम गरेका साथी देशको ठूला–ठूला पदमा पुग्दासमेत हामीलाई सम्झिएनन् । अब, गुनासो गरेर के गर्नु ?’ उनले भने ।
‘झापा विद्रोह’ का अर्का योद्धा हुन्, वीरबहादुर श्रेष्ठ । हक्की स्वभावका श्रेष्ठ सशस्त्र संघर्षका बेला प्रहरीसँगको मुडभेडमा खुब अघि सर्थे । दमन सहनै नसक्ने श्रेष्ठ ‘झापा विद्रोह’ का क्रममा ५ वर्ष जेल परे ।
सालबारीमा अरूको अँधिया खेती गर्दै जीविका चलाउने श्रेष्ठ २०२४ र २५ देखि नै कम्युनिस्टहरूको भेला–बैठकबारे चासो राख्थे । शनिश्चरे गाउँ पञ्चायतअन्तर्गत सालबारीका टाठाबाठा नेता थिए, बुटुन चौधरी । उनकै अगुवाइमा सालबारीमा खेतीपाती हुन्थ्यो । एक दिन घरमा खाने केही नभएपछि श्रेष्ठले चौधरीसँग दुई मन धान मागेका थिए । तर, चौधरीले दिन्न भने । नदिएपछि श्रेष्ठले त्यतिबेलै चौधरीमाथि आक्रमण गरे । आक्रमणपछि सालबारीमा ‘गाउँ एक्सन’ भयो । गाउँका धेरै जना पक्राउ परे ।
०२८ देखि ‘झापा विद्रोह’ को सशस्त्र संघर्षमा भूमिगत भएका उनी धेरैपटक प्रहरीमाथि आक्रमण गरेर भाग्न सफल भएका थिए । तर, चौधरीमाथिको आक्रमणपछि ०२८ चैतमा गाउँकै सालबारी स्कुलबाट उनी पक्राउ परे । त्यतिबेला कम्युनिस्ट आन्दोलनमा लागेको थाहा पाएपछि प्रहरीले परिवारलाई समेत छाड्दैनथ्यो । श्रेष्ठ परिवारको सम्पर्कमा पनि नबसी भूमिगत भए । सीपी मैनाली, राधाकृष्ण मैनालीहरूको निर्देशनमा काम गरे । जेल परेपछि श्रीमती, छोराछोरी सबैको बिचल्ली भयो । को कहाँ गए श्रेष्ठलाई थाहा भएन । २०३३ सालमा राजा वीरेन्द्रको जन्मोत्सवका अवसरमा श्रेष्ठ जेलमुक्त भए । ९० वर्षीय श्रेष्ठ ३३ सालदेखि एक्लो जीवन बिताउँदै आइरहेका छन् । श्रेष्ठ अहिले वृद्धाश्रममा बस्छन् । केही दिनपछि ९१ वर्षमा टेक्ने श्रेष्ठ बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रले सञ्चालन गरिरहेको वृद्धाश्रममा बस्न थालेको ९ वर्ष पुग्यो ।
‘त्यसबेलाको व्यवस्था ठीक थिएन । कोही भोकै मर्थे । कसैको धेरै सम्पत्ति हुन्थ्यो । नेता–जनता सबै समान हुनुपर्छ भनेर आन्दोलनमा लागियो,’ उनले भने, ‘त्यत्रो आन्दोलन गर्यौं । कति साथीले ज्यान गुमाए । हामीले चरम यातना भोग्दै जेल जीवन बितायौं । तर, अवस्था त अहिले पनि झन्डैझन्डै उस्तै छ ।’ सँगै विद्रोहमा होमिएका साथीहरू मन्त्री, प्रधानमन्त्री भएकोमा खुसी छन् उनी । ‘झापा विद्रोह’ मा लागेबापत उनले चारपटक नेतासँग हात मिलाए र दोसल्ला ओढे । ‘आन्दोलनमा लागेर के पाएँ भन्नु ? नेताहरूले मलाई चार पटक स्टेज चढाए । हात मिलाए । दोसल्ला ओढाएर सम्मान गरे’, कान एकदमै कम सुन्ने श्रेष्ठले भने, ‘मेरो साथी केपी ओलीलाई भेटेर दुई–चार प्रश्न सोध्नु छ । अघिल्लोपल्ट मेची–महाकाली अभियानका बेला बिर्तामोडको कार्यक्रममा मलाई पनि मञ्चमा बसाएका थिए । त्यतिबेला दुईरचार कुरा गर्नु छ भन्दा उहाँले हल्ला छ केही सुनिँदैन, पछि कुरा गरौँ भन्नुभएको छ ।’ के वीरबहादुरलाई अब ओलीले भेटेर ‘दुईरचार’ कुरा गर्लान् ?
‘झापा विद्रोह’ का अर्का योद्धा मानकुमार तामाङ सुखानी हत्याकाण्ड भएको स्थानदेखि पूर्वको बस्तीमा बस्छन् । अढाई दशकअघि बनाएको काठको सानो टाँडे घर छ । घर जीर्ण छ । पानी पर्दा छाना चुहिन्छ । हिउँदमा चिसो सिरेटाले कोठाभित्र बस्न सकिँदैन । घरका बेरा भत्किएका छन् । एक रात बिताउन पनि कठिन हुने उक्त घरमा ६८ वर्षीया बिरामी पत्नी फूलमायासँग ७२ वर्षीय मानकुमार जीवनको बाँकी समय कटाउँदै छन् ।
झापा–इलामको सीमावर्ती बस्ती अर्जुनधारा नगरपालिका–१ खुदुनाबारीमा पाँच कट्ठा ऐलानी जमिनमा उब्जाएको बालीले दुई जनाको परिवार धान्नुपरेको छ । घरको बालीले वर्षभरि खान पुग्दैन । चोयाको डोको, नाङ्लो बनाउँछन् । कहिलेकाहीँ नजिकैको नेते खोलामा बालुवा चाल्छन् । त्यसबाट हुने अलिअलि आम्दानीले तेल–नुन र औषधिमुलो गर्छन् । कमाइले वर्षैभरि खान धौ–धौ पर्छ । जीर्ण घर भत्किसक्दासमेत उनले टालटुल गर्न सकेका छैनन् ।
एक धुर नम्बरी जमिन नभएका मानकुमारले ऐलानी जमिनमै कसैले घर बनाइदिन्छन् कि भनेर धेरैको आशा गरे । सहयोद्धा सांसद, मन्त्री हुँदै प्रधानमन्त्रीसम्म भए । ०७४ को चुनावताका एमालेले मेची–महाकाली अभियान चलाएको थियो । अभियानका क्रममा मानकुमारलाई एमाले कार्यकर्ताले घरबाटै उठाएर बिर्तामोड ल्याएका थिए । बिर्तामोडको कार्यक्रममा उनलाई केपी ओलीले आफूसँगै मञ्चमा बसाए । ओलीले बात पनि मारे । ‘तर, चुनाव जितेपछि कसैले खोजीनिती गरेनन् । एमालेकै जनप्रतिनिधिहरू भएको अर्जुनधारा नगरपालिकाले समेत मेरो बिन्ती सुनेन,’ उनले गुनासो गरे । कतैबाट सहयोग नपाएकै कारण जीर्ण घरमा बस्न बाध्य भएको उनी सुनाउँछन् ।
उनी अतिविपन्न परिवारका रूपमा चिनिन्छन् । ‘सँगै जेल बसेका केपी ओलीहरू प्रधानमन्त्री भए । सीपी मैनाली, राधाकृष्ण मैनालीहरू मन्त्री भए । नारद वाग्लेहरू राजदूत बने । साथीहरूले आफ्ना श्रीमतीलाई समेत सांसद र मन्त्री बनाए । धन–सम्पत्ति जोडे । तर, आफूले एउटा घरसम्म जोड्न सकिनँ,’ चाउरिएको अनुहार मलिन बनाउँदै मानकुमारले भने । ‘पक्राउ परेपछि जेलमा साह्रै दुःख पाइयो । कठोर यातना भोगियो,’ मानकुमार भन्छन्, ‘नेताहरूसँग भूमिगत भएर हिँड्दा जिन्दगीले यो उमेरसम्म दुःख पाउँछ भन्ने कहाँ सोचियो र ?’ जेल परेपछि उनको परिवारको बिचल्ली भयो ।
‘२०४६ पुसमा जेलबाट छुटेर आउँदा मेरी श्रीमती छोराछोरी लिएर जयपुरमा एक जना नेवारको घरको ग्वालीमा बसेकी थिइन् । अन्त कतै जाने ठाउँ थिएन । मैले पनि परिवारसँग त्यही ग्वालीमा एक वर्ष बिताएँ,’ उनले भने, ‘कैयौं पटक आधा रातमा भैंसीले हामीमाथि पिसाब गरिदिन्थ्यो ।’
स्तन क्यान्सर भएर जेठी श्रीमती शोभाको ०४९ मा निधन भयो । श्रीमतीको निधनपछि एक छोरा, दुई छोरीलाई हुर्काउन निकै गाह्रो भएको उनले बताए । ०५१ मा मानकुमारले कान्छी श्रीमतीका रूपमा फूलमायालाई भित्र्याए । उनीपट्टि एक छोरा र एक छोरी भए । छोरीको दुई वर्षअघि निधन भयो । दशकअघि छोरा पैसा कमाउन भारतको कोइलाखानी गएको अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।
मानकुमारको दुःख देखेका अर्जुनधाराका पत्रकारहरूले उनका लागि एउटा घर बनाइदिँदै छन् । टिनको छाना भएको एक तलाको पक्की घरको निर्माण कार्य ८० प्रतिशत सकिएको छ । -कान्तिपुर दैनिक
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई